। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले लज्जास्पद हारका बाबजुद अध्यक्ष केपी शर्मा ओलीले नैतिकताका आधारमा पदत्याग गर्ने मनस्थितिमा देखिएका छैनन्। एमालेका अधिकांश पदाधिकारी भने उनको बहिर्गमनको पक्षमा उभिने सम्भावना बढेको छ।
सोमबार ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा (बादल), विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, हिक्मत कार्की, प्रदीप ज्ञवाली सहितका नेताबीच अलगअलग छलफलका क्रममा अध्यक्ष ओलीको मनस्थिति प्रकट भएको हो।
भट्टराईले महासचिव पोखरेलसँग अलग्गै दुई घण्टा कुराकानी गरे। पोखरेल पार्टीको नीति र नेतृत्वबारे गहन छलफल गर्नुपर्ने पक्षमा छन्। तर अध्यक्ष ओली नै त्यसका लागि तयार नहुँदा समस्या भएको एमाले स्रोतले बतायो।
भट्टराईबाहेक सबै नेता ११ औं महाधिवेशनमा ओली प्यानलबाट निर्वाचित भएका हुन्। अहिले उनीहरू पनि विकसित परिस्थितिमा पार्टी, त्यसको नीति, नेतृत्व र कार्यशैलीबारे छलफल चाहन्छन्। यद्यपि अध्यक्ष ओली ‘अहिले हतार नगरौं’ भन्दै त्यसबाट पन्छिरहेका छन्।
बिहीबार पार्टी कार्यालयको भेटघाटमा सहभागी नेतामध्ये कसैले पनि औपचारिक रुपमा छलफलका कुरा भन्न चाहेनन्। ओली समूहकै एक नेताले भने, ‘ढिलो चाडो केही न केही हुन्छ।’
महासचिव शंकर पोखरेलले महाधिवेशनपछि थाती रहेका कार्यविभाजन सहित केही जरुरी छलफल गर्नुपर्ने कारण पहिला सचिवालय र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे कुरा गर्न ओलीसँग भेटे। तर, ठोस जवाफ पाएनन्।
पार्टी स्रोतका अनुसार राजीनामा वा वहिर्गमन बाहेका विकल्पमा मात्रै छलफल गर्न ओली तयार छन्। ३ महिनाअघिको महाधिवेशनका म्याण्डेड अहिल्यै तलमाथि नहुने उनको अडान छ। नेपाल प्रेसबाट साभार
