म्याग्दी जिल्लाको सबै भन्दा दुर्गम मानिने स्थानीय तहको धवलागिरी गाउँपालिका । यो गाउँपालिका मुस्ताङ, डोल्पा, रुकुम पूर्व, बागलुङ जिल्लाका साथै म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका र मालिका गाउँपालिका सँग सिमाना जोडिएको गाउँपालिका हो । नेपालमा संघीयता कार्यान्वयन गर्ने क्रममा साविकका गुर्जा गाविस, लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङ र ताकम गाविसलाई समेटेर धवलागिरी गाउँपालिका बनाइएको हो । एक हजार ३७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकाको जनसंख्याका हिसाबले हेर्दा वि.सं. २०७८ मा गरिएको जनगणना अनुसार १२ हजार छ सय १६ रहेको छ । धवलागिरी गाउँपालिकाको समग्र विकास तथा आगामी योजना र भौतिक पूर्वाधार विकास तथा अन्य कार्यहरुको बारेमा के कस्ता कार्य भएका छन् र आगामी योजनाहरु के कस्ता रहेका छन् भन्ने विषयमा हामीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा सँग कुराकानी गरेका छौं । धवलागिरी गागउँपालिकाको बिस्तृत सअवस्थाका साथै योजना तथा कार्यक्रमका बारेमा अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरीएको छः–
प्रश्न ः धवलागिरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउनु भएको छ के कसरी कामहरु अगाडी बढाउनु भएको छ ? अन्य योजनाहरु के कस्ता छन् काम गर्ने सन्दर्भमा ?
उत्तर ः सर्वप्रथम आफ्नो र गाउँपालिकाको बारेमा केही कुराहरु राख्ने मौका सृजना गरेर राख्नु भएको प्रश्नका लागि हजुरलाई धन्यवाद । म धवलागिरी गाउँपालिकाको कार्यालयमा हाजिर भएको धेरै समय भएको छैन । धेरै कुराहरुको बारेमा जानकारी लिने काम हुँदै छ मेरो । किन भने खासमा यहाँ हाजिर भएको म भर्खरै हो । तर पनि यस बीचमा सम्रग गाउँपालिकाको प्रशासनिक लगायत अन्य विविध पक्षहरु बारे बुझ्दै छु । तर पनि म यो गाउँपालिकाको बारेमा अनविज्ञ भएको मान्छे भने होइन । कनि भने मैले केहि वर्ष अगाडी यसै गाउँपालिका अन्तर्गत पर्ने तत्कालिन गुर्जा गाविसमा रेहर सेवा गरेको थिएँ । जिल्लाकै सबै भन्दा दुर्गम तथा टाढाको वडा पर्छ अहिले गुर्जा र त्यही ठाउँमै भएको मेरो सेवाले यस क्षेत्रको बारेमा ज्ञान लिने मौका पहिल्यै मिलेको थियो मलाइ । त्यसैले यस क्षेत्रको भौगोलिक, सामाजिक, सांस्कृतिक लगायत विविध पक्षहरुबारे केहि हदसम्म जानकार रहेको हुँदा कार्यसम्पादनका सन्दर्भमा मलाई थोरै भएपनि सहज हुने अपेक्षा गरेको छु । गाउँपालिकाको हालको वित्तीय, प्रशासनिक, भौतिक पूर्वाधार, जनशक्ति, सेवा प्रवाहको अवस्था वारे अध्ययन गर्दै अगाडी बढ्ने मेरो प्रण हो । साथै प्रचलित ऐन, नियम, कार्यविधिका आधारमा निर्वाचित जनप्रतिनिधिसँग समन्वय तथा सहकार्य गर्दै कार्यक्षमता अनुसार कर्मचारीहरुको जिम्मेवारी बाँडफाँड गरि उपलब्ध स्रोत र साधनको उच्चत्तम उपयोग गर्दै गाउँपालिकाले लिएका लक्ष्य तथा उद्देश्य हासिल हुने गरि आफुलाइ तोकिएको कार्यजिम्मेवारी सम्पादन गरिरहेको छु । गाउँपालिकाको गाउँ सभाले दिएको निर्देशन र निर्णय अनुसार नै काम गर्ने र समग्र गाउँपालिकाको दिगो विकास र समुन्नतीका लागि नै काम गर्ने हो । यहाँका जनप्रतिनिधिहरु सँगको सहकार्य र सुझाबको आधारमा नै म अगाडी बढ्ने हो । समग्र गाउँपालिकाको विकास अनि हरेकले अपनत्व लिन सक्ने काम गर्नु नै गाउँपालिकाको लक्ष्य हुने छ । त्यही लक्ष्य प्राप्तीका लागि मेरो भूमिका रहने छ । म एक जनाले गर्ने भन्दा पनि गाउँपालिकाको समग्रताको अवस्थाको अपनत्व लिनकै लागि मात्रै हामीले काम गर्ने यसैका लागि अगाडी बढ्नको लागि नै मेरो भूमिका रहन्छ । पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिने यो गाउँपालिकामा पर्यटकको आगमन र यहाँ रोकीने वातावरण बनाउनका लागि पनि हामीले प्रयास गर्नेछौं ।
प्रश्न ः सुन्दर र समुन्नत पालिका बनाउनका लागि के कस्ता योजनाहरु अगाडी सारीएका छन् ?
उत्तर ः धवलागिरी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार समृद्ध धवलागिरीको मुल आधार भन्ने दीर्घकालिन सोचका साथ अगाडी बढीएको छ । यहाँ मौलिक संस्कृति, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै व्यावसायिक कृषि, दिगो पर्यटन, गुणस्तरिय शिक्षा लगायत आर्थिक, सामाजिक, पूर्वाधार र सुशासनको विकास गरी आय र रोजगारीका माध्यमबाट नागरिकको जिवनस्तरमा गुणात्मक विकास गर्ने गरि गाउँपालिकाले आफ्नो सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्ने गरि विभिन्न योजना तथा कार्यक्रमहरु अगाडि बढाएको छ । जसमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण, सडक सञ्जालबाट वञ्चित जिल्ला कै एक मात्र दुर्गम वडा गुर्जासम्म सडक विस्तार, गाउँपालिका स्तरीय अस्पताल निमार्ण जस्ता कार्यलाई अगाडी बढाइएका छन् । त्यसैगरी अध्यक्षसँग दीर्घरोगी कार्यक्रम, पर्यटकीय स्थल जलजलामा पूर्वाधार निर्माण लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित योजना तथा कार्यक्रमहरु अगाडि बढाइएको अवस्था छ । हाम्रो गाउँपालिकाको लागि उपयुक्त रहने कृषि र पर्यटन क्षेत्र भएकोले त्यसको विकासका लागि गाउँसभाले तोकेको निक्र्यौल अनुरुप अगाडी बढ्ने हो । पर्यटन प्रवद्र्धन तथा पर्यटकको सुविधाका लागि पनि विविध विषयमा गाउँपालिकाले दिर्घकालिन योजना बनाउने जमर्को गरेको अवस्था हो । यसका लागि सबै जनप्रतिनिधि तथा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहन्छ र त्यसै अनुसार काम हुने अपेक्षा गर्न सकिन्छ । हाल सम्म भएका कामहरु हेर्दा आशा लाग्न् खालकै भएको हुनाले पनि अबका दिनमा पनि यसलाई थप मजबुत बनाउँदै अगाडी बढ्न सक्ने अवस्था रहन्छ ।
प्रश्न ः शिक्षा, स्वास्थ्य, विद्युत तथा खानेपानीको क्षेत्रमा के कस्तो योजना ल्याउने छ अबका दिनमा ?
उत्तर ः गाउँपालिकाको आगामि दिनमा हुने विकासलाइ योजनाबद्ध बनाउनका लागि पञ्च वर्षिय आवधिक विकास योजना तर्जुमा गरि कार्यान्वयनमा ल्याइएको छ। जहाँ अबका दिनमा शिक्षा क्षेत्रको विकासका लागि सामुदायिक विधालयहरुको भौतिक पूर्वाधार विकास, प्राविधिक शिक्षालय सञ्चालन, शिक्षकहरुको लागि शिक्षण पद्धति सम्बन्धी क्षमता विकास, सबै विधालयहरुमा ईन्टरनेटको व्यवस्था गर्ने लगायतका योजना सञ्चालन हुनेछन्। त्यस्तै स्वास्थ्य क्षेत्रको विकासका लागि सबै स्वास्थ्य संस्थाहरुलाई विपद् उत्थानशील भौतिक पूर्वाधार, उपकरण तथा प्रविधि विस्तार, स्वास्थ्य चौकीहरुको आफ्नौ भवन निर्माण, सबै गाउँपालिकावासीलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने जस्ता योजना कार्यान्वयन हुनेछन् । त्यसैगरी विद्युतका क्षेत्रमा आगामि दिनमा सबै वडाहरुमा ३ फेज लाईन विस्तार, संस्थागत सौर्यउर्जा जडान जस्ता योजना सञ्चालन गरिने छ । त्यसैगरि गाउँपालिका क्षेत्रभित्र गुणस्तरीय र सर्वसुलभ खानेपानी तथा सरसफाई सेवाको पहुँच विस्तार गर्न अबको दिनमा तीन तहका सरकारको सहकार्यमा एक घर एक धारा योजना, खानेपानीका मुहान तथा स्रोत संरक्षण कार्यक्रम संचालन हुनेछन् । जनताले पाउनु पर्ने सेवा सुविधा र संविधान प्रदत्त अधिकारहरुको पूर्ण पालनका लागि गाउँपालिकाले बनाएका योजनाहर कार्यान्वयनका लागि मेरो भूमिका रहनेछ । शिक्षा, स्वास्थ्य, विद्युत तथा खानेपानी भनेको मौलीक हक भित्रै पर्ने हुनाले पनि यसलाई जति सक्यो चाँडो जनताको पहुँच समम पुग्नु पर्ने हुनाले यस अगाडी देखिनै बनेका योजनाहरुको कार्यान्वयनका लागि नै अग्रसर भएर लाग्नु पर्ने भएकाले त्यस तर्फ ध्यान पनि अलिक बढी नै केन्द्रीत हुनेछ ।
प्रश्न ः कर्मचारी व्यवस्थापन के कसरी भएका छन् ? के अहिले प्रयाप्त कर्मचारी छन् ?
उत्तर ः धवलागिरी गाउँपालिकामा दरबन्दी बमोजिम पूर्णरुपमा कर्मचारीहरु पदपूर्ति हुन नसकेको अवस्था छ । तथापी कार्यरत कर्मचारीहरुको कार्यक्षमता अनुसार जिम्मेवारी बाँडफाँड गरि गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतबाट प्रवाह हुने सेवालाई सेवाग्राही मैत्री र सहज बनाउने प्रयास गरिएको छ । पूर्वाधार विकास, शिक्षा लगायतका केहि शाखाहरुमा दरबन्दी बमोजिम शाखा प्रमुखहरुको पदपूर्ति हुन नसक्दा कार्यसम्पादनमा केहि असहजता भने देखिएको छ । जिल्लाकै सबै भन्दा दुर्गम गाउँपालिका भएर पनि हुन सक्छ यहाँ सम्म आउने कर्मचारीहरुको अभाव भएको हुन सक्ने । तर जे जति हामी सँग उपलब्ध जनशक्ति रहेको छ त्यसैबाट मजबुत तबरले काम गर्नेगराउने गरिएको अवस्था हो ।
प्रश्न ः पर्यटकीय क्षेत्र धौलागिरी हिमाल, जलजला तथा अन्य पर्यटकीय क्षेत्रको पूर्वाधार विकास एवम् त्यसलाई व्यवस्थापन गर्ने तपाईको योजना के छ ?
उत्तर ः धवलागिरी गाउँपालिकामा विभिन्न पर्यटकीय महत्वका क्षेत्रहरु रहेका छन् । जहाँ धवलागिरी, गुर्जा, चुरेन, पुथा लगायतका हिमचुचुरा देखि लिएर ढोरपाटन शिकार आरक्ष, जलजला, मालिका धुरी, नर्जा झरना, ताकमकोट जस्ता पर्यटकीय महत्वका प्राकृतिक तथा धार्मिक सम्पदाहरु रहेका छन् । यी क्षेत्रको विकास र प्रचारप्रसारको लागि गाउँसभा तथा गाउँकार्यपालिकाले विभिन्न योजनाहरु तर्जुमा गरेको छ । साथै आगामि दिनमा पक्कै पनि यसमा थप कार्य गर्ने छ । मेरो विचारमा गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको विकास तथा व्यवस्थापनका लागि आवश्यक पर्यटकीय पूर्वाधारको विस्तार, पर्यटन सूचना केन्द्रको स्थापना, राष्टिय तथा अन्तराष्टि यस्तरमा प्रचारपसार गर्ने लगायतका कार्यक्रम तथा योजना अगाडि बढाउनुपर्छ । गाउँसभाले एक किसीमको तयारी गरेको थियो र त्यो अनुसार काम भएको छ । अब थप दिर्घकालिन योजना बनाएर अगाडी बढ्नका लागि नै हामी सबैले प्रयास गर्ने हो र त्यही लक्ष्य प्राप्तीका लागि स्थानीय निकाय, जनप्रतिनिधि तथा सर्वसाधारण जनताको पनि साथ र सहयोग चाहिन्छ र सोही अनुरुप काम भएका छन् र अझै हुने छ ।
प्रश्न ः जातिय विभेद, महिला हिंसा, बालबिबाह जस्ता समस्या भित्र छन् कि छैनन?
उत्तर ः विगतको तुलनामा यस्ता समस्याहरु न्यूनिकरण हुँदै गएका छन् तर पनि पूर्णरुपमा निर्मुल भने हुन नसकेको अवस्था छ । यि समस्याहरुको निराकरणका लागि गाउँपालिकाले विगत देखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । जसअन्र्तगत महिला सशक्तीकरणका कार्यक्रम, लक्षित वर्गको क्षमता विकासका कार्यहरु, जनचेतना मुलका कार्यक्रमहरु रहेका छन् । समग्रमा हेर्दा धवलागिरी गाउँपालिकामा बालबविबाह अलिक धेरै भएको जस्तो तथ्यहरुले देखाउँछ । स्थानीय स्तरबाट जनचेतना जगाउने अनि शिक्षामा अलिक बढी प्रयास गर्ने गरिएको भए पनि जुन तबरले घट्नु पर्ने हो त्यो तबरले घटेको भने देखिदैन ।
प्रश्न ः अन्त्यमा हजुरको भन्नु केही छ कि ?
उत्तर ः निर्वाचित जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला सबै पक्ष सँगको सहकार्यमा धवलागिरी गाउँपालिको सेवाप्रवाह तथा विभिन्न क्षेत्रका विकासमा अलिकति भएपनि आफ्नो प्रशासनीक नेतृत्व मार्फत योगदान दिनसकिन्छ की भन्ने अपेक्षा सहित मलाइ प्रदान गरिएको कार्य जिम्मेवारी पुरा गर्न लागि परिरहेको छु। सरोकारवाला सबै पक्षबाट सकरात्मक सहयोग तथा सहकार्य हुनेछ भन्ने अपेक्षा लिएको छु । हाम्रो गाउँपालिकाको भए गरेका काम र योजनाहरुका बारेमा पनि राख्ने अवसर दिनुभएकोमा यहाँ र यहाँको सञ्चार माध्यमलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि यस्ता गतिविधिहरु सबैको समेटेर अगाडी बढ्नुहोस भन्ने शुभेच्छा सहित शुभकामना पनि व्यक्त गर्न चाहन्छु । धन्यवाद
