रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बेनी शाखाका अभिकर्ता नवीन पौडेलले सन २०२५ को लागि मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) बन्न सफलता प्राप्त गरेपछि सन २०२६ का लागि फेरि एमडिआरटी बन्नुभएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका बेनी शाखा प्रबन्धक ईन्द्रबहादुर जिसीका अनुसार यस वर्ष नविनले गरेको छोटो समयको मेहनतले नै उहाँलाई एमडीआरटी जस्तो ठूलो पद चुम्ने सफलता मिलेको हो ।
नविन पौडेलले लगातार व्यवसायिक लक्ष्य पूरा गर्दै अन्तर्राष्ट्रिय स्तरको एमडिआरटी मान्यता दोहो¥याउनुले म्याग्दी जिल्लामा मात्र नभई समग्र नेपालका जीवन बीमा बजारमा समेत उच्च प्रतिष्ठा राख्ने संकेत गरेको कम्पनीले जनाएको छ ।
खासमा के हो त एमडिआरटी र यसको महत्व के छ?
एमडिआरटी वा मिलियन डलर राउण्ड टेबल एउटा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संगठन हो । जसमा विश्वभरका उत्कृष्ट जीवन बिमा अभिकर्ता तथा वित्तीय सेवा पेशावरहरूले सदस्यता हासिल गर्छन् । यो संस्था सन् १९२७ मा स्थापना भएको हो र आज यो जीवन बिमा तथा वित्तीय सेवा क्षेत्रमा “उत्कृष्टताको मानक”को रूपमा मानिन्छ ।
एमडिआरटी सदस्यता प्राप्त गर्नका लागि अभिकर्ताले वार्षिक प्रिमियम संकलन÷आय लक्ष्य पूरा गर्नुपर्छ र पेशागत ज्ञान, नैतिक आचार र ग्राहकसेवामा उत्कृष्टता प्रदर्शन गर्नुपर्ने हुन्छ । यसले सहभागीलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता, व्यावसायिक नेटवर्क, विकास सम्मेलनमा भाग लिन अवसर तथा उच्च प्रतिष्ठा समेत प्रदान गर्दछ ।
एमडिआरटी किन हुनु पर्छ ?
एमडिआरटी बन्नु जीवन बीमा पेशामा उच्च प्रतिष्ठा र पेशागत मान्यता हो । त्यस्तै बिमितहरूबीच विश्वास तथा सेवा गुणस्तरको प्रतिफल बढाउन पनि एमडिआरटी गतिलो विन्दु हो । त्यस्तै एमडिआरटी बन्नु भनेको अन्तर्राष्ट्रिय नेटवर्कमा सामेल हुनु पनि हो । विश्वका सफल अभिकर्ता र वित्तीय पेशावरसँग नेटवर्क विस्तार गरेर त्यसलाई अंगिकार गर्दै अगाडी बढ्न पनि एमडिआरटी हुनु राम्रो हुन्छ ।
व्यावसायिक विकास गरेर अगाडी बढ्नका लागि पनि एमडिआरटी पदले राम्रो कार्य गर्दछ । एमडिआरटीले प्रशिक्षण, सम्मेलन र ज्ञान आदानप्रदानका अवसरहरु समेत दिन्छ, जसले अभिकर्ताको क्षमता विकास गर्दछ ।
एमडिआरटीको सदस्यता हरेक वर्षको लागि पुनः योग्य हुनुपर्छ । अर्थात् प्रत्येक वर्ष तोकिएको लक्ष्य पूरा गरेर मात्र सदस्यता नविकरण गर्न सकिन्छ ।
कति पुरानो इतिहास छ त एमडिआरटीको ?
विश्वमा पहिलो पटक एमडिआरटीको शुरुवात सन् १९२७ मा संयुक्त राज्य अमेरिकामा ३२ जना उच्च सफल जीवन बिमा अभिकर्ताद्वारा भएको तथ्याङ्कहरुले देखाउँछ । प्रारम्भमा उनीहरुले पेशागत ज्ञान आदानप्रदान र नैतिक बिक्री अभ्यास अघि बढाउने उद्देश्यले यो प्लेटफर्म स्थापना गरेका थिए । आज यो संगठन ८० भन्दा बढी राष्ट्रहरूमा फैलिएको छ र हजारौं सफल अभिकर्ताहरू यसमा आबद्ध हुने गरेका छन् ।
नेपालको वर्तमान अवस्था हेर्दा सन २०२५का लागि पनि धेरै अभिकर्ताहरु सफल भएको देखिन्छ । नेपालमा रहेका जीवन विमा कम्पनिहरुमा कार्यरत अभिकर्ताहरुले यसलाई आफ्नो प्रतिष्ठाकै रुपमा अगाडी बढाउने गरेका हुन्छन् र त्यो सफल पनि भएका धेरै उदाहरणहरु पनि पाइन्छ । सन् २०२५ को लागि नेपालभरिबाट १४ जीवन बीमा कम्पनीका कुल ६२७ जना अभिकर्ताले एमडिआरटी लक्ष्य पुरा गरेका थिए । सन २०२५ का लागि योग्य भएका ६२७ एमडिआरटी भित्र पर्ने गरी, मिलियन डलर राउण्ड टेबलका अलाबा कोर्ट अफ द टेबल (सिओटी) टप अफ द टेबल (टिओटी) स्टरका अभिकर्ता पनि रहेका छन् ।
सन २०२५ मा अन्तर्राष्टिय सम्मेलनका लागि योग्य भएका कुल ६२७ मध्ये एमडिआरटी ५९४, सिओटी २७ र टिओट ६ जना छनौट भएका हुन् ।
नेपालबाट सन २०२४ को अन्तिम सम्म संकलन गरेको पहिलो बिमाको आधारमा सन २०२५ का लागि एलआइसी नेपालबाट तीन जना टिओटी, १४ जना सिओटी र एक सय १४ जना एमडिआरटी भएका थिए । त्यस्तै नेसनल लाइफबाट दुई जना टिओटी, तीन जना सिओटी र ९५ जना एमडिआरटी बन्न सफल भएका थिए । नेपाल लाइफबाट ९५ जना एमडिआरटी, हिमालयन लाइफबाट ८१ जना एमडिआरटी, सानिमा रिलायन्सबाट २६ जना, आइएमइ लाइफबाट ४४, सिटिजन लाइफबाट ४१, सुर्यज्योती लाइफबाट ४०, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट ३६ ज ना, प्रभु महालक्ष्मीबाट १९ जना र सन नेपाल लाइफ इन्स्योरेन्सबाट २ जनाले एमडिआरटीको लक्ष्य पुरा गरेका थिए ।
बेनी शाखाबाट एमडिआरटी बन्न सफल नवीन पौडेलको लगातार दोस्रो वर्ष समेत लक्ष्य हासील गर्नुलाई जीवन बीमा व्यवसायमा व्यक्तिगत मेहनत, व्यावसायिक प्रतिबद्धता र ग्राहक सेवा प्रतिको समर्पणको पहिचान रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेको भनाई छ । उहाँले भन्नुभयो यसले म्याग्दी जिल्लामा मात्र होइन, समग्र नेपालका बीमा पेशामा लागेर अगाडी बढ्न चाहनेलाई पनि प्रेरणा मिल्छ ।
एमडिआरटी जस्तो अन्तर्राष्ट्रिय मान्यतासँग जोडिनुले नै बीमा अभिकर्ताको सम्मान, व्यावसायिक क्षमता र विश्वव्यापी मान्यता पाउने अवसरलाई अझ बलियो बनाएको एरिया म्यानेजर घिमिरेले बताउनुभयो ।
डिसेम्बरको अन्तिम समयमा मात्रै मेहनत गर्नुभएका नविनले एमडिआरटीको लक्ष्य पुरा गर्नु भएको अवस्थाले उहाँले वर्ष सुरु देखि नै मेहनत गरेको खण्डमा टिओटी तथा सिओटी सम्म पनि एचिभ गर्न सक्ने क्षमता राख्ने बेनी शाखाले जनाएको छ । कुनै पनि लक्ष्य हासिल गर्नका लागि मेहनत चाहिने र मेहनतले सफता पनि प्राप्त हुन्छ भन्ने कुरा नविनले वर्षको अन्तिम १५ दिन भित्रै गरेको मेहनतले प्राप्त गरेको लक्ष्यले देखाएको बेनी शाखा प्रमुख जिसीको भनाई छ
