बेनी नगरपालिका–१ आनन्दबगरका सन्तोष भन्ने कृष्णबहादुर बोगटीको हत्यामा दोषी ठहर भएका सोही ठाउँका किसान जिसी भन्ने कृष्णबहादुर घर्तीलाई उच्च अदालत पोखराको बागलुङ इजलासले जन्मकैदको सजाय सुनाएको छ । यस अघि जिल्ला अदालत म्याग्दीले पाँच वर्ष कैद तीन लाख क्षतिपूर्ति तोकेको थियो । जिल्ला अदालतले भन्दा २० वर्ष बढी उच्च अदालतले कैद सुनाएको हो ।
म्याग्दी जिल्ला अदालतका जिल्ला न्यायाधिश प्रकाशप्रसाद पण्डीतको इजलासले वि.स. २०८१ असार १६ गते दोशी मान्दै ३१ गते सजाय भने पाँच वर्ष मात्रै तोकेको थियो । जिल्ला अदालतले सजाय निर्धारणका क्रममा पाँच वर्ष कैद सजाय र तीन लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाका विरुद्ध किृष्णबहादुर जिसीले आफू निर्दोष हुन पाउन पर्ने भन्दै उच्च अदालत गएका थिए भने नेपाल सरकारको तर्फबाट सरकारी वकिल कार्यालय वि.स. २०८१ कात्तिक ११ गते जिल्लाको फैसला बिरुद्धमा उच्च अदालत पोखराको बागलुङ इजालसमा पुनरावेदन गरेका थिए । कर्तव्य गरी मारेको र घटना समेत लुकएको भन्दै उच्च अदालतमा पुनरावेदन दिएको थियो ।
उच्च अदालतका न्यायाधिशद्वय यज्ञबहादुर रानामगर र खड्गबहादुर के.सी. को २०८२ असार ३२ गते मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (२) बमोजिम जिसीलाई जन्मकैद (२५ वर्ष) को सजाय र तीन लाख क्षतिपुर्ति भराउने फैसला गरेको हो । फैसलाको पूर्ण पाठ साउन २० गते आइतबार सार्वजनिक भएको छ ।
जिसीले बोगटीलाई कर्तब्य गरी मारेको पुष्टि भएपनि उक्त वारदातलाई लापरवाहीपुर्वक घटेको घटनाको संज्ञा दिई मुलकी अपराध संहिता, २०७४ को दफा १८१ (१) अनुसार कैद र क्षतिपूर्ति भराउने फैसला म्याग्दी जिल्ला अदालतबाट भएको भएको थियो । जिल्ला अदालतले गरेको फैसला मिलेको नदेखिंदा (उल्टी) बदर गरेको उच्च अदालतको फैसलाको पूर्णपाठमा उल्लेख छ ।
बोगटीका परिवार र आफन्तले जिल्ला अदालतको चित्त नबुझ्दो फैसलालाई उच्च अदालतको बागलुङ इजलासले सच्चाएको र फैसलाबाट न्यायको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । बेनीमा फेन्सी ब्यवसाय गर्ने ४० वर्षीय बोगटी २०७९ चैत ३० गते बिहान बेनी–बाग्लुङ सडकअन्तर्गत खबराको हुलाके डाँडास्थित भिरमा मृत अवस्थामा फेला गर्नुभएको थियो । बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले २०८० वैशाख १ गते नै जिसीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
छिमेकी रहेका बोगटी र जिसी चैत ३० गते बोगटीको मोटरसाइकलमा रत्नेचौरमा पुगेका थिए । त्यहाँ मदिरा सेवनगरी मोटरसाइकलमा राती फर्केका बोगटी र जिसी मध्य राति १२ बजे बेनीमा जिसी एक्लै मोटरसाइकल लिएर आई बोगटीको पसलबाहिर पार्किङ गरी हिँडेको रत्नेचौर र बेनीमा भएको सीसीटीभीमा देखिएको थियो ।
रत्नेचौरको एक होटलमा रहेको सीसीटिभी फुटेज, रत्नेचौर–बेनीको सडक दूरी र समयावधि तथा बेनीको नगरपालिका अगाडि रहेको सीसी क्यामेरा फुटेजको पनि सहयोगमा प्रहरीले अनुसन्धान गरेको थियो । २०८० वैशाख २७ गते तत्कालीन जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशअनुसार जिसीलाई पूर्पक्षमा राखी अनुसन्धान गर्न कारागार चलान गरिएको थियो ।