आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले पाँच जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको शुक्रबार बसेको पुर्ण बैठकले अनेरास्ववियुको केन्द्रीय महाधिवेशनमा अध्यक्षमा पराजित भएका प्रकाश पौडेल, नेकपा एमाले म्याग्दीका पूर्व अध्यक्ष तथा नव निर्वाचित केन्द्रीय कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दीका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, क्युपेक नेपाल केन्द्रीय कमिटी सचिव मजदुर नेता बलादेवी राई र नेकपा एमाले म्याग्दीकी सचिवालय सदस्य पशुपति शाहीको नाम सिफारिस गरेको हो ।
नेकपा एमालेको केन्द्रीय कमिटीले एक महिला सहित तीन जनाको नाम माग गरेको भए पनि जिल्लाबाट पाँच जनाको नाम सिफारिस गरिएको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
यसैबीच एमाले म्याग्दीले पाँच सय एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीको संयोजकत्वमा गठीत निर्वाचन परिचालन समितिले शनिबार देखि नै निर्वाचन अभियान थाल्ने एमाले म्याग्दीका अध्यक्ष एवम् निर्वाचन परिचालन समिति संयोजक सुवेदीको भनाई छ ।
त्यसैगरी युवा परिचालनको संयोजकमा जिल्ला कमिटीका सचिवालय सदस्य नारायण जिसी एवम् आर्थिक परिचालनमा उपसचिव सतप्रसाद रोकालाई संयोजक तोकेको एमाले म्याग्दीले जनाएको छ ।
