प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला म्याग्दीबाट उम्मेदवार बन्नु भएका हरिकृष्ण श्रेष्ठ शालिन तथा इमान्दार नेताका रुपमा आफ्नो छबि बनाउनु भएका नेताका रुपमा आम जनमानसले हेर्ने गर्दछन् । तीन दशक भन्दा धेरै समय देखि सामाजिक क्षेत्रमा मात्रै सक्रिय रहँदै आउनु भएका श्रेष्ठले विद्यार्थी काल देखिनै राजनीतिक आस्था बोकेर सक्रिय रहनु भएको थियो ।
बाबु अमरलाल र आमा मतीकुमारीका जेठा छोराको रुपमा बि.स २०२२ साल भदौ २ गते हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा जन्मिनु भएका हरिकृष्ण श्रेष्ठलाई नै नेकपा एमालेले उम्मेदवार बनाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका श्रेष्ठले लामो समय सम्म सामाजिक संघ संस्थाको पनि नेतृत्व गर्नुभएको छ । राजनीतिक र सामाजिक क्षेत्रमा गरेको अनुभवले नेता श्रेष्ठमा इमानदारिता, नैतिकता, शालीनता क्षमतावान र जनताको मर्म बुझने मानवीय गुणहरू निर्माण गरेको नेपाल रेडक्रस सोसाइटीका सभापति अमर बानियाँ बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ रेडक्रसमा पनि लामो समय उहाँले नेतृत्व लिएर गरेको कामले पनि सामाजिक क्षेत्रमा कति दक्षता राख्नु हुन्छ भन्ने प्रष्ट हुन्छ । सामाजिक सेवामा श्रेष्ठको सक्रियता र सबैलाई समेटेर मिलाएर काम गर्ने शैलीको आफू प्रसंशक रहेको बानियाँको भनाई छ ।
सरकारी जागीर शुरु गरी सक्नु भएका श्रेष्ठले म्याग्दीवासीको सेवा गर्न स्थायी सरकारी जागिर छाडेर राजनीतिमा होमिनु भएको थियो । उहँले आफ्नो ब्यवसायसँगै विभिन्न अभियानमार्फत म्याग्देलीसँग जोडिएर काम गर्ने गर्नुभएको छ । म्याग्दी जिल्लाको विकास तथा समृद्धिका लागि उम्मेदवारी दिएको दावी गर्ने श्रेष्ठ अहिले चुनावी अभियानमा होमिएर घरदैलोमा पुगी अपाm्नो धारणा राख्दै आउनु भएको छ ।
हरिकृष्ण श्रेष्ठ निजामती सेवामा प्रवेश गरेर जागिरे जीवन अगाडी बढाउनु भएको थियो । सक्रिय जागिरे जीवनबाट बाहिरीदा उहाँ लेखा समुहबाट राजिनामा दिनु भएको थियो । निकै मजबुत अनि महत्वपूर्ण मानिने लेखा समूहका जागिरे श्रेष्ठलाई जागिर भन्दा पनि सामाजिक सेवा गर्ने हुटहुटीले त्यो पेशाबाट बाहिरीन प्रेरीत गरेको सुनाउनु हुन्छ ।
म्याग्दीबाट प्रतिनिधि सभाका लागि एमालेका उम्मेदवार बन्नु भएका हरिकृष्ण श्रेष्ठ २०३६ सालदेखि विद्यार्थी राजनैतिक रुपमा स्कुलीङमा जोडिनु भएको थियो । तत्कालिन समयमा तत्कालनी नेकपा माले निकट विद्यार्थी संगठन अनेरास्ववियु (पाँचौ)बाट विद्यार्थी राजानीतिमा उहाँ होमिनु भएको थियो । म्याग्दीकै जेठो विद्यालय प्रकाश माध्यमिक विद्यालयमा २०३८ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उहाँ सभापतिमा निर्वाचित हुनु भएको थियो । त्यसैगरी वि.सं. २०४० सालमा महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङमा अनेरास्ववियुको अध्यक्ष बन्नु भएका श्रेष्ठले २०४६ सालमा नेकपा मालेको बेनी कमिटीको सदस्य हुनु भएको थियो । २०५० सालमा नेकपा एमालेको १ नम्बर इलाका सदस्य, २०५१ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य बन्नु भयो । श्रेष्ठले नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको २०६६ देखि लगातार दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य श्रेष्ठले वि.सं. २०५४ सालमा भएको स्थानीयतहको निर्वाचनमा अर्थुङ्गे गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
बेनीबजारमा जन्मिएर हुर्किएका श्रेष्ठले राजनीति भन्दापनि धेरै जिल्लाका सामाजिक संस्थालाई समय खर्चिने गर्नुभएको छ । उहाँकै सक्रियतामा बेनी बजारमा खानेपानी उपभोक्ता संस्थामार्फत शुद्ध खानेपानी वितरण शुरुआत भएको थियो । म्याग्दीको सदरमुकाम बेनी बजारको संरक्षणका लागि म्याग्दी र कालिगण्डकी नदीको कटानले बेनीबजार जोखिममा पर्दा चन्दा तथा सरकारी बजेट जुटाउदै संरक्षणलाई अगाडी बढाउनु भएको थियो । उहाँले थालेको अभियानमा अहिले बेनी बजार चक्रपथका रुपमा बजार छेउमा नदि किनारबाट सडक निर्माण भए सँग बजार क्षेत्रलाई केही हद सम्म भए पनि सुरक्षित भएको मान्न सकिन्छ ।
म्याग्दीका सक्रिय सामाजिक संस्थाहरुमध्ये म्याग्दी पुस्तकालय, नेपाल रेडक्रस सोसाईटी, म्याग्दी अस्पताल, म्याग्दी बहुमुखी क्याम्पस, प्रकाश माध्यामिक विद्यालय समेत दर्जनबढी सामाजिक संघ संस्थामा सफल नेतृत्व गर्नुभएका श्रेष्ठले लामो समयसम्म लाभको पदबाट भने टाढै हुनुहुन्छ । बि.स २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा २० हजार १८९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजाले बिजय प्राप्त गर्नुभएको थियो । प्राविधिक कारणले गर्दा निर्वाचनमा पराजित भएपनि सक्रिय राजनीतिसँगै सामाजिक कार्यमा श्रेष्ठको सक्रियतामा भने कमी आएको छैन । हालै भएको नेकपा एमालेको महाधिवेशनबाट पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएका श्रेष्ठले जिल्लाबाट प्रतिनिधित्व गरी संघीय सरकारमा पुग्ने गरी तयारीसाथ निर्वाचनमा होमिएको बताउनुहुन्छ ।
