सहकारी दिवसको ६९ औँ संस्करण विविवध कार्यक्रम गरेर म्याग्दीमा मनाइएको छ । २०१३ साल चैत २० गते नेपालमा पहिलो पटक सहकारी स्थापना भएको उपलक्षमा मनाउँदै आएको राष्ट्रिय सहकारी दिवसको अवसरमा म्याग्दी जिल्लामा विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी उत्साहपूर्वक मनाइएको हो । सदरमुकाम बेनीमा जिल्ला सहकारी संघ म्याग्दी र को–अपरेटिभ म्यानेजर्स क्लबको संयुक्त आयोजनामा बेनी अस्पताल सरसफाइ तथा बिरामीलाई फलफूल बितरण गरिएको छ ।
नेपालको सन्दर्भमा सहकारी आन्दोलनको इतिहास वि.सं. २०१३ सालबाट सुरु भएको मानिन्छ । चितवनको बखानपुरमा स्थापना गरिएको ‘बखान सहकारी संस्था’ देशकै पहिलो सहकारीको रूपमा परिचित छ । त्यसपछि सहकारी ऐन, २०१६ लागू भएसँगै सहकारी संस्थाहरूको विस्तार तीव्र गतिमा अघि बढेको हो । समुदायमा आधारित बचत तथा ऋण, कृषि, दुग्ध, उपभोक्ता लगायत विभिन्न क्षेत्रका सहकारीहरूले ग्रामीण अर्थतन्त्र मजबुत बनाउन र स्थानीय स्तरमा आत्मनिर्भरता विकास गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । यही ऐतिहासिक पृष्ठभूमिलाई सम्झँदै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइँदै आएको छ ।
बेनीमा आयोजित सहकारी दिवसको कार्यक्रम अन्तरगत बेनी अस्पतालमा उपचाररत १८ जना बिरामीलाई फलफूल वितरण गरिएको थियो । सहकारीमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले गरिएको यस कार्यक्रमले बिरामीहरूमा सकारात्मक सन्देश प्रवाह गरेको जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले बताउनुभयो । उहाँका अनुसार सामाजिक उत्तरदायित्व सहकारीका सात सिद्धान्त मध्येको एक भएको कारणले पनि अस्पताल परिसरमा सरसफाइ गरी वातावरण स्वच्छ राख्ने सन्देश प्रवाहको प्रयास गरिएको थियो ।
कार्यक्रमका अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष नेत्रराज सुवेदीले सहकारी संस्था केवल आर्थिक कारोबारमा सीमित नभई सामाजिक सेवामा पनि सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीले समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने बताउनुभएको थियो ।
जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष कार्कीले सहकारी आन्दोलनले स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको थियो । उहाँले सहकारीमार्फत उत्पादन, रोजगारी र आत्मनिर्भरता प्रवद्र्धन गर्न सकिने भन्दै सहकारीको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
यसैबीच, पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा पनि सहकारी दिवसमा विभिन्न कार्यक्रमसहित मनाइएको छ । मालिका सहकारी सञ्जालको आयोजनामा दरवाङ बजार बसपार्कदेखि छ्यारछ्यारेसम्म सरसफाइ तथा फोहर संकलन तथा व्यवस्थापन गरिएको थियो ।
दरवाङमा आयोजित कार्यक्रममा स्थानीय सहकारी संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सन्तोष सुबेदीले बताउनुभयो । उहाँका अनुसार सहकारी दिवसलाई केवल औपचारिकतामा सीमित नराखी समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरिएको हो । उहाँले सहकारी संस्थाहरूले स्थानीय स्तरमा स्वच्छता, वातावरण संरक्षण र सामाजिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।
मालिका गाउँपालिकाभित्र रहेका विभिन्न सहकारी संस्थाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको सुवेदीको भनाई छ । सरसफाइ अभियानमार्फत बजार क्षेत्र सफा राख्नुका साथै जनतामा वातावरणीय सचेतना फैलाउने प्रयास गरिएको थियो ।
राष्ट्रिय सहकारी दिवस म्याग्दीमा इतिहासको गौरव, सामाजिक उत्तरदायित्व र सामूहिक सहकार्यको सन्देशसहित मनाइएको जिल्ला सहकारी संघका अध्यक्ष कार्कीले बताउनुभयो । सहकारी संस्थाहरूले आर्थिक विकाससँगै सामाजिक रूपान्तरणमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने सन्देश यस वर्षको कार्यक्रमले दिएको उहाँको भनाई थियो ।
