बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको घटना अदालत प्रवेश गरेको छ । यसअघि चैत ११ गते सुर्खेत प्रहरीले घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयले आइतबार सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दायर गरेको छ । उक्त अभियोग पत्रले अनुसन्धानलाई नयाँ मोडतर्फ लिएको छ ।
सरकारी वकिल कार्यालयले तयार पारेको अभियोजन हेर्न यहाँ क्लिक गर्नुहोस
इनिशाका प्रेमी भन्ने १६ वर्षीय किशोरले जबरजस्ती करणी गर्दा संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको निष्कर्षमा प्रहरी पुगेको थियो । प्रहरीले उनी विरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा कसुरमा जन्मकैदको मागसहित आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो ।
मुख्य अभियुक्त भनिएका किशोरले बयानका क्रममा इनिशा बेहोस भएपछि अस्पताल लैजान अन्य तीन जनालाई सहयोगका लागि बोलाएको बताएका थिए । यद्यपि प्रहरीले उनीहरूविरुद्ध जबरजस्ती करणी नगरेको तर, ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने गरी प्रतिवेदन तयार गरेको थियो ।
तर सरकारी वकिल कार्यालयले उनीहरूलाई समेत जोडेर ‘सामुहिक जबरजस्ती करणी गरी ज्यान मारेको (कर्तव्य ज्यान’ दाबी गरेको छ ।
‘पूर्वयोजना अनुसार नै सामूहिक बलात्कार’
सरकारी वकिलको कार्यालयले यो घटना पूर्वयोजना अनुसार, नै भएको बताएको छ । प्रहरीले आफन्त, पक्राउ परेका चारै जना अभियुक्त, इनिशा अध्ययनरत उषा बालबाटिका स्कुलका शिक्षकदेखि सामुदायिक वनका पालेसम्मलाई सोधपुध गरेको थियो ।
सरकारी वकिलको कार्यालयले जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान कार्य सम्पन्न भई अनुसन्धान प्रतिवेदन, संलग्न जाहेरी दरखास्त, घटनास्थल/लासजाँच मुचुल्का, कानूनको विवादमा परेका बालकहरूको सोधपुछ कागज, अनुसन्धानको क्रममा बुझिएका मानिसहरूको घटना विवरण कागज, इनिशाको शव परीक्षण प्रतिवेदन, सिसिटिभि फुटेज, केन्द्रीय अनुसन्धान ब्यूरोको प्रतिवेदन समेतका आधार प्रमाणहरूबाट उनीहरूले यूर्वयोजना अनुसार, नै सामुहिक बलात्कारगरी हत्या भएको निष्कर्ष निकालेको छ ।
भौतिक प्रमाणहरू, कण्डम, रगत, पोस्टमार्टम रिपोर्टको गम्भीर चोट र डिजिटल प्रमाण (मोबाइल लोकेसन र मेसेज) लाई एकसाथ जोडेर सरकारी वकिलले यो घटनालाई सामूहिक बलात्कार र हत्याको रूपमा अदालतमा पेस गरेको छ ।
अभियोग पत्रमा भनिएको छ, ‘उनीहरूले आपसमा योजना बनाएर मुख्य अभियुक्त अर्थात् इनिशाका प्रेमी भनिएका १६ वर्षे नाबालकलाई प्रयोग गरेर इनिशालाई प्रेमको जालमा पार्न लगाएका थिए ।’ घटनाको दिन फागुन २३ गते पनि उनीहरूले योजनाबद्ध रूपमा पीडितलाई जनजागरण सामुदायिक वनमा पुर्याएको पनि अभियोग पत्रमा उल्लेख छ ।
अभियोग पत्रमा थप भनिएको छ, ‘घटना दिन विहान जनजागरण सामुदायिक वनको जंगलमा लिई त्यहाँ पुगेपछि प्रेमी भनिएका नाबालकले आफ्ना साथीहरू (अन्य ३ नाबालक)लाई फोन गरी बोलाई सबै जना बालकहरू मिलि मृतकलाई सामुहिक रुपमा जबरजस्ती करणी भएको छ ।’ उक्त जबरजस्ती करणीका कारण इनिशाको योनीबाट अत्यधिक रक्तश्राव भएको पत्रमा उल्लेख छ ।
‘सोही कारणले इनिशाको मृत्यु भएको देखिँदा जबरजस्ती करणी गरी ज्यान मारेको (कर्तव्य ज्यान) मुद्दाको वारदात स्थापित हुन आयो,’पत्रमा भनिएको छ ।
नाबालकहरू र इनिशा सबै वीरेन्द्रनगरको उषा बालबाटीका स्कुलमा पढ्थे ।
इनिशाकी आमाले बयानमा ती नाबालकहरू आफ्नो छोरीको साथी भएकाले कहिलेकाहीँ आफ्नो घर आउने गरेको समेत बताएकी थिइन् । घटनाको दिन बिहान ७ बजेतिर पनि इनिशा घरमै भएको अवस्थामा घर आएको उनले भनेकी छिन् ।
‘उनीहरू मेरो घरमा आई मेरो नाबालक छोरीलाई आज स्कुलमा प्रयोगात्मक परीक्षा छ, हामी तिमीलाई (इनिशा) लिन आएका छौँ भनेर साथमा लिएका थिए,’ इनिशाकी आमाले भनेकी छिन्, ‘मैले साथीहरूसँग छारी स्कुलमा गएकी होलिन भनेर सोचेकोमा ९ः३० बजेको समयमा जनजागरण सामुदायिक वनका चौकीदारले छोरीको मृत शव देखेका रहेछन् ।’
त्यसपछि उनै चौकीदारले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी त्यहाँ पुगेको थियो गाउँलेहरू पनि त्यहाँ पुगे । सबैले शव हेर्दा आफ्नो छोरीको भएको थाहा पाएपछि आफुलाई जानकारी गराइएको इनिशाकी आमाले बताएकी छन् ।
आफु घटनास्थलमा गएर हेर्दा इनिशाको मृत शवलाई माथिबाट कालो जेन्स जकेटले ढाकिएको, लगाएका कपडा जीउबाट खोलिएको, लगाएको जुत्ता तथा मोजा इनिशाकै मृत शव रहेको स्थान नजिक छरिएको, छात्ति, ढाड, हात खुट्टा लगायतका शरीरका अंगमा निलडाम रहेको र जीउभरी रगत लागेको आफुले देखेको उनले बताएको कुरालाई सरकारी वकिलको कार्यालयले बलियो बयानका रुपमा व्याख्या गरेको छ ।
इनिशाकी आमाले यही घटनाक्रमलाई जोडेर आफ्नी छोरीमाथि सामुहिक बलात्कार भएर ज्यान लिएको भन्दै बालकहरूलाई कारबाही गरीपाउँ भन्दै जाहेरी दिएकी थिइन् । अभियोग पत्र अनुसार, इनिशा मृत फेला परेको स्थानदेखि केही उत्तरतर्फ करणी गर्न प्रयोग भएको जस्तो देखिने रगत जस्तो रातो पदार्थ लतपतिएको १ थान कण्डम थियो । यस्तै, सोही स्थानको केही उत्तरतर्फ जमिन मडारिएको करणी सम्बन्धि संघर्ष भएको जस्तो देखिने रगत जस्तो रातो पदार्थ थियो भने, आईएससो लेखेको तीन वटा कण्डम थियो भने १ पत्ता खोलेको अवस्थाको थियो ।
घटनास्थलमा बढी कण्डमका खोलहरू र प्रयोग गरिएका सामग्रीहरू फेला पर्नुले त्यहाँ एकभन्दा बढी व्यक्तिको संलग्नता रहेको निष्कर्षमा सरकारी वकिल छ । यस्तै, नाइक एसबी लेखेको लेडिज जुत्ता र सेतो मोजा फेला परेको थियो भने घटनास्थलको दक्षिण पूर्वतर्फ इनिशाको मोबाइल भेटिएको थियो ।
यस्तै, ती १६ वर्षे नाबालकको पछाडी बोक्ने झोला भित्र केक, लेडिजको ब्रा, १ दर्जन रातो चुरा, जेन्स टिसर्ट, डीआरजी लेखेको अगाडी भागमा रगत जस्तो पदार्थ लागेको जेन्स ट्राउजर पनि त्यहाँ फेला परेका थिए ।इनिशाको सम्पूर्ण कपडा खोलि हेर्दा योनीबाट करणी गरेको जस्तो देखिने (रगत जस्तो रातो पदार्थ निस्केको) पेन्टी समेत रगतले भिजेको प्रहरीले घटनास्थलको मुचुल्का बनाएको थियो ।
सरकारी वकिलले सीआईबीबाट प्राप्त डिजिटल फरेन्सिक रिपोर्टलाई मुख्य आधार बनाएको छ ।
सीडिआर रिपोर्ट अनुसार, घटनाको समय र त्यो भन्दाअघि चारै जना अभियुक्तहरूबिच निरन्तर फोन सम्पर्क भएको उल्लेख छ ।
घटनाको दिन बिहान ४–१० बजेसम्मको टाइमलाइन
सीआईबीको प्रतिवेदन अनुसार, घटनाको दिन बिहान बिहान ४ः३२ बजे नै प्रेमी भनिएका नाबालकले इनिशालाई लाई ह्वाट्सएपमा ‘गुड मर्निङ मेरी मायालु’ भनी मेसेज पठाएको देखिन्छ । त्यसपछि ती नाबालक बिहान ५ः३७ः३० बजे एक्लै झोला बोकेर मंगलतगढी चोकतिर पैदल हिँडिरहेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको सीसीटीभी फुटेजमा देखिएको छ ।
बिहान ६ः०१ बजे ती नाबालकले इनिशालाई ह्वाट्सएपमा ‘ओकी आईएम वईटिङ’ भनेर मेसेज पठाएका छन् ।
–६ः१८ देखि ४० मिनेटमा नाबालक र इनिशा दुबैजना स्वास्थ्य आपूर्ति व्यवस्थापन विभागको गेट नजिकै सँगै हिँडिरहेको सिसिटिभीबाट देखिएको छ ।
–६ः२६ बजेतिर दुवैजना वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनतर्फ जाँदै गरेको कर्णाली प्रदेश आयुर्वेद अस्पतालको सिसिटिभी फुटेजमा देखिएको ।
–८ः२१ः४४ बजे ती नाबालक किशोरलेले प्रयोग गर्ने मोबाइलबाट अर्का नाबालकको मोबाइलमा ७६ सेकेण्ड कुराकानी भएको, त्यस समय प्रेमी नाबालकको लोकेसन घटनास्थल नजिक र ती अर्का नाबालक ‘वीरेन्द्रनगर ध’ को लोकेसन आफ्नै घर नजिक देखिएको, ८ः३४ः२६ बजे ‘वीरेन्द्रनगर ध’ ले फोनमा कुरा गर्दै कतै जान लागेको र घरका मान्छेले ‘कहाँ जान लागेको, किन जान लागेको’ भन्ने सुनिएको ।
–९ः०३ बजे ‘वीरेन्द्रनगर ध’ आफ्नो घरबाट स्कुटर लिएर निस्किएको देखिएको, ९ः०७ बजे उनी एक्लै घटनास्थलतर्फ जाँदै गरेको आयुर्वेद अस्पतालको सिसिटिभीमा देखिएको ।
–९ः१३ बजे प्रेमी नाबालक र ‘वीरेन्द्रनगर ध’बीच मोबाइलमा पुनः सम्पर्क भएको र दुवैको टावर लोकेसन घटनास्थल क्षेत्रमा नै देखिएको ।
–९ः०२ बजे प्रेमी नाबालकले अर्का नाबालक ‘वीरेन्द्रनगर न’ को मोबाइलमा ७९ सेकेण्ड कुराकानी भएको, ९ः०७ः०० बजे अर्का नाबालक ‘वीरेन्द्रनगर फ’ र ‘वीरेन्द्रनगर न’ सँगै घरबाट निस्किएको, ९ः०७ः४५ बजे उनीहरू दुवैजना उत्तरतर्फ दौडिरहेको सिसिटिभी फुटेजमा देखिएको ।
–९ः११ः०० बजे ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर ध’ सँगै घटनास्थलतर्फ जाँदै गरेको आयुर्वेद अस्पतालको सिसिटिभी फुटेजमा देखिएको ।
सिसिटिभी फुटेज, मोबाइल फोनको कल डिटेल र लोकेसनका आधारमा उनीहरूबिच तालमेल मिलाएको आशङ्का सरकारी वकिल कार्यालयले गरेको छ । अर्को शव परीक्षण रिपोर्ट अनुसार, यती गम्भीर प्रकृतिको घटना एकजना व्यक्तिबाट मात्र नभई सामूहिक भएको सरकारी वकिलको तर्क छ ।
इनिशाका शरीरका अन्य भाग (ढाड, खुट्टा, घुँडा) मा पनि संघर्ष गर्दा लागेका चोटहरू फेला परेका छन् ।
यस्तै, अभियुक्त नाबालकहरूले सुरुमा इनिशा बेहोस भएको भनेर बयान दिए पनि उनीहरूले समयमै अस्पताल नलग्नु र घटनास्थलबाट भाग्ने प्रयास गर्नुले उनीहरूको नियत प्रस्ट पारेको अभियोग पत्रमा उल्लेख छ ।
सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (१), (२), (३) र (७) बमोजिम सामूहिक जवर्जस्ती करणी र दफा १७७ (१) बमोजिम ज्यान मार्ने कसूरमा सजाय माग गरेको छ ।
अभियोग पत्रमा नाबालकहरूले आपसमा योजना बनाएर, सामूहिक रुपमा जबरजस्ती करणी गरी ज्यान मारेको हुँदा आजन्म कैद सजाय माग गरिएको छ । रातोपाटी डटकमका लागि पंखबहादुर शाहीले तयार गरेको सामग्री साभार गरिएको