अमृत बास्कुने
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम रहेको बेनी नगरपालिका भौगोलिक हिसाबले निकै महत्वपूर्ण अनि सुन्दर तथा आकर्षक क्षेत्र हो । बेनी नगरपालिकाको पूर्व–कालीगण्डकी नदी, पश्चिममा मंगला गाउपालिका, उत्तरमा रघुगंगा गाउपालिका, दक्षिणमा बागलुङ नगरपालिकाका सँग सिमाना जोडिएको छ । सामान्यतया तीन नदीको संगम स्थललाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी नदीको संगम स्थल भएकोले बेणी र त्यही बेणी शब्द कालन्तरमा बेनी नामाकरण भएको जनश्रृति रहेका छ । हुन त धार्मिक मान्यतालाई हेर्ने हो भने जयन्ती, मंगला र कालीको संगम स्थल हो बेन्नी पनि भन्ने गरीन्छ । कालीगण्डकी र म्याग्दी नदीको मिलन भएकै स्थानमा भसभसे हुँदै जयन्ती नदि झरीरहेको मान्यता पनि रहेको छ । ऐतिहासीक पर्वत राज्य सम्बन्धी लिखतहरुले पनि त्यसलाई पुष्टि गर्ने गर्दछन् ।
बेनी नगरपालिका क्षेत्र भित्र कुल घरधुरी संख्या आठ हजार छ सय ५२ तथा जनसंख्या ३२ हजार छ सय ९७ रहेको बेनी नगरपालिकाको तथ्यले देखाउँछ । यसको जनसंख्या महिला पुरुषको अवस्था हेर्दा पुरुष १५ हजार तीन सय ६१ तथा महिला १७ हजार तीन सय ३७ छन् । बेनी नगरपालिकाको कुल क्षेत्रफल ७६.२५ वर्ग किलोमिटर रहेको छ । साविकका रत्नेचौर, ज्यामरुककोट, भकिम्लि, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान, र पात्लेखेत गा.वि.स.हरुलाई समेटेर बेनी नगरपालिका कायम भएको हो । २०७१ बैशाख २५ गते नेपाल सरकारले घोषणा गरेको भए पनि बेनी नगरपालिकाको औपचारीक स्थापना भने २०७१ जेठ ९ गते भएको हो ।
बेनी नगरपालिकाको संगठानात्मक संरचना हेर्दा नगरसभाको मातहतमा रहने गरी लेखा समिति, विधायक समिति, सुशासन समिति रहने व्यवस्था छ । त्यस्तै नगर कार्यपालिकाको मातहतमा आर्थिक विकास, सामाजिक विकास र पूर्वाधार विकास समितिको व्यवस्था गरीएको छ । नगर प्रमुख तथा उपप्रमुखका सचिवालय र उपप्रमुख संयोजक हुने गरी स्थानीय न्यायीक समिति । उपसचिव स्तरको प्रमुख प्रशासकिय अधिकृत रहने बेनी नगरपालिकामा प्रशासन, सहरी योजना तथा पूर्वाधार विकास शाखा, सामाजिक विकास शाखा, आर्थिक विकाश शाखा, शिक्षा तथा खेलकुद विकास शाखा, आर्थिक प्रशासन शाखा संरचनागत रुपमा रहेका छन् ।
जनताको सेवाका लागि व्यवस्था गरीएका हरेक शाखाका आवश्यकता अनुसार उपशाखाहरु रहने व्यवस्था अनुरुप नै प्रशासन शाखा मातहतमा सामान्य प्रशासन उपशाखा, कानुन तथा फैसला कार्यान्वयन उपशाखा, जिन्सी उपशाखा, सूचना प्रविधि तथा प्रकाशन उपशाखा तथा वडा कार्यालयहरु रहेका छन् ।
बेनी नगरपालिकाको १ नम्बर वडामा आफ्नै कार्यालय भवन रहेको छ भने वडा सचिव, प्राविधिक र कार्यालय सहयोगी एवम् एक जना सामााजिक परिचालकले जनताको सेवामा काम गरेको वडा अध्यक्ष टेकबहादुर थापाको भनाई छ । आफ्नै कार्यालय भवन रहेको वडा नम्बर २ मा वडा सचिव, पशु प्राविधिक, प्राविधिक, कार्यालय सहयोगी र सामाजिक परिचालक रहेको वडा अध्यक्ष यामबहादुर क्षत्रीको भनाई छ । त्यसैगरी वडा नम्बर ३ भकिम्लिमा आफ्नै कार्यालय भवनबाट सेवा दिइ रहेको कार्यालयमा सचिव, प्राविधिक र कार्यालय सहयोगी गरी तीन जनाले जनताको सेवामा खट्दै गरेको वडा अध्यक्ष पदम पुनको कथन छ । पहिलो पटक स्वतन्त्र उम्मेदवारका रुपमा विजयी हुनुभएका पुनले दोश्रो कार्यकाल भने राजनैतिक पार्टीबाट विजयी हासील गर्नुभएको हो ।
बेनी नगरपालिकाको ४ नम्बर वडा सिंगामा सचिव, प्राविधिक, कार्यालय सहयोगी र सामाजिक परिचालक रहेका छन् भने कार्यालय भवन पनि आफ्नै रहेको छ । साविकको सिंगा गाविसको भवन नै वडा कार्यालयको रुपमा प्रयोगमा आइ रहेको छ । पाँच वटा सामुदायिक र दुई वटा निजी विद्यालय रहेको सिंगाको सामुदायिक विद्यालय तथा स्वास्थ्य चौकीको पनि आफ्नै भवन रहेको वडा अध्यक्ष अणबहादुर खड्काको भनाइ छ ।
बेनी नगरपालिकाको ५ नम्बर वडा साविकको पुलाचौर गाविस हो । अहिले पनि उक्त गाविसको सबै वडा हालको एउटा वडामा रहेको वडा अध्यक्ष गोविन्द बानियाँको भनाई छ । जनशक्तिका हिसाबले वडामा सचिव, प्राविधिक तथा कार्यालय सहयोगीको आवश्यकता रहने र सोही अनुसार परिपुर्ती भएको छ । टोड्केको धुरी देखि म्याग्दी नदी सम्मको क्षेत्र आफैमा जटिल भुगोल भए पनि वडाले दिने सेवा सुविधाकालागि कुनै पनि प्रकारको कसर बाँकी नराखेको वडा अध्यक्ष बानियाँको भनाई छ । स्वास्थ्य, शिक्षा, खानेपानीकालागि वडाले आफ्नो तबरले भूमिका खेलेको उहाँको भनाई छ । पुरुण्डी जस्तो दुर्गम दलित बस्तीका साथै ऐतिहासीक पर्वत राज्यको राजधानी ढोलठान तथा डढेकोट अनि पुलस्त्य मुलहाश्रम जस्ता धार्मिक तथा पर्यटकीय स्थल रहेको वडामा पर्यटन आगमनकालागि धेरै काम गर्न सकिन्छ ।
वडा नम्बर छ का अध्यक्ष कृष्णसिंह बानियाँका अनुसार वडाले अर्थुङ्गे तथा बेनीबाट पनि जनतालाई सेवा दिँदै आएको छ । वडामा प्राविधिक, सचिव तथा कार्यालय सहयोगी हुँदै गर्दा पनि जनताको सहजताका लागि आफ्नो वडा भन्दा बाहिर बेनी बजारमा पनि कार्यालय राखेरै सेवा दिने काम गरेको अवस्था छ । यो वडामा शहरी स्वास्थ्य केन्द्र रहेको भएतापनि स्वास्थ्य चौकी भने छैन । बेनी नगरपालिकाको ६, ७ र ८ नम्बर वडामा स्वास्थ्य चौकी नहुँदा सर्वसाधारणलाई असहज भने भएको छ ।
सदरमुकाम क्षेत्र पर्ने वडा नम्बर ७ र ८ को कार्यालय पनि बजार क्षेत्रमा रहेको छ । वडाको आफ्नै संरचना रहेको र बेनी बजारमा देखिने गरी काम गर्ने बाध्यताका साथै चुनौती पनि रहेको ७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको भनाई छ । सरकारी कार्यालयहरु अधिकांश आफ्नै क्षेत्रमा रहेको र दुई वटा सामुदायिक माध्यमिक विद्यालय तथा दुई वटा नीजि विद्यालय रहेको हुँदा व्यवस्थापनमा समेत केही चुनौती देखिने उहाँको तर्क छ ।
८ नम्बर वडामा दुई वटा नीजि तथा एक सामुदायिक विद्यालय, एउटा अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्र जस्ता प्रत्यक्ष मानव सम्पर्क हुने कार्यालयहरु रहेको वडा अध्यक्ष उत्तमकुमार कर्मचार्यको भनाई छ । हालको अवस्था हेर्दा जनशक्ती प्रयाप्त जस्तो नदेखिने भए पनि भएकोबाट सकभर धेरै काम गर्ने प्रयास वडाले गरी रहेको उहाँले जानकारी दिनुभयो ।
वडा नम्बर ९ घतानमा आफ्नै भवन तथा सामुदायिक विद्यालयको समेत आफ्नै संरचना रहेको वडा अध्यक्ष चक्रबहादुर केसीले बताउनु हुन्छ । उहाँका अनुसार वडामा आवश्यक नगरपालिकाको तोकिएको जनशक्ति रहेको छ । चर्चित धार्मिक स्थल गलेश्वर धाममा हुने धार्मिक मेला तथा पर्वहरुले पनि वडालाई नै निकै मनमोहक बनाउने गरेको छ । १० नम्बर वडा पात्लेखेतमा सामाजिक परिचालक सचिव र कार्यालय सहयोगीले सेवा दिने गरेका छन् । उनीहरुकै भरमा वडाको काम कार्वाही अगाडी बढ्ने वडा अध्यक्ष मसबीर रोकाको भनाई छ ।
त्यस्तै शहरी योजना तथा पूर्वाधार विकास शाखा अन्तरगत सरसफाइ तथा बिपद् व्यवस्थापन उपशाखा, सामाजिक विकास अन्तरगत सामाजिक सुरक्षा तथा पञ्जीकरण समाज कल्याण उपशाखा, जनस्वास्थ्य उपशाखा अन्तरगतका स्वास्थ्य चौकी र गैरसरकारी संस्थाहरु एवम् सहरी स्वास्थ्य केन्द्रहरुले पनि जनताको काम गर्ने प्रयत्न हरदम गर्ने गरेको देखिन्छ । नगरपालिकाले आफ्नो आर्थिक विकास शाखा मातहत रहने गरी कृषि तथा पशु विकास उपशाखा, पर्यटन उद्योग तथा सहकारी उपशाखाको व्यवस्था गरेको छ । कृषकका पशु तथा कृषि सम्बन्धी समस्या समाधान गर्नुका साथै सहकारीलाई व्यवस्थीत गर्ने र नियमन गर्ने तर्फ पनि यसले भूमिका खेलेको छ । आर्थिक प्रशासन मातहतका राजश्व उपशाखा र आन्तरीक लेखा परीक्षण शाखाले नगरको आर्थिक व्यवस्थापनलाई चुस्त बनाउनका लागि प्रयास गरी रहेका छन् ।
बेनी नगरपालिकाको सबै क्षेत्र तथा शाखाहरुले गर्ने काम कार्वाहीकै आधारमा नगरपालिकाको राष्ट्रिय स्तरमा हुने मुल्याङ्कनमा पनि नतिजाहरु राम्रो आउने गरेको नगरप्रमुख सुरत केसीको भनाई छ । नगरले काम मात्रै नभएर जिम्मेवारी बोधका लागि गरेको प्रयासले नै नतिजा सकारात्मक आउने उहाँको भनाई छ ।
नगरको लागि आवश्यक पर्ने जनशक्ती व्यवस्थापन अहिले पूर्ण रुपमा भएको देखिन्छ । दरवन्दी अनुसारका कर्मचारीहरु नभएको खण्डमा करारबाट पदपुर्ती गर्ने तथा सेवालाई कुनै पनि हालतमा पूर्ण हुने गरी काम गर्ने गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै नगरले दिने सेवाका लागि जनशक्तिले सक्दो प्रयास गरी रहेको र सकभर बिलम्ब नहुने गरी नै सेवा दिने काम भएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माको भनाई छ । जुन संख्यामा जनशक्ति व्यवस्था भएको छ त्यो जनशक्तिले आफ्नो उच्च क्षमता अनुसार काम गर्ने गरेको उहाँको भनाई छ ।
