आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १९ औँ वार्षिक साधारणसभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको छ । तीन हजार ४९४ जना शेयर सदस्य रहेको सहकारीले आफ्नो १९ औँ साधारणसभा अन्तरक्रियात्मक कार्यक्रम सहित सम्पन्न गरेको हो । २ दशकदेखि धौलागिरी क्षेत्रमा सूचना तथा सञ्चार, वचत तथा ऋण र सामाजिक क्रियाकलाप सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्थाले माघ १ गतेदेखि सबै सदस्य : सक्रिय सदस्य अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
सहकारी सदस्यहरुको सक्रिय सहभागितामा सञ्चालन हुने व्यवसाय हो, सदस्यहरु सक्रिय भए, सचेत भए, संगठित भए भने सहकारीमा समस्या आउदैन, संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) ले भन्नुभयो,–‘साधारणसभाले माघ महिनादेखि सबै सदस्य : सक्रिय सदस्य अभियान अन्तरगत शेयर सदस्यहरुसंग सञ्चालक र कर्मचारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।’ साधारणसभामा संस्थाका सदस्यहरुले पछिल्लो समय सहकारीबाट ऋण लगेर तिर्न आनाकानी गर्ने प्रवृति बढेको भन्दै ऋण तिर्न आलटाल गर्ने खराव ऋणीहरुलाई सबै सदस्य मिलेर ऋण तिर्न दवाव दिनु पर्नेमा जोड दिएका छन् ।

सहकारीमा सदस्यहरुले दुख गरेर जम्मा गरेको वचत रकम ऋणका रुपमा लैजाने र समयमा नतिर्ने, तिर्न पर्दैन भन्ने प्रवृतिका विरुद्ध सबै सदस्यहरुले एकाकार भएर दवाव दिनु पर्नेमा शेयर सदस्यहरुले जोड दिएका थिए । सहकारी कानुनी संस्था मात्र नभई सामाजिक सद्भाव कायम गर्ने, सामाजिक पहिचान बनाउने र सामाजिक भावनाको विकास गर्ने संस्था पनि हो, सहभागी शेयर सदस्यहरुले,–‘सहकारीबाट लगेको ऋण नतिर्दा कानुनी समस्या मात्रै होइन, सामाजिक प्रतिष्ठामा समेत आघात पर्छ भन्ने कुरा ऋण नतिर्नेहरुले बुझ्नु पर्दछ ।’ सदस्यहरुलाई संस्थाको समग्र अवस्थाका बारेमा जानकारी दिन, सदस्यहरुको सक्रिय सहभागिता बढाउन तथा साधारणसभा सदस्यको सभा हो भन्ने विषयलाई थप स्थापित गर्नका लागि नियमित रुपमा यस प्रकार साधारणसभा गर्दै आएको र १९ औं वार्षिक साधारण सभा थप प्रभावकारी रुपमा सम्पन्न भएको हो । संस्थाले विगत ७ वर्षदेखि साधारणसभामा सदस्य बाहेक अतिथि नबोलाउने, उद्घाटन सल्लाहकारहरुले गर्ने, खुल्ला सत्र नगरी शुरुमै प्रतिवेदनहरु प्रस्तुत गर्नुका साथै संस्थाको समग्र अवस्था बारे प्रस्तुतीकरण गर्ने र सदस्यहरुबीच छलफल गर्ने गरि मनाउदै आएको संस्थाका सञ्चालक अम्बिका जिसीले बताउनुभयो ।

साधारणसभाको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार मनकुमारी केसी, सल्लाहकारहरु अमर बहादुर थापा, रुद्र बहादुर महत, दयाराम पौडेल र सुरेश प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।
सल्लाहकारहरुका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थापक अध्यक्ष मन कुमारी केसीले सहकारी अभियान, सदस्यहरुको क्षमता विकास, नेतृत्व विकास लगायत वित्तीय तथा सूचना सञ्चारको क्षेत्रमा आदर्श सञ्चारको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारीको विषयमा फैलाइएको भ्रमहरु आदर्शको सहकारी अभियानका कारण चिर्न सफल भएको बताउनुभयो । सबै सहकारीलाई एउटै डालोमा नराख्न आग्रह गर्दैै केसीले आदर्श जस्ता राम्रा सहकारी समेत समाजमा रहेको बताउनुभयो ।
संस्थाको समग्र अवस्था, खराब ऋण, तरलता र ऋण असुलीको विषयमा सम्पादक राम बहादुर जिसीले सहजीकरण गर्नुभएको थियो । जिसीले सहकारीले आफ्ना सदस्यसंग कारोबार गरेको छ, ऋण लगानी गरेको छ भने संस्थामा आउने समस्या समाधानका लागि सञ्चालकसंगै ऋणी र जमानतकर्ता समेत हुने विषयमा जानकारी गराउनु भएको थियो । खराव ऋणीहरु सहकारीहरुको बद्नाम गर्न विभिन्न खालका प्रचार गर्दै हिडेको विषयमा सचेत बनाउदै उहाँले शेयर सदस्यहरु त्यस्ता विषयमा सचेत हुनु पर्नेमा जोड दिनुभयो ।

साधारण सभामा संस्थाका सचिव सरस्वती खड्का परियारले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शान्ति लक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक अनन्त बहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मतीले पारित भएको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा सदस्यहरुले बचत संकलनलाई गाउँ पु¥याउनुपर्ने, सहकारी सचेतना प्रदान गर्नुपर्ने, ऋण उठाउन सदस्यनै सहकारीको सहयोगीका रुपमा हिड्ने बताउनु भएको थियो । शेयर सदस्यहरु झपिन्द्र बहादुर क्षत्री, सुर्य बहादुर महत, कृष्ण आचार्य, दिनेश अधिकारी, काजी रोशन, हरीकृष्ण सुवेदी, रामकान्त गौतम लगायतले संस्थाको प्रतिवेदनमाथि सुझाव राख्नु भएको थियो ।
साधारणसभामा सर्वोत्कृष्ट कारोबार गर्ने हिरामणी उपाध्याय, धन बहादुर खड्का, शंकर पाण्डेय, सूर्य बहादुर महत, मिना क्षत्री, गंगा केसी, कृपा नकर्मी र खिम बहादुर केसी लगायतलाई सम्मानित गरिएको थियो । उत्कृष्ट कारोबार गर्ने विन्ध्या शर्मा, दिनेश अधिकारी, सुदिप आचार्य, कृष्ण आचार्य, डिल बहादुुर कार्की, कमल प्रसाद श्रेष्ठ, राधिका शर्मा, विना थापा र सुर्य प्रसाद घिमिरेलाई नगद प्रोत्साहन गरिएको थियो । कार्यक्रममा बाल बचतकर्ता सञ्जु शर्मा, शेयर सदस्य वृद्धितर्फ उत्कृष्ट सञ्चालक अम्बिका जिसी, उत्कृष्ट जोडी सम्मानमा जिवनाथ शर्मा र गंगादेवी शर्मा, उत्कृष्ट कर्जा कारोबार गर्ने सृजना गुरुङ सम्मानित हुनुभएको थियो । कार्यक्रममा उत्कृष्ट परिवारमा हरीमाया बिक, सुनि र दिव्या बिक सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा ३५ जना जेष्ठ शेयर सदस्यहरुलाई दुई हजार ४०० का दरले पेन्सन प्रदान गरिएको थियो । संस्थाले पेन्सनकोष स्थापना गरी संस्थामा सदस्य बनेको १० वर्ष भई ७० वर्ष उमेर पुरा भएका सदस्यहरुलाई पेन्सन वितरण गर्दै आएको छ । साधारणसभामा १४ जना अपाङ्गता भएका शेयर सदस्यहरुलाई जनही रु. एक हजार अपाङ्गता प्रोत्साहन रकम प्रदान गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष ललिता थापाको स्वागत तथा सह–सम्पादक सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो । आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका, अग्रसर साप्ताहिक पत्रिका, आदर्शसञ्चार डटकम अनलाईन सञ्चालन गर्नुका साथै सदस्यहरुसंग वचत तथा ऋणको कारोबार गर्दै आएको छ ।
आदर्शसञ्चारबाट साभार
