म्याग्दी नेपाल साप्ताहिक
आम्दानीका लागि धेरै उपायहरु लगाउने गरिन्छ । व्यवसाय गर्न र आर्थिक उपार्जनका लागि धेरै टाढा पुग्नु पर्ने तथा घर देखि टाढा जाखिरै खान जान पर्दैन भन्ने देखाइदिएको छ बेनी नगरपालिका–४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले । सहकारीको अगुवाइमा कृषकहरुको दूध संकलन तथा विक्री हुने हुँदा कृषकले आर्थिक उपार्जनका लागि टाढा जान पर्छ भन्ने मान्यतालाई पनि गलत सावित गरिदिएको छ । सहकारीले गत आर्थिक वर्षमा कृषकबाट संकलन गरेर करिबललाख लिटर दूध विक्री गरेको छ ।
गत आर्थिक वर्षमा शुभकामना कृषि सहकारी संस्था लिमिटेडको ७८ जना शेयर सदस्य कृषकहरुबाट एक लाख लिटर भन्दा बढी दूध संकलन गरेर विक्री गरेको हो । आर्थिक वर्ष २०८०÷०८१ मा कुल एक लाख तीन हजार नौ सय ७५ लिटर दूध विक्री गरेको सहकारीले गत आर्थिक वर्षमा पनि सोही परिणाममा बिक्री गरेको हो । आर्थिक वर्ष २०८०÷०८१ मा ७२ जना कृषकहरुबाट दूध संकलन गरेर विक्री गरेको थियो ।
सहकारीले हरेक दिन बिहान र बेलुका संस्थाको कार्यालयमै दूध संकलन गर्ने र बेनी नगरपालिका–४ सिंगा तथा बेनी नगरपालिका–७ र ८ बेनी बजारका साथै जलजला गाउँपालिका–३ पर्वत बेनी सम्ममा विक्री बितरण गर्दै आएको सहकारीका दूधको बजार व्यवस्थापक बिजुन चोखालको भनाइ छ । विहान ५ बजे देखि नै सिंगामा दूध संकलन गरेर साढे ८ बजे भित्र दूध नागरिकको भान्सा सम्म पु¥याउने प्रयास गरिरहेको उहाँको भनाई छ । हाम्रो दूधको गुणस्तर राम्रो भएको हुनाले बजारमा माग धेरै छ तर माग अनुसारको पु¥याउन सकिएको छैन ।
सहकारीमा चालु आर्थिक वर्षमा काशीनाथ पौडेल, गिता खत्री, नर्मता पौडेल, कोपिलाल पौडेल तथा रेखा थापाले धेरै दूध ल्याउने गर्नुहुन्छ । अघिल्लो आर्थिक वर्षमा कासीनाथ पौडेलले तीन हजार आठ सय ६४ लिटर दूध सहकारीमा ल्याउनु भएको थियो भने चालु आर्थिक वर्ष पनि उहाँले अरु कृषक भन्दा अधिक दूध दूध सहकारीलाई विक्री गर्नुभएको छ ।
कोपिलाल पौडेल दूग्ध संयोजकको रुपमा सहकारीको दूध व्यवस्थापनको काम हेर्न थाले पछि कृषकहरुलाई आवश्यक पर्ने गाई तथा भैसी खरिदका लागि सहकारीले नै ऋण दिने समेत गरेको छ । नर्मता पौडेलले आफू लगायतका कृषकहरुलाई गाइभैसी व्यवस्था गर्नुका साथै खरिदका लागि आवश्यक पर्ने ऋण व्यवस्थापनमा समेत कोपिलाल पौडेलकै अगुवाइमा सहकारीले गरेका जानकारी दिनुभयो । आफूसँग भएका छ वटा भैसीहरु खरिद गर्दा पनि सहकारीबाट ऋण लिएर काम गर्दा सहज भएको उहाँको भनाई छ ।
शुभकामना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्दप्रसाद पौडेल ३२ जना कृषकले सहकारीबाट गाइभैसी खरिदका लागि ४२ लाख भन्दा ऋण लगेको बताउनुहुन्छ । साना किसान बैंक मार्फत अनुदानमा ल्याएको रकम ९ प्रतिशत र सहकारीको आफ्नो रकम १२ प्रतिशत सम्म ब्याजदरमा लगानी गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
सहकारीमा दूधको खाता खोलेर नियमित रुपमा दूध ल्याउने कृषकलाई सहकारीले उनीहरुको खाता भएको रेकर्ड अनुसार पैसा पनि खातामै जम्मा गरिदिने गरेको सहकारीका अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । कृषकहरुले पालेका गाइभैसीको दूध संकलन गर्दा पैसा चलायमान हुने र कृषकहरु पनि आम्दानी सँग जोडिने भएकाले पनि दूग्ध संकलन तथा बिक्रीको काम सहकारीले गर्ने गरेको उहाँको भनाई छ ।
पछिल्लो ३० वर्ष देखि बेनी बजारमा डेरी व्यवसाय सञ्चालन गर्दै आउनु भएका कोषानन्द आचार्यले शुभकामनाको दूध गुणस्तरीय भए पनि मागे जति नदिएको गुनासो गर्नुभयो । बेनीमा पाउने मध्ये सरदर हेर्दा शुभकामनाले दिने दूधको गुणस्तर राम्रो छ र थप माग गर्ने गरेको भए पनि उनीहरुले माग अनुसार पु¥याउन सकेका छैनन् ।
सहकारीले आर्थिक वर्ष २०७९÷८० मा ५६ हजार आठ सय चार लिटर दूध संकलन गरेर विक्री गरेको थियो । त्यस्तै ०७८÷७९ मा ४४ हजार नौ सय २० र ०७६÷७८ मा ५० हजार ९३ लिटर दूध विक्री गरेको दूग्ध संकलन व्यवस्थापनका कर्मचारी डण्डपाणी पौडेलले जानकारी दिनुभयो ।
