अमृत बास्कुने
बेनी नगरपालिका–६ चुत्रेनीमा हरितालिका तीज पर्वको अवसरमा मंगलबारदेखि महिला तथा पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ ।
द मुनसन युवा क्लवको आयोजनामा शुरु प्रतियोगितामा ‘नाईन ए साइड’ खुल्ला पुरुष, ‘फाइभ ए साइड’ प्रौद्ध र महिला प्रतियोगिता शुरु भएको हो । पहिलो दिन भएको महिला फुटबल प्रतियोगितामा आयोजक मनसुन युवा क्लब र म्याग्दी वर्कसप बेनी फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा मनसुनले कालीपुल युनाइटेडलाई र म्याग्दी वर्कससपले बागलुङ स्पोर्टलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । महिला फुटबलको बिजेतालाई २२ हजार दुई सय २२ र उपबिजेतालाई ११ हजार एक सय ११ नगद सहित मेडल, ट्राफि र प्रमाणपत्रको व्यवस्था गरिएको क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो ।
खुल्ला पुरुष फुटबल प्रतियोगिताको बिजेता र उपबिजेतालाई नगद एक लाख र ५० हजार साथै ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरीएको छ । त्यसैगरी अनुशासित टिमलाई १० हजार, उत्कृष्ट खेलाडी, किपर, डिफेण्डर, स्ट्राइकर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदयीमान खेलाडीलाई नगद दुई÷दुई हजार दरले पुरस्कृत गरिने अध्यक्ष बानियाँको भनाई छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिका –६ का वडा अध्यक्ष कृष्णसिंह बानियाले चुत्रेनीमा सुविधा युक्त खेलमैदान निर्माण आफ्नो लक्ष रहेको बताउनुभयो । उहाले खेलमैदानलाई व्यवस्थित बनाउन चार करोड लागतको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पारेर स्रोतको खोजीमा जुटेको बताउनुभयो । उहाँले हालसम्म करिब ४० लाख लगानी गरेर पूर्वाधार बनाएको जानकारी दिनुभयो ।
जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानिया, म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती लगायतको उपस्थिति रहेको थियो ।

