पवित्र तिर्थस्थल गलेश्वर शिवालय मन्दिरमा गत आर्थिक वर्षमा झण्डै एक करोड रुपैयाँ भक्तजनहरुबाट संकलन भएको छ । गलेश्वर मन्दिरमा भक्तजनले चडाएको भेटी रकम मात्रै झण्डै एक करोड संकलन भएको हो ।
मन्दिरमा २०८१ साउन १ देखि २०८२ असार मसान्त सम्ममा ९४ लाख १५ हजार १७ रुपैयाँ ८६ पैसा संकलन भएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँका अनुसार मेलापर्वमा भेटी वापत २६ लाख पाँच हजार छ सय ३७, मण्डपमा चडाएको भेटी ४७ लाख १० हजार दुई सय ९०, यज्ञ दर्ताबाट चार लाख ८३ हजार पाँच सय २७ रुपैयाँ संकलन भएको हो ।
त्यसैगरी गलेश्वरमा रहेको यात्री निवासभाडा वापत सात लाख १९ हजार सात सय १४, सहयोग तीन लाख ४९ हजार ७९ र विविध मेलामहोत्सवमा हुने स्टल भाडा वापत पाँच लाख ४६ हजार सात सय ७० गरी कुल ९४ लाख १५ हजार १७ रुपैंयाँ संकलन भएको कार्यालय सचिव बानियाँको भनाई छ ।
यसै बीच यस वर्षको साउनको पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी गणना गरेर मन्दिरले सार्वजनिक गरेएको छ । सोमबार भक्तजनले चढाएको रकम मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिमा मन्दिर परिसरमा गणनागरी सार्वजनिक गरिएको हो । मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको तीन लाख ९४ हजार आठ सय २७ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
कोषका पदाधीकारी, जनप्रतिनिधी, सुरक्षाकर्मी र स्थानीयबासीहरुको उपस्थितिमा गनिएको भेटी रकम गणना गरेर बेनी स्थीत गरिमा विकास बैंकमा जम्मा गर्न पठाएको अध्यक्ष रेग्मीले बताउनुभयो । साउन महिनाको धार्मिक मेलालाई ब्यवस्थित बनाउन विभिन्न २३ वटा उपसमिति गठन गरेर परिचनालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनु भयो ।
यसैबीच सोमबार दर्शनका लागि आएका भक्तजनहरुले चडाएको फूलप्रसादको फोहोरलाई नेपाली सेनाको गुरु गोरख गुल्म तथा सशस्त्र प्रहरीको गलेश्वर आश्रित गुल्मबाट खटिएका सुरक्षकर्मीहरुले सरसफाइ गरेका थिए ।
