नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले पर्यटन प्रवर्द्धनका लागि बेनी नगरपालिका-५ पुलाचौर पछैमा घुम्ती बैठक गरी ११ बुँदे घोषणापत्र जारी गरेको छ । पत्रकार महांघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता तथा बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यतामा भएको पर्यटन प्रवद्र्धन तथा घुम्ती बैठकबाट जारी घोषणा पत्रमा पर्यटनकालागि महत्वपूर्ण बुदाहरु उल्लेख छन् । पौराणिक महत्व बोकेका गलेश्वरधान–कपिलाश्रम–गुफाडाँडा–पुल–धन–दौलार दरबार–जगन्नाथधाम–डढेकोत क्षेत्र हुँदै सिद्धआश्रम–टोड्के क्षेत्रलाई प्राचीन धार्मिक करिडोर क्षेत्रको रुपमा विकास गर्नका लागि माग गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका क्षेत्रको पुलाचौरमा रहेको प्रसिद्ध पौलस्त्य पुलहाश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको क्षेत्रका रूपमा विकास गर्नको लागि जिल्लास्थित विभिन्न सरोकारवालाहरुको ध्यानाकार्ण गराउने निर्णय भएको छ । त्यसतै पुलाचौरको चनौटेदेखि पुलहाश्रम मन्दिर परिसरसम्म पुग्ने सडकको तत्काल स्तरोन्नति गरी आवतजावतलाई सहज बनाउनन पर्ने निक्र्यौल बैठकले निकालेको पत्रकार महासंघका सचिव ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।
बेनीबजारस्थित हुलाकेचोकदेखि अर्थङ्गेको ऑपारुखसम्म निर्माणाधीन अवस्थामा रहेको पर्यटन पदमार्गलाई चालु आर्थिक वर्षदेखि नै बजेटको स्रोत सुनिश्चितता गरी पुलहाश्रमसम्म जोड्नु पर्ने निचोड निकालिएको छ । पुलहाश्रम–घतानकोत ढोलठान दरबार हुँदै पर्यटकीय क्षेत्र केभहिल–जगन्नाथधान र डढेकोत दरवार क्षेत्रलाई पर्यटन पदयात्राको मार्गका रुपले विकास गर्न सरोकारवालाको ध्यानाकर्षण गराउन पर्ने निर्णय भएको महासंघका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
धार्मिक तथा पर्यटकीय क्षेत्र पुलाचौर तथा पुलाडाँडाको पर्यटन प्रवद्र्धन गर्नका लागि स्थानीय स्तरमा होमस्टे (घरबास) कार्यक्रम लागू गरी सञ्चालन गर्न सम्बन्धीत निकाय सँग माग गरिनु पर्ने समेत महासंघको निश्कर्ष रहेको छ ।
धार्मिक क्षेत्र पौलस्त्य पुलहाश्रम तथा रावणपार्क क्षेत्रको आवश्यक प्रचारप्रसार गरी स्वदेश तथा विदेशबाट समेत धार्मिक पर्यटकहरुको आवागमन बढाउनको लागि स्थानीयस्तरवाट समेत उचित पहल गर्ने माग गर्ने महासंघले जनाएको छ ।
पौलस्त्य पुलहाश्रम क्षेत्रमा आवश्यक पर्ने सबै खालका संरचनाहरु निमाण गरी पर्यटन प्रदान गर्न धेरैभन्दा धेरै कार्यक्रमहरु आयोजना गर्न पर्ने देखिएको बताइएको छ । ऐतिहासिक रावणपार्क निर्माण अन्तिम चरणमा पुगेको सन्दर्भमा पौलस्त्य र विश्रवा ऋषिको समेत मूर्ति स्थापना गर्ने र धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको विकास तथा प्रवद्र्धन गर्नका लागि ती स्थानसम्म पुग्ने सडकको स्तरोन्नति साथै पैदलमार्ग निर्माण गर्नु पर्ने बताइएको छ ।
