रघुगंगा गाउँपालिका ४ दग्नाममा २०६० कार्तिक ७ गते राती धनराम तिलिजाको धारीलो हतियार प्रहार गरी हत्या गरेर फरार रहेका रघुगंगा गाउँपालिका ४ का के बहादुर पुर्जालाई २२ वर्ष पछि प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) सागर पौडेलका अनुसार ०६० कार्तिक ६ गते धनरामको हत्या भएपछि जिल्ला अदालत म्याग्दीले २०६८ जेठ २ गते केबहादुरलाइ २० वर्ष कैद फैसला गरेको थियो । जिल्ला अदालतको फैसला पछि पनि लामो समय सम्म फरार रहेका व्यक्तिलाई दग्नामबाट गिरफ्तार गरी कैद भुक्तानीका लागि जिल्ला अदालत म्याग्दीमा बुझाएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले गत आर्थिक वर्षमा १८ फरार अभियुक्तलाई गिरफ्तार गरी ६१ वर्ष १६ दिन कैद भुक्तानिका लागि अदालत बुझाएको थियो । विभिन्न मुद्दाहरुमा अदालतबाट दोषी प्रमाणित भएर पनि कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरुलाइ आर्थिक वर्ष २०८१÷०८२ मा गिरफ्तार गरी अदालत पेश गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी पौडेलको भनाइ छ । त्यस्तै प्रहरीले आर्थिक वर्ष २०८०/०८१ मा २६ जनालाई गिरफ्तार गरी २७ वर्ष ११ महिना ८ दिन कैद र ८४ लाख ९७ हजार नौ सय ८४ जरिवाना असुलीका लागि अदालत बुझाएको थियो ।
