अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङको आगामी भदौ १५ र १६ गतेका लागि जिल्ला अधिवेशन तोकेर तयारी थालेको भए पनि बिबाद सतहमा देखिएको छ । जिल्ला अध्यक्षले कार्यकाल नसकिदै बिदेश गए पछि बिधान बमोजिम मनोनीत भएका अध्यक्षले थालेको अधिवेशन नै अब हुने नहुने टुंगो देखिदैन । जिल्लामा एउटा कमिटी हुदाहुदै केन्द्रले जिल्ला संयोजक तथा सहसंयोजक तोकेपछि बिबाद बाहिर निस्केको हो ।

नेकपा एमाले बागलुङकी जिल्ला कमिटी सदस्य तथा बिद्यार्थी फाँट इन्चार्ज तथा धौलागिरी बहुमुखी क्याम्पसकी स्ववियु सभापति आश्मिन शेखले साउन १४ गते सामाजिक सञ्जालमा स्टाटस लेख्दै केही संकेत गरे जस्तो देखिएको थियो । शेखले संगठनले ”विधान छोड्यो भने त्यो भीड मात्र हुन्छ । विधानमा आधारित राजनीति बनाऔं विधान पुस्तकमा मात्रै पढ्ने हो कि जीवनमा पनि लागु गर्ने हो? सोच्ने बेला आएको छ।। व्यक्ति होइन सिद्धान्त बलियो बनाऔं, राजनीतिलाई स्वच्छ राखौ।” भन्ने स्टाटस लेख्नु भएको थियो । उहाँले लेखे लगत्तै नै अनेरास्ववियुको केन्द्रबाट इन्चार्ज मोहनबिक्रम पौडेल संयोजक घनश्याम कँडेल र सहसंयोजकमा बिकल्प घर्ती मगरलाइ तोकेको सर्कुलर सार्वजनिक भएको थियो । सर्कुलर सहित शेखले नै शुभकामना पनि सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।

केन्द्रिय सर्कुलर आए सँगै बागलुङमा रहेको अनेरास्ववियुको जिल्ला कमिटीका अध्यक्ष र सचिवले संयुक्त रुपमा बिज्ञप्ती प्रकाशन गरेर केन्द्रको बिरोध जनाएका छन् । जिल्ला अध्यक्ष मनिष कँडेल र सचिव सुगम खड्काले हस्ताक्षर गरेको बिज्ञप्तीमा नेपाली विद्यार्थीको आन्दोलनको नेतृत्व गरिरहेको देशकै सार्वधिक शक्तिशाली र लोकप्रिय विद्यार्थी संगठन अनेरास्ववियु, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र रुपान्तरणको आन्दोलनमा अग्रमोर्चामा रही निरन्तर रुपमा विद्यार्थीहरुको बिचमा क्रियाशील रहेको संगठन रहेको उल्लेख छ । अनेरास्ववियुले आफ्नो स्थापना कालदेखि नै राष्ट्रिय स्वाधिनता सिमा सुरक्षा, वैदेशिक हस्तक्षेप लगायत राष्ट्रहित विपरित हुने सबै खाले गतिविधिको विरोध गर्दै आएको सर्वविदितै छ ।

विज्ञप्तिमा अनेरास्ववियु विधान २०७९ को भाग ११, बुँदा ३१ (ड) अनुसार अनेरास्ववियु जिल्ला कमिटी बागलुङ वैधानिक रूपमा गठन भई क्रियाशील रूपमा कार्यरत रहेकोले नयाँ नेतृत्व चयनका लागि अधिवेशन मिति निर्धारण गर्दै तयारी प्रक्रियामा अघि बढिरहेको संवेदनशील अवस्थामा अनेरास्ववियु केन्द्रीय कमिटीले फरक उम्मेदवारलाई मत दिएको भन्दै आधिकारिक कमिटीलाई बायस गरी, कारबाहीमा परेका सदस्यलाई मध्यरातमा बिना कुनै छलफल ‘कथित जिल्ला संयोजक तथा सह-संयोजक’ घोषणा गर्नु अत्यन्तै आपत्तिजनक कार्य भएको आरोप लगाइएको छ । यो कार्य अराजकता, जालसाजी र सत्ताको दम्भको चरम उदाहरण हो, जसले संगठनात्मक शिष्टाचार र विधानको उल्लंघन गरेको छ। अनेरास्ववियु जिल्ला कमिटी बागलुङ यस प्रकारका गैरजिम्मेवार र गैरवैधानिक कार्यको घोर भर्त्सना गर्दै सो निर्णयलाई पूर्णरूपमा अस्वीकार गर्दछ भन्ने उल्लेख छ।

अध्यक्ष मनिष कँडेलले अनेरास्ववियु नेपालको इतिहासमा विद्यार्थी आन्दोलनको अग्रणी संगठन रहेको बताउँदै लोकतन्त्र, न्याय, समानता र संगठनात्मक अनुशासन यसको मूल आधार रहेको बताउनुभयो । उहाँले भन्नुभयो अहिले बागलुङ जिल्लामा केन्द्रीय तहबाट गरिएको एकतर्फी र विधानविपरीत हस्तक्षेपले अखिलको यिनै मूल्य–मान्यतामा गम्भीर प्रश्न उठाएको छ।

हालै सम्पन्न भएको अखिलको केन्द्रीय महाधिवेशनमा फरक विचार राख्ने, छुट्टै प्यानललाई समर्थन गर्ने कार्यकर्तामाथि दण्डको शैलीमा व्यवहार गर्दै, विधानको खारेजी प्रक्रिया पनि बेवास्ता गर्दै जिम्मेवारी खोस्नु लोकतान्त्रिक मूल्य र संगठनात्मक अनुशासनको घोर उपहास भएको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो म स्वयं निर्वाचित नभई, विधानबमोजिमको निर्णयबाट मनोनित पदाधिकारी हुँ । विधानले निर्वाचित पदाधिकारीको खारेजी प्रक्रिया मात्र स्पष्ट रूपमा व्याख्या गरेको छ। यस्तो अवस्थामा मलाई संगठनबाट हटाउनु संविधान र संगठनको आत्माको विरुद्धमा गरिएको कार्य रहेको उहाँको दावी छ ।

बागलुङमा अनेरास्ववियुको संगठन निर्माणमा लामो समयदेखि लागिरहनुभएका समर्पित कार्यकर्ताहरूलाई बाईपास गरीएको कँडेलको आरोप छ । उहाँले भन्नुभयो अहिले संगठनमा विचार, योगदान र संघर्षको सम्मानमा टेकेर अघि बढ्नु पर्छ। हामीले भदौ १५–१६ गते जिल्लास्तरीय अधिवेशनको मिति तोकिसकेका छौँ। सो अधिवेशन संगठनको पुनःस्थापना, विधि र लोकतान्त्रिक अभ्यासको पुनरजागरणको अवसर हुनेछ। अधिवेशनले संगठनभित्र लोकतन्त्र, पारदर्शिता र विधिपालना कति आवश्यक छ भन्ने कुरा पुनः पुष्टि गर्नेछ।

आज आवश्यकता छ – अनेरास्ववियुलाई सत्ता र प्रभावको खेल होइन, विधिको संगठन बनाउन। विधानभन्दा माथि कोही हुँदैन, न पदाधिकारी नै नेतृत्व। संगठन चलाउने आधार वैचारिक स्पष्टता, लोकतान्त्रिक पद्धति र योगदानको सम्मान हुनुपर्छ।उहाँले भन्नुभयो हाम्रो विश्वास छ, संगठनमा फेरि विचार, विधि र इमानदार संघर्षको सम्मान स्थापित हुनेछ। त्यो यात्राको सुरुवात यही अधिवेशनबाट हुनेछ।
यता नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुकी इन्चार्ज आश्मिन शेखले बिबाद कृतिम भएको जस्तो लाग्ने बताउनु भयो । उहाँले बिबाद समाधानका लागि आफूले प्रयास गरी रहेको र बिबाद चाँडै साम्य हुने धारणा राख्नुभयो ।
