अखिल नेपाल महिला संघ म्याग्दीले महिला हिंसाको अन्त्यका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने माग गर्दै विभिन्न निकायलाई ज्ञापन पत्र बुझाएको छ । अनेम संघ म्याग्दीकी अध्यक्ष यशुदा रोकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय महिला आयोगको अध्यक्ष, गृह मन्त्री र राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको हो ।
महिला हिंसा निवारणका लागि ठोस कदम चाल्नु पर्ने माग गर्दै बुझाइएको ज्ञापनमा देशमा वार्षिक झण्डै २० हजार हाराहारी हिंसाका घटनाहरु हुने उल्लेख छ ।
नेपालमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाहरु सार्वजनिक भइरहेको अवस्था उल्लेख छ । जिम्मेवार पदमा रहेका समेत हिंसाका घटनाहरुमा संलग्न भएको घटनाहरु सार्वजनिक हुनाले नेपाली समाजलाई नै चुनौती थपेको महशुष भएको उल्लेख छ । महिलालाई केन्द्रमा राखेर गरिएको हिंसा समाजका अरु अङ्गहरुलाई नकारात्मक प्रभाव पारेकोले महिला, हिंसाको शिकार बन्नु भनेको समाजको आधाभन्दा बढी हिस्सा संकटमा पर्नु हुने अनेम संघको भनाई छ । यस्तो कार्यलाई लैंगिक हिंसाको रुपमा मात्र नहेरीे समग्र समाजको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई पनि प्रत्यक्ष असर पार्ने कार्य हुने तर्फ सबै सचेत रहन पर्ने भनिएको छ । नयाँ प्रविधीको विकाससंगै हिंसाका घटनाहरु पनि नयाँ तरिकाले घटाइने गरिएको हुँदा विशेष गरी सामाजिक सञ्जाल र डिजिटल माध्यम प्रयोग गरी हुने हिंसाका घटनाहरु अदृष्य रुपमा बढिरहेको उल्लेख छ । साथै नेपाल सरकारले प्रविधिको सहि प्रयोग गरौंः महिला हिंसा अन्त्य गरौं भन्ने मूल नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरिरहेको परिप्रेक्ष्यमा तथ्यांकहरुले महिला हिसा खासै न्यूनिकरण तर्फ नगएको देखिएको जनाइएको छ ।
ज्ञापन पत्रमा जुलाई २२, ०२५ मा काठमाडौं पोष्टमा प्रकाशित लेखमा उल्लेखित नेपाल प्रहरी साइबर व्यूरोको तथ्यांकलाई हेर्दा गत वर्षको तुलनामा साईबर अपराधका घटनामा केही कमी आएको देखिएता पनि यस वर्ष दर्ता भएका साइबर अपराधका घटनाको संख्या भने कम नदेखिएको उल्लेख छ । प्रत्येक दिन साइबर अपराधका ५२ वटा घटना र १२ महिनामा १८ हजार ९ सय २६ वटा घटना दर्ज हुनुले समाजमा अपराधिक घटनाहरुले जरो गाडेको स्पष्ट चित्र देखिएको दावी गरीएको छ । त्यसमा पनि धेरै घटनाहरु समाज, परिवार र नियमन निकायका कारण दर्ता नभएको हुन सक्ने पनि संका गरिएको छ । विशेष गरी महिला माथि घटेका घटनाहरु इज्जत, अस्मिता वा मान प्रतिष्ठासंग बढी जोडिने गरेको कारण महिला विरुद्ध भएका घटनाहरु बाहिर निकै कम आउने बताइएको छ ।
यूएन विमनले नेपालमा महिला विरुद्ध हुने राजनीतिक हिंसा बारे सन् २०२२ मा प्रकाशित गरेको अध्ययनले देखाएको तथ्यांकलाई हेर्ने हो भने स्थानीय तहमा कार्यरत जनप्रतिनिधीहरु मध्ये मुख्य पदमा कार्यरत महिलाहरु अझ बढी हिंसामा परेको उल्लेख गरिएको छ । यही विषयलाई मनन् गरेर अनेमसंघले राजनीतिमा हुने महिला हिंसा अन्त्यको लागि प्रविधिको सही प्रयोग गरौं नाराका साथ यस वर्षको १६ दिने अभियान संचालन गरेको अनेमसंघकी अध्यक्ष रोकाले बताउनुभयो । जेन जी आन्दोलन पछि बनेको सरकारले निर्वाचनको घोषणा गरेसंगै महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व जस्तो संविधान प्रदत्त महिलाका अधिकारलाई कार्यान्वय गर्नका लागि समाजमा व्याप्त हिंसा न्यूनिकरण, दोषी माथि कारवाहीको प्रक्रियालाई सहज र सरल ढंगले पुरा गर्नुका साथै महिलाहरुले स्वतन्त्रतापूर्वक आवत–जावत गर्न पाउने, मतदान गर्न पाउने लगायतका मौलिक अधिकार कार्यान्वयनका लागि अहिले देखि नै सुनिश्चित गरेर लैजानका लागि विशेष पहल गर्नुपर्ने उल्लेख छ ।
महिला माथि हुने कुनै पनि प्रकारको हिंसाको अन्त्यका लागि राज्यका हरेक तह र तप्काबाट सबैले भूमिका खेल्नु पर्ने भएकाले नै मानवअधिकार दिवसको अवसरमा ज्ञापन पत्र बुझाएको अनेमसंघ म्याग्दीकी अध्यक्ष यशुदा रोकाले जानकारी दिनुभयो ।


