अमृत बास्कुने
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सहितको टोलीले पोखरामा मतदाता भेटघाट तथा अन्तरक्रिया गरेको छ । आसन्न निर्वाचनलाई मध्येनजर गर्दै शनिबार नेकपा एमाले म्याग्दी म्याग्दी पोखरा सम्पर्क कमिटीको अयोजनामा म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठ सहित पोखरामा भेटघाट तथा अन्तरक्रिया भएको हो ।
पोखरामा भएको कार्यक्रममा नेकपा एमालेका उम्मेदवार श्रेष्ठले आफ्नो अनुभव र एजेण्डाले गर्दा म्याग्दीमा आफूले जित्नु पर्ने दावी गर्नुभएको थियो । मुलुकको दिगो बिकासका लागि एमाले बाहेक अर्को बिकल्प नरहेको भन्दै उहाँले म्याग्दी हुँदै चीनको सिमा नाका कोरला पुग्ने सडकलाई व्यवस्थीत गर्दै देशको आर्थिक विकासमा योगदान दिनका लागि आफ्नो पहलकदमी हुने बताउनुभयो ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य थममायाँ थापाले दिगो विकासको योजना र एजेण्डाको लागि एमाले बाहेक अर्को बिकल्प नरहेको धारणा राख्नु भएको थियो । लामो समयदेखिका अनुभवी उम्मेदवार भएको हुनाले पनि म्याग्दीका लागि उचित उम्मेदवार एमालेको रहेको उहाँको भनाई थियो ।
अर्की केन्द्रीय सदस्य नरदेवी पुनले नेकपा एमाले भनेको विकासको पर्याय भएकोले विकास र समृद्धिका लागि एमालेले जित्नै पर्ने जिकिर गर्नुभयो । नेकपा एमालेको नेतृत्वमा भएका कामहरुलाई पूर्णता दिन पनि एमालेको विजय आवश्यक पर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा म्याग्दी पोखरा सम्पर्क समाजका अध्यक्ष रेशम छन्त्यालको अध्यक्षता, केशम गर्बुजाको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य किरण सापकोटा, दिपक कार्की, देवेन्द्र केसी लगायतले बोल्नु भएको थियो ।
