विद्यार्थीहरुलाई दक्ष बनाउने प्रयास स्वरुपत प्राज्ञिक विद्यार्थी परिषद्ले विद्यार्थीहरुलाई प्रस्तावना लेखन सिप तालिम गरेको छ । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा मंगलबार उक्त तालिम सञ्चालन गरिएको थियो । प्राज्ञिक विद्यार्थी परिषद् बेनी नगर इकाइ समितिको आयोजनामा आयोजित प्रस्तावना (प्रपोजल) लेखन तालिममा सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले सहजीकरण गरेका थिए ।
सहायक प्रजिअ आचार्यले कुनै पनि कार्य गर्नका लागि तत्काल अभ्यास गरेरे गरेको खण्डमा सिकाइ उपलब्धी राम्रो हुने धारणा राखेका थिए । उनले सोही अनुरुप सहजीकरण गर्दै म्याग्दी क्याम्पसमा कम्प्युटर ल्याब सञ्चालन र सामाजिक सञ्जालको प्रयोग तथा नियमन विषयको दुई वटा प्रस्तावना लेखनको अभ्यास सहित विद्यार्थीलाई बुझाउने प्रयास गरेका थिए । सहायक प्रजिअ आचार्यले सहजिकरण गर्दै सहि सिपका लागि आफूले अभ्यास गर्नुपर्ने र त्यसलाई प्रयोगमा ल्याउनु पर्नेमा जोड दिएका थिए । सहजिकरणको क्रममा उनले म्याग्दी क्याम्पसमा कम्प्युटर ल्याब सञ्चालन गर्नु किन आवश्यक छ र यसलाई कुन उद्देश्य प्राप्तीका लागि गरिने भन्ने सन्दर्भ सहितको प्रस्तावना लेखेर विद्यार्थीलाई अभ्यास गराएका थिए । साथै पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई नियमन र सञ्चालनका बारेमा पनि सचेत गराउँदै चनाखो हुनु पर्ने सन्दर्भहरुका बारेमा पनि घचघच्याएका थिए ।
प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले आफूले भोगेका र गरेका अनुभव सुनाउँदै विद्यार्थीले आयोजना गरेको कार्यक्रमको प्रसंसा गरेका थिए । उनले आफूले राष्ट्र सेवाको क्षेत्र रोज्नुको कारण र उद्देश्यबारे प्रष्ट्याउँदै विद्यार्थीहरुमा पनि सकारात्मक सोच र लक्ष हुनुपर्नेमा जोड दिए । विद्यार्थी मुलुकको कर्णधार भएको हुनाले उनीहरुले मुलुकको भविष्य निर्धारण गर्ने उनले बताए । विद्यार्थीको सोचले मुलुकको मार्ग निर्धारण गर्ने हुनाले उनीहरुमा सकारात्मक सोच र चेतना बृद्धि गराउनु पर्नेमा उनको जोड थियो । उनले विद्यार्थीहरुले आफ्नै जन्मभूमिमै रहेर कर्म गर्नु पर्नेमा ध्यानाकर्षण गराएका थिए ।
प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षतामा भएको प्रस्तावना लेखन तालिममा प्रकाश माध्यमिक विद्यालय, बेनी सामुदायिक माध्यमिक विद्यालय, न्यू वेष्ट पोइन्ट आवासिय माध्यमिक विद्यालय र म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरूको सहभागी रहेको थियो । कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका सहप्राध्यापक रेखा रेग्मी, भोलानाथ शर्मा, सहायक प्राध्यापक विष्णुकुमारी रोका लगायतको सहभागिता रहेको थियो । प्राज्ञिक विद्यार्थी मञ्चकी सचिव रेश्मा बिकको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्की सञ्चार प्रविधि संयोजक दिपा बुढाथोकीले गरेकी थिइन ।
जिल्ला प्रशासन कार्यालय म्याग्दी र म्याग्दी बहुमुखी क्याम्पसको समन्वयमा भएको उक्त कार्यक्रमको आयोजना प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बेनी नगर इकाइ समितिले गरेको थियो ।
प्राज्ञिक विद्यार्थी परिषद नेपाल नेपालको एउटा स्वतन्त्र विद्यार्थी सङ्गठन हो । यो सङ्गठनको स्थापना २०५२ मंसिर २४ गते भएको अध्यक्ष आचार्यले बताए । उनले भने यो संस्था बिधिवत रूपमा २०५४ बैशाख १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई समाज कल्याण परिषद्मा पनि दर्ता भएको छ । प्राज्ञिक विद्यार्थी परिषद्को मुख्य उद्देश्य शैक्षिक क्षेत्रलाई राजनीतितन्त्र मुक्त क्षेत्र वनाई शिक्षाको गुणस्तर वृद्धि गर्नु रहेको उनको भनाई थियो । परिषद्ले देशैभरका क्याम्पसमा ईकाइ गठन गरी विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्दै आइरहेको अध्यक्ष आचार्यको भनाई थियो । उनले भने परिषद्ले बैशाख १८ बिद्यार्थी दिवस, मंसिर २४ गते स्थापना दिवस, पौष २७ गते एकता दिवस÷पृथ्वी जयन्ती र सरस्वती पूजालाई विषेश पर्वको रुपमा मनाउने गर्दछ ।
हालको अवस्थामा परिषद्ले आफ्नो शाखा देशका सबै जिल्लामा पुगाएको बताउँदै बिद्यार्थी सङ्गठनका आन्तरिक किचलोहरूबाट बाहिरिदै शैक्षिक र समाजिक गतिविधिमा अगाडि बढ्ने प्रेरणा प्राज्ञिक बिद्यार्थी परिषद्ले दिने तर्क गरेका थिए । परिषद्ले महिला हिंसा, अन्याय र अत्याचार विरुद्ध महिला शशक्त हुनुपर्छ भन्ने उद्देश्यले गरेको लोकप्रिय कार्यक्रम मिसन साहसी लिन सकिने बताएका अध्यक्ष आचार्यले बताएका थिए । सरसफाइ, ब्यक्तित्व विकास कार्यक्रम, कम्प्युटर प्रशिक्षण, सडक नाटक, रक्तदान, शैक्षिक गोष्ठी, जनचेतनामुलक मुलक ¥याली अनि स्वयंसेवकको भुमिका निर्बाह गर्नु परिषद्कका नियमित कार्यक्रम रहेको आचार्यको भनाई थियो ।
