अमृत बास्कुने
बेनी नगरपालिका ८ मा रहेको कुमारी सहकारीका अध्यक्ष यामबहादुर रोकालाई प्रहरीले खोजेको गएको २०८१ माघ २० गते देखि हो । कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रोका लगायत २५ जना बिरुद्ध जिल्ला अदालतमा मुद्दा चलि रहेको छ । मंगला गाउँपालिका ३ का वडा अध्यक्ष समेत रहनु भएका रोकालाई प्रहरीको रेकर्ड अनुसार भेट्नै नसकेको भन्ने देखिन्छ । तर उहाँले नै हरेक महिना मंगला गाउँपालिका वडा नं. ३ को लेटर हेडमा वडा सदस्यलाई कार्यवाहक दिँदै मंगला गाउँपालिका, जिल्ला प्रशासन कार्यालय म्याग्दी र मालपोत कार्यालय म्याग्दीलाई पत्राचार गर्ने गर्नुभएको छ ।
अध्यक्ष रोकाले २०८१ को माघ २३ गते लेखेको पत्र मंगला गाउँपालिकामा २३ गते नै १९६० नम्बरमा दर्ता भएको थियो । त्यस्तै फागुन २ गते लेखेको पत्र फागुन ६ गते गाउँपालिकाले आफ्नो दर्ता कितावमा दर्ता गरेको प्रमुख प्रशासकिय अधिकृत गोपाल शर्माले बताउनुभयो । त्यस्तै चैत १ गते, चैत ३१ गते र २०८२ को जेठ १ गते गरी पाँच पटक पत्राचार भएको छ । आफू बाहिर रहन पर्ने भएकोले अध्यक्षले गर्ने कामकाजको अधिकार वडा सदस्य भेषकुमारी पुनलाई जिम्मेवारी तोकेर पत्र थमाइएको छ ।
म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले २०८१ माघ २० गते सहकारीको बचत अपचलन आरोपमा पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेपछि त्यो मुद्दामा जोडिएका र हाल सम्म सम्पर्कमा नआएका सबै सोही दिन देखि नै फरार रहने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘माघ २० गते पाँच जना पक्राउ र त्यस पछि फागुन १५ गते जिल्ला अदालतमा अभियोजन दर्ता भयो, २१ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपछि २५ गते बाँकी १९ जना बिरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ ।’ पक्राउ पुर्जी जारी भएपछि चैत ४ गते यामबहादुर रोकाको घरमा पुर्जी टाँसीएकोले उनी सबैलाई जानकारी भएकै फरार अभियुक्त हुन् उहाँले भन्नुभयो ।
मंगला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल शर्माले इमेलमा पत्र आयो, आएको पत्र प्रिन्ट गरेर दर्ता गरिएको प्रतिकृया दिनुभयो । उहाँ भन्नुहुन्छ–‘कार्यालयमा प्राप्त सबै पत्र दर्ता गर्नु पर्छ र हामीले त्यही गरेका हौं, पत्र प्राप्त भएको रेकर्ड अध्यावधिक त गर्नै पर्छ नि ।’
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर थापाले प्रहरीले खोजी गरी रहेको भए पनि फेला नपरेको बताउनुभयो । उहाँले आफूहरु यामबहादुर रोका मात्रै नभएर कुमारी सहकारीको फरार सूचीमा रहेका १९ जनालाई नै खोजी गरीरहेको भए पनि फेला पार्न नसकेको बताउनुभयो । प्रहरीले खोजी रहेको भए पनि फेला नपरेकोले यसै भन्न नसकिने उहाँको तर्क थियो ।
वडा अध्यक्षको कार्यवाहक पाएकी भेषकुमारी पुनले भने आफूलाइ अध्यक्षले फरकफरक नम्बरबाट फोन गर्ने गरेको बताउनुहुन्छ । कार्यवाहकको पत्र पाउँछु उहाँको फोन आउँछ तर उहाँ कहाँ हुनुहुन्छ थाहा भएन पुनले भन्नुभयो ।
कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकारी ठगी सम्बन्धी मुद्दामा म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले बेनी नगरपालिका १ का राजकुमार थापा सहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । २०८१ फागुन १८ गते आइतबार देखि शुरु भएको बयान तथा २२ गते बुधबार सम्म भएको थुनछेक बहसपछि कुमारी सहकारीका पूर्व उपाध्यक्ष थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रूद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकेस भन्ने लोकबहादुर पुनलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सहकारी रष्टिार कार्यालय पोखराको पत्र अनुसार गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले फागुन ७ गते थप १ जनालाई गिरफ्तार गरेको थियो । प्रहरीले सर्वसाधारण बचतकर्तालाई आह्वान गरेको निवेदन अनुसार ६३६ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए ।
कुल एक अर्ब १३ करोड ३३ लाख ९९ हजार ३० रुपियाँ विगो दावी गर्दै सरकारी वकिल कार्यालय म्याग्दीले गत १५ गते जिल्ला अदालत म्याग्दीमा अभियोजन दर्ता गरेको थियो । (हेर्नुहोस सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दर्ता गरेको अभियोजनपत्र)फरार १९ जना जनालाई पक्राउ पुर्जी जारी गरी पक्राउ भई आएमा वा म्याद नाघेपछि नियम अनुसार पेश गर्न आदालतले आदेश दिएको थियो ।
सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोग पत्र दर्ता गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीले जिल्ला अदालत म्याग्दीमा दर्ता गरेको अभियोजन अनुसार संस्थाका पूर्व सचिव तथा वर्तमान अध्यक्ष यामबहादुर रोका, पूर्व उपाध्यक्ष डकमायाँ पाइजा, पूर्व सहसचिव बालकुमार रोका, पूर्व सदस्य नरबहादुर थापा मगर, गंगाप्रसाद पुन फरार रहको उल्लेख छ । त्यसैगरी पूर्व सदस्य विष्णुकुमारी गुरुङ, लेखा समितिका पूर्व सयोजका भोजबहादुर थापा मगर, पूर्व सदस्य भुलमायाँ तिलिजा, दिलबहादुर थपा, सविता पुन, डिलकुमारी पुर्जा, डिलबहादुर पुन, गनमती शेरपुजा, सिरमती पाइजा, सुर्यलाल पुर्जा मगर, गेमबहादुर घर्ती मगर, दुधकुमारी शेरबुजा, जमुना पुन पुर्जा र नरबहादुर गर्बुजा पुनलाई फरार भन्दै सहकारी ठगी सम्बन्धी कसुरमा अभियोजन गरेको थियो ।
जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले दर्ता गरेको अभियोजनमा २५ जना सबै सँग फरकफरक विगो सहितको माग राखेको छ । राजकुमार थापा बिरुद्ध १७ करोड ५८ लाख ६३ हजार चार सय २६ रुपियाँ ५० पैसा विगो दावी गरिएको छ । त्यस्तै देवीकुमारी थापाई तीन करोड ७१ लाख ४ हजार ६ सय ३१ रुपैंया ९० पैसा, मनप्रसाद थजालीलाई ५ करोड ८२ लाख ६६ हजार ७ रुपैंया ६९ पैसा, थमबहादुर गर्बुजालाई ४ करोड ५५ लाख ९४ हजार २ सय २७ रुपैंया ९३ पैसा विगो दावी गरीएको छ । त्यसैगरी रुद्रबहादुर गुरुङलाई १३ करोड ५९ लाख ४८ हजार ६ सय ९ रुपैंया ७० पैसा, लोकबहादुर पुनलाई २ करोड १० लाख ४६ हजार ४४ रुपैयां ३ पैसा, यामबहादुर रोकालाई ४ करोड ३८ लाख ५६ हजार ६ सय ६१ रुपैंया ५५ पैसा, डकमायाँ पाइजालाइ ३ करोड ८५ लाख १५ हजार ९ सय २० रुपैंया ३३ पैसा विगो दावी गरीएको छ । बालकुमार रोकालाई ७ करोड ४४ लाख ६३ हजार ५ सय ८३ रुपैंयाँ ५४ पैसा, नरबहादुर थापा मगरलाई ३ करोड ७१ लाख ३५ हजार ११ रुपैंया ९८ पैसा, गंगाप्रसाद पुनलाई ३ करोड ७० लाख ६८ हजार ६ सय ३१ रुपैंया ९८ पैसा, भोजबहादुर थापा मगरलाई ५२ लाख ९३ हजार ५ सय ८५ रुपैंयाँ १३ पैसा, विष्णुकुमारी गुरुङलाई ३ करोड ७९ लाख ५८ हजार ३ सय ६१ रुपैंयाँ ८७ पैसा विगो दावी गरेर अदालतमा अभियोजन दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले भुलमायाँ तिलिजाको हकमा ३ करोड ६४ लाख ८४ हजार ८ सय ७ रुपैंयाँ ९८ पैसा, डिलबहादुर थापा मगरको हकमा ४ करोड ५ लाख ४० हजार ६ सय ११ रुपैंयाँ ९८ पैसा, सबिता पुनको हकमा ३ करोड ६४ लाख ४० हजार ८ सय ७ रुपैंया १७ पैसा, डिलकुमारी पुर्जाको लागि ३ करोड ५१ लाख ६३ हजार २ सय ९५ रुपैंया १२ पैसा विगो दावी सहित सरकारी वकिल कार्यालयले अभियोजन गरेको छ । डिलबहादुर पुनको हकमा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीले ३ करोड ५१ लाख ६३ हजार २ सय ९५ रुपैंया १२ पैसा, गनमती सेरपुजा मगरलाई ३ करोड ५१ लाख ६३ हजार २ सय ९५ रुपैयाँ १२ पैसा, सिरमती पाइजाको हकमा ३ करोड ५१ लाख ६३ हजार २ सय ९५ रुपैंया १२ पैसा, सूर्यलाल पुर्जा मगरको लागि ३ करोड ५१ लाख ६३ हजार २ सय ९५ रुपैंया १२ पैसा विगो दावी सहित अभियोजन दर्ता भएको छ । गेमबहादुर घर्ती मगरको हकमा पनि सरकारी वकिल कार्यालयले १ करोड ८५ लाख ५९ हजार ६ सय १९ रुपैंया ६ पैसा, दुधकुमारी शेरबुजाको हकमा ३ करोड ५१ लाख ६३ हजार २ सय ९५ रुपैंया १२ पैसा, जमुना पुन पुर्जाको हकमा ३ करोड ५१ लाख ६३ हजार २ सय ९५ रुपैंया १२ पैसा र नरबहादुर गर्बुजा पुनको हकमा ७० लाख ७९ हजार ४ सय १३ रुपैंयाँ ५५ पैसा विगो दावी सहित अभियोजन दर्ता भएको थियो ।
