म्याग्दी । म्याग्दीबाट केन्द्र प्रदेश र जिल्लाका पदाधिकारीमा प्रतिनिधित्व गर्ने नेकपा एमालेका १९ नेताका १४ वडा मध्ये गएको स्थानीय तह निर्वाचनमा ११ वडामा एमाले बिजयी भएको छ ।
नेकपा एमालेको केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारीहरुको संख्यात्मक अवस्था र पछिल्लो निर्वाचनमा आएको मत परिणामको अवस्था नियाल्ने प्रयास गर्दा यस्तो देखिएको हो । केन्द्रीय कमिटीमा ३ जना, प्रदेशमा ११ र जिल्लाको पदाधिकारी ५ जना गरी १९ जना नेताहरुको वडामा भने मत परीणाम सन्तोषजनक भने पक्कै पनि छैन ।
केन्द्रीय कमिटीमा स्थायी कमिटी सदस्यसहित तीन जना र प्रदेशमा अध्यक्ष सहित ११ जनाको प्रतिनिधित्व रहेको छ । जिल्लाको पदाधिकारीमा भएका पाँच जनाको पनि भुमिका रहन्छ नै ।
स्थायी कमिटी सदस्य थममाया थापा, प्रदेश कमिटी सदस्यहरु खुमबहादुर बानियाँ र सुरत केसीको वडा बेनी नगरपालिका ८ मा गएको स्थानीय निर्वाचनमा एक जना सदस्य नेपाली कांग्रेसले जितेको थियो भने अरु सबै एमालेले जितेको थियो ।
त्यसैगरी केन्द्रीय कमिटी सदस्य भूपेन्द्रबहादुर थापाको बेनी नगरपालिका १ मा एमाले प्यानलले जित्यो । केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरदेवी पुन, प्रदेश कमिटी सदस्यहरु सृजना केसी र पुस्कर बिकको मंगला गाउँपालिका १ मा पनि एमालेकै प्यानल विजयी भएको थियो ।
त्यसैगरी एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माको मालिका गाउँपालिका ७ मा एमाले प्यानल बिजयी भएको थियो । त्यस्तै प्रदेश कमिटी सदस्य खरमायाँ बिटालुको मालिका ६ मा पनि प्यानलै एमालेको पोल्टामा परेको थियो ।
नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रमोद श्रेष्ठ र प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठको वडा बेनी नगरपालिका ७ भने एक जना सदस्य रमेश फगामी एमालेले जित्दै गर्दा अन्य सबै पदमा कांग्रेसले बिजयी हासिल गरेको थियो । त्यस्तै प्रदेश कमिटी सदस्य किरण सापकोटाको बेनी नगरपालिका २ मा कांग्रेसले जितेको थियो ।
एमालेका जिल्ला कमिटी अध्यक्ष बालकृष्ण सुवेदीको रघुगंगा ३ तथा प्रदेश कमिटी सदस्य देवेन्द्र केसीको वडा रघुगंगा गाउँपालिका २ मा एमालेको प्यानल बिजयी भएको छ ।
प्रदेश कमिटी सदस्य मुना बानियाँको बेनी नगरपालिका ६ एमाले प्यानल बिजयी हुँदै गर्दा अर्की प्रदेश सदस्य हेमकुमारी पुनको अन्नपुर्ण गाउँपालिका ८ पनि एमालेकै पोल्टामा रहेको छ ।
एमाले सचिव थमसरा पुनको वडा धवलागिरी गाउँपालिका ४ मा प्यानलै एमालेले जितेको थियो । त्यसैगरी उपसचिव खड्ग गिरीको वडा अन्नपुर्ण गाउँपालिका ६ मा कांग्रेसले बाजि मार्दा अर्का उपसचिव सतप्रसाद रोकाको वडा मंगला गाउँपालिका २ मा एमालेले बाजी मारेको थियो ।
जिल्ला प्रदेश र केन्द्रीय स्तरका १९ जना नेताहरु रहँदै गर्दा नेताका तीन वटा वडा भने अर्को पार्टीले जितेको छ । बेनी नगरपालिका २, ७, अन्नपूर्ण गाउँपालिका ६ मा अर्को पार्टीले जित हासिल गरेको देखिन्छ । समग्रमा हेर्दा १४ वटा वडाका १९ जना नेताहरु रहँदै गर्दा नेताका ११ वडा भने जित हासिल गरेको देखिन्छ ।
एमालेले पालिका प्रमुखमा भने छ मध्ये चार वटा जित हात पार्दै गर्दा उपप्रमुख भने तीन पालिकामा मात्रै जितेको थियो । धवलागिरीमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले जितेको थियो भने रघुगंगामा दुवै पदमा कांग्रेस बिजयी भएको थियो । बेनी नगरपालिकामा एमालेले प्रमुख जित्दा उपप्रमुख माओवादीले जित्यो ।
मालिका, मंगला र अन्नपुर्ण गाउँपालिकामा भने प्रमुख उपप्रमुख दुवै पदमा एमाले विजयी भएको थियो । पछिल्लो स्थानीय तह निर्वाचनमा भने जिल्ला समन्वय समिति समेत जितेको थियो ।
म्याग्दीमा एमालेले २०४८ सालमा समेत संसदीय निर्वाचन जितेको थियो । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समितिमा सभापति र उपसभापति सहित बहुमत इलाका सदस्य जितेको एमाले २०७९ को संघीय र प्रदेश सांसदमा पराजित भएको थियो ।
म्याग्दीबाट एमालेका नेताहरु संघीय मन्त्री, प्रदेशमन्त्री सहित प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष नै जितेको जिल्ला हो । पछिल्लो समय राजनीतिक रुपमा देखिएको अलमलको अवस्था चिर्नका लागि म्याग्दीबाट एमालेमा नेतृत्वदायी भूमिका खेल्ने नेताहरुको भूमिका थप शसक्त हुनु पर्ने कार्यकर्ताहरुको माग रहेको छ ।
