अमृत बास्कुने
बेनी नगरपालिकामा चालु आर्थिक वर्षको अन्तिम सम्मको अवस्था हेर्ने हो भने पनि सुसासन र नागरिक उत्तरदायित्वका हिसाबले नगरले भए गरेका कामहरु सन्तोषजनक छन् । कतिपय प्रसंगहरुमा नगरप्रति नागरिकको गुनासोहरु आउन सक्लान् तर गुनासा मात्र भन्दा पनि भए गरेका सुधार र गर्न सक्ने कार्यहरु भने उत्कृष्ट मान्न सकिन्छ । राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोगको नतिजा हेर्दा पनि बेनी नगरपालिकाको अवस्थालाई एक हद सम्म मुल्यांकन गर्न सकिन्छ ।
राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको सूची अनुसार बेनी नगरपालिका देशै भरीमा दोश्रो र गण्डकी प्रदेश क्षेत्र भित्रको अवस्था हेर्ने हो भने पहिलो भएको थियो । अघिल्लो वर्ष देशभरको अवस्था हेर्दा ११ औं स्थानमा आएको नगरपालिका यो वर्ष दोश्रोमा आउनु नागरिकको काम गर्ने र सुसासनका हिसाबले पनि सुधारात्मक हो भन्ने मान्न सकिन्छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यस वर्ष वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार दोश्रो स्थानमा पर्नका लागि सबै क्षेत्रबाट भरमग्दुर प्रयास हुनुका साथै वित्तीय अवस्थामा पनि भएको मेहनतको कारण नै हो ।
बित्त आयोगको मुल्यांकन हेर्ने हो भने पनि उसले सार्वजनिक गर्ने र गरेका सूचकले पनि नगरलाई आफू चुस्त हुन निकै सहयोग गर्छ । आर्थिक वर्षको शुरुआत हुनुभन्दा अगाडी नै बजेट निर्माण, सामाजिक क्षेत्रमा कस्तो काम गरेको छ भन्नेले पनि वित्त आयोगको सूचक निर्धारण हुन्छ । बजेट निर्माण तथा राजश्वको श्रोत पहिचान एवम् राजश्व असुलीमा पनि नगरले चुस्तता अपनाएको छ ।
प्रकृतिक श्रोत तथा बित्त आयोगले संघ सरकारले प्रदान गर्ने अनुदान वितरण मापदण्डका लागि पनि देशभरका पालिकाको बरियताक्रम निर्धारण गर्ने भएकाले बेनी नगरपालिकाको बरियताले काम र शुसासनको सन्दर्भमा धेरै कुरा बोलेको हुन्छ नै । माथिबाटै कार्यसम्पादन मुल्यांकन हेरेर बरियताक्रम सार्वजनिक भएको अवस्थामा यहाँको अवस्थसाका बारेमा चर्चा गर्नु कति सम्म सही हुन सक्छ भन्ने सन्दर्भ फरक हुन सक्ला तर अघिल्लो वर्ष देशभरमा ११ औं स्थानमा आएको नगरपालिकाले यो वर्ष दोश्रो स्थान हासिल गर्नु सामान्य भने होइन ।
बित्त आयोगले गर्ने कार्यसम्पादन मुल्यांकन बेरुजुको आधारमा पनि हेरिन्छ भने अन्य धेरै सुचकहरुका आधारमा यो तय हुने हो । यसका लागि नगरपालिकाले प्रयास गरेको छ र नतिजा पनि निकालेको छ । भौतिक पूर्वाधारका लागि छुट्टयाएको बजेटको खर्च अवस्था सन्तोषजनक हुनु पनि नगरपालिकाको सकारात्मक पाटो हो ।
बेनी नगरपालिकाको कुल जनसंख्यालाई नियालेर हेर्ने हो भने करिब ४० प्रतिशत हाराहारी कृषि क्षेत्रमा आवद्ध रहेको मान्न सकिन्छ । त्यसैगरी सेवा क्षेत्रमा पनि उल्लेख्य जनशक्तिहरु सक्रिय रहेका छन् । शिक्षा, स्वास्थ्य तथा प्रशासन क्षेत्रमा बेनीका जनसक्तिहरु सक्रिय छन् । बेनी नगरक्षेत्रमा रहेको अधिकांश पसल तथा व्यवसायमा धेरै नगरकै बासिन्दा छन् भने न्यून मात्रमा अन्यत्रका बासिन्दाहरुको सहभागिता रहेको छ । बेनी नगरपालिकाबाट रोजगारीका लागि मलेशिया, जापान, कोरिया, अस्ट्रेलिया, अमेरिका तथा यूरोपका मुलुकमा पनि युवाहरु पुगेका छन् ।
नगरपालिकामा उपप्रमुख महिला र वडा समितिमा महिला सदस्यहरु रहेको छन् । कुनै पनि निर्वाचित पदको अध्यक्षमा महिला नगरपालिका भित्र देखिदैन । वडा अध्यक्ष तथा प्रमुखमा पुरुष नै रहेको हुनाले अन्यत्र पनि अवस्थालाई मुल्यांकन गर्दा त्यस्तै मान्न सकिने आधारहरु छन् । महिलाहरुको सक्रियता अहिलेको अवस्थामा बेनी नगरपालिका भित्रका क्षेत्रहरुमा हेर्दा आमा समूह, सहकारीहरू तथा माइक्रोफाइनान्सका समूहमा बढी देखिएको छ । कुनै पनि क्लब तथा अन्य संस्थाहरुको पहिलो पद अर्थात् अध्यक्षमा महिलाको उपस्थिति नगरपालिकामा नगन्य नै छ ।
सिपयुक्त जनशक्ति तर्फ हेर्दा पनि पुरुषहरुकै संख्या बढी र महिलाहरुको संख्या न्यून देखिन्छ । मजदुरीको क्षेत्रमा पनि महिलाहरुको संख्या कम हुनु जनशक्तिको परिचालनमा केही कमजोरी भयो वा कही केही ग्याप भएको हो कि भन्ने तर्फ सोच्न पर्ने अवस्था सृजना गराएको छ । सिटिइभिटिबाट मान्यता प्राप्त इलेक्ट्रिसियन, प्लम्बिङ, टेलरिङ, निर्माण, होटल व्यवस्थापनजस्ता सीपहरूमा तालिम प्राप्त युवाहरूमा टेलरीङ भन्दा अरुमा सिपयुक्त महिला सहभागिता सुन्य प्राय देखिन्छ । स्थानीय गैरसरकारी संस्थाहरूको माध्यमबाट पनि विभिन्न सीप विकास तालिमहरू प्रदान हुने गरेको भए पनि महिलाहरुले सिप सिकेर आएको देख्न भने कठि नै छ ।
पूर्वाधार तर्फको अवस्थामा बेनी नगरपालिकाको सबै वडाहरुमा ग्रामिण सडक पुगेको भए पनि स्तरोन्नती हुन भने बाँकी छ । बेनी पाखापानी सडकको काम तिब्रता भए पनि अन्य सडकहरुको सुधार र स्तरोन्नतीका लागि प्रयास गर्नु पर्ने देखिन्छ । बेनी बजार रिङरोड बनाउनका लागि बेनी कालीपुल देखि जिल्ला प्रहरी कार्यालय सम्मको नदि किनारमा ढलान सडक निर्माण भएको भए पनि त्यसलाई सुरक्षित बनाउन बाँकी छ ।
म्याग्दीमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त म्याग्दी बहुमुखी क्याम्पस रहेको छ । त्यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको अध्ययन गर्न सकिने अवस्था छ । नगरपालिका भित्रका अन्य माध्यमिक विद्यालयहरुमा कृषि, व्यवस्थापन, शिक्षा, मानविकी तथा इन्जिनियरिङका विषयहरू पढाइ हुदै आएको छ ।
बेनी नगरपालिका ८ मा रहेको बेनी अस्पताल ५० शैया क्षमताको छ भने त्यसमा धेरै सुविधाहरु भने छ । अस्पतालमा आकस्मिक सेवा २४ घण्टा तथा फार्मेसी तथा प्रयोगशाला पनि रहेको छ । साथै नगरपालिका क्षेत्र भित्र दर्जनौं निजी स्वास्थ्य सेवाप्रदाता उपलब्ध रहेका छन् ।
बेनी नगरपालिका कार्यालयले आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्ने सेवाहरुलाई चुस्तता दिनका लागि एक सय ४७ जना कर्मचारीहरु स्थायी तथा करार एवम् अस्थायी व्यवस्था गरेको छ । नगरपालिका भित्र रहेका योजना शाखा, प्राविधिक शाखा, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास शाखा, आर्थिक प्रशासन शाखा जस्ता शाखाहरुले पनि नगर र जनताको हितका लागि काम गरी रहेका छ् ।
बेनी नगरपालिकाले जनशक्ति विकास तथा नगरको दिगोपनका लागि योजनागत पूर्वाधार विकासको खातिर सडक स्तरोन्नति, स्वास्थ्य भवन सुधार, शिक्षा गुणस्तर सुधारलगायतको क्षेत्रमा विशेष तवरले योजना तर्जुमा गर्ने गरेको छ । त्यसैगरी पर्यटकीय पूर्वाधार तर्फ रामायण पार्क, तातोपानी कुण्ड, गलेश्वरधाम, बेनीबजार सौन्दर्यकरण जस्ता योजना पनि लिएर आउनु पर्ने नै हुन्छ ।
मानवविकास र नगरको जनशक्तिको हिसाबले हेर्दा जिल्लाका अन्य पालिकाहरु भन्दा राम्रो देखिएपनि अझै पनि धेरै सुधार गर्नु पर्ने नै छन् । हामीले सोचेको भन्दा पनि नगरले गर्नु पर्ने भनेर जनताले सोचेका कामहरु पनि धेरै हुन बाँकी नै छन् । त्यसका लागि नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा विशेषज्ञ चिकित्सक अभाव, उपकरण पुराना, वर्षात्को समयमा हुने सडक अवरुद्ध, पहिरो जोखिम जस्ता समस्यालाई कम गर्नु पर्दछ । त्यसैगरी सरकारी विद्यालयमा विद्यार्थीको घट्दो दरलाई कसरी व्यवस्थापन गर्ने भन्ने तर्फ पनि दिगो योजना बनाएर अगाडी बढ्नु आवश्यक छ । देशैभरको समस्या भनेर पन्छिने भन्दा पनि बेरोजगारी तथा रोजगारीका लागि भन्दै वैदेशिक पलायन बढ्दो रहेको अवस्थालाई न्यूनिकरण र युवा तथा आम नागरिकलाई आफ्नो पालिका भित्रै स्वरोजगार बन्दै रोक्नु पनि आवश्यक छ ।
बेनी नगरपालिका क्षेत्र भित्र आठ हजार छ सय ५२ कुल घरधुरीमा ३२ हजार छ सय ९७ जनाको बसोबास रहेको पछिल्लो जनगणनाले देखाउँछ । १५ हजार तीन सय ६१ पुरुष रहेको बेनी नगरपालिकामा १७ हजार तीन सय ३७ महिला रहेका छन् । ७६.२५ वर्ग किलोमिटर बेनी नगरपालिकाको कुल क्षेत्रफल रहेको छ । २०७१ बैशाख २५ गते नेपाल सरकारले घोषणा गरेको भए पनि बेनी नगरपालिकाको औपचारीक स्थापना भने २०७१ जेठ ९ गते भएको थियो ।
बेनी नगरपालिकाको संगठानात्मक संरचना हेर्दा नगरसभाको मातहतमा रहने गरी लेखा समिति, विधायक समिति, सुशासन समिति रहने व्यवस्था छ । त्यस्तै नगर कार्यपालिकाको मातहतमा आर्थिक विकास, सामाजिक विकास र पूर्वाधार विकास समितिको व्यवस्था गरीएको छ । नगर प्रमुख तथा उपप्रमुखका सचिवालय र उपप्रमुख संयोजक हुने गरी स्थानीय न्यायीक समिति । उपसचिव स्तरको प्रमुख प्रशासकिय अधिकृत रहने बेनी नगरपालिकामा प्रशासन, सहरी योजना तथा पूर्वाधार विकास शाखा, सामाजिक विकास शाखा, आर्थिक विकाश शाखा, शिक्षा तथा खेलकुद विकास शाखा, आर्थिक प्रशासन शाखा संरचनागत रुपमा रहेका छन् ।
जनताको सेवाका लागि व्यवस्था गरीएका हरेक शाखाका आवश्यकता अनुसार उपशाखाहरु रहने व्यवस्था अनुरुप नै प्रशासन शाखा मातहतमा सामान्य प्रशासन उपशाखा, कानुन तथा फैसला कार्यान्वयन उपशाखा, जिन्सी उपशाखा, सूचना प्रविधि तथा प्रकाशन उपशाखा तथा वडा कार्यालयहरु रहेका छन् ।
नगरपालिकाको भौतिक संरचना तथा पूर्वाधार सँगै नगरको जनशक्ति र नगर क्षेत्रको जनशक्तिलाई सन्तुलीत राख्नका लागि नयाँ जन्मदर बढाउने, विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा अध्ययन गर्न लालयित बनाउने जस्ता कार्य नगरले गर्नु पर्छ ।
