बिपद्मा हुन सक्ने सम्भावित घटनाहरुका लागि आवश्यक पर्ने सामग्रीहरु जिल्लामा मौजदात रहेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो । जिल्लामा हुन सक्ने बिपद्का लागि आवश्यक पर्ने गरी ग्याभिन जाली, त्रिपाल लगायतका सामग्रीहरु विपद् व्यवस्थापन समिति सँग मौजदात रहेको हुनाले कुनै पनि अन्यौलमा पर्न नपर्ने बताउनु भयो । विपद् भएको खण्डमा निर्माण गर्नु पर्ने अस्थायी घरका लागि आवश्यक पर्ने सामग्रीहरु मौजदात रहेको र कहि कतै घटनाहरु भएको खण्डमा तत्काल जानकारी गराइदिन समेत उहाँले आग्रह गर्नुभयो ।
एक फरक प्रसंगमा उहाँले भन्नुभयो– विपद्को समयमा आफ्नो हैसीयत तथा जिम्मेवारीको बोध गरेर राहत वितरण तथा उद्धारमा खट्न पर्नेमा जोड दिनुभयो । उहाँले मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समिक्षामा मानव अधिकार तथा वातावरणीय अधिकारको क्षेत्र समेट्ने प्रकारले अन्तरक्रिया गरेर इन्सेक म्याग्दीले राम्रो काम गरेको बताउनुभयो ।
मनसुनको समयमा व्यवसायीहरुले जवरजस्ती तबरले जोखिम मोलेर यातायातको साधन नचलाउन समेत उहाँले आग्रह गर्नुभएको थियो । जोखिम मोलेर यातायातको साधन चलाउँदा कुनै भवितव्य तथा दुर्घटना भएमा समस्या हुने भएकाले त्यस्तो जोखिम कसैले पनि नमोल्न समेत उहाँले अनुरोध गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर थापाले प्रहरीले मानव अधिकार रक्षाका लागि काम गरेको बताउँदै कहि कतै कसैले गल्ती गरेको भए कार्वाहीको भागीदार हुने बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका हरिप्रसाद पौडेलले यस वर्ष औषत भन्दा बढी वर्षा हुने भनिएकोले विपद् तर्फ सबै सचेत र सतर्क हुन पर्नेमा जोड दिनुभएको थियो । जिल्ला भित्र तथा बाहिर रहेका पनि सडक आयोजना तथा जलविद्युत आयोजनाहरु सँग समन्वय गरेर बिपद्मा हुने सडक अबरोध खुलाउने तथा सामग्री ढुवानीका लागि आवश्यक सामग्रीहरु तयारी अवस्थामा राख्नु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा अधिवक्ता ठाकुर प्रसाद आचार्य, डण्डापाणी पराजुली, मानव अधिकार संगठनका सभापति कोमलप्रसाद उपाध्याय, महिला मानव अधिकार रक्षक सञ्जालकी विष्णु गौतम लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा इन्सेकले सन २०२५ मा अभिलेख गरेका ८ वटा घटनाको बारेमा इन्सेक प्रतिनिधिले जानकारी गराउनु भएको थियो ।
