सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नीतिमा धेरै कुरा उल्लेख गर्ने तर बजेट नहाल्दिने भएपछि कार्यान्वयनमा समस्या आउने बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित प्रथम दिवसिय आवरणमा टाँचा लगाउने कार्यक्रममा उहाँले सञ्चार मन्त्रालयमा बजेटको कमि भएको भन्दै नीतिमा धेरै कुरा उल्लेख गर्ने तर पैसा नहाल्दिने हुँदा कार्यान्वयनमा समस्या हुने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘अर्थमन्त्रालयले हाम्रो कुरा बुझ्दैन् रहेछ । अर्थ मन्त्रालयले बजेट ल्यायो, के ल्यायो भन्दा हामीलाई केही पनि छैन् जस्तै छ हाम्रो अवस्था, नीतिमा धेरै कुरा उल्लेख गर्ने पैसा नहाल्दिने भएपछि कसरी कार्यान्वयन हुन्छ । हामीले पैसा खोजेर काम गर्नुपर्ने अवस्था छ ।’ यस्तै, उहाँले सबै लोप हुदैँ गएको पशु र कृषिजन्य कुराहरुको संरक्षण गर्ने काम पनि हुलाक सेवा विभागले गर्नुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘सबै लोप हुदैँ गएको पशु र कृषिजन्य कुराहरुको संरक्षण गर्ने काम हुलाक सेवा विभागले गर्नुपर्ने छ किनभने पशु विज्ञान केन्द्र र कृषि ज्ञान केन्द्र के गरिरहेको छ थाहा छैन् । उनीहरुलाई पनि भन्नु पर्ने छ । यी सबै कुराको संरक्षण किन गर्नुपर्छ भने यति धेरै हाम्रो कृषिको प्रजातीहरु लोप भईसकेका छन् । त्यसकारण पनि हामीले यस्तो कुराहरुमा ध्यान दिनुपर्छ ।’
मानव समाज सभ्यताको बारेमा भावी पुस्ताको लागि काम लाग्ने कुरामा बढि ध्यान दिएर काम गर्नुपर्ने भन्दै उहाँले अर्को पालि कृषि, पशु, औषधी र जडिबुटिका क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभयाे ।
सोही कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले राष्ट्रसन्त स्वामी श्री परमानन्द सरस्वती महाराज र प्रकृतिलाई जोगाउने महत्वपूर्ण प्राणिको टिकटमा टाँचा लगाएको जानकारी दिनुभएको थियो ।
उहाँले भन्नुभयो, ‘प्रकृतिलाई जोगाउने अनुशासित प्रयास जो हाम्रो मानव जीवनसँग प्रत्यक्ष संलग्न छन् । उनीहरु बिना हाम्रो जीवन छैन् । त्यो महत्वपूर्ण प्राणिको टिकटमा टाँचा लगाएका छौ । अर्को मानवलाई प्रकृतिसँग जोड्ने र फेरि प्रकृतिकै पूजा गर्न सिकाउने राष्ट्रसन्त स्वामी श्री परमानन्द सरस्वती महाराजको टिकटमा टाँचा लगाएका छौ । यी दुवै विषयको सारै महत्व भएको हुनाले यसको संरक्षणको लागि पनि टिकट बनाएको हो ।’
यसैबीच हुलाक सेबा बिभागबाट राष्ट्रसन्त स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजको तस्वीर अंकित हुलाक टिकट सार्वजनिक भएकोमा तनहुँको देवघाटधाम स्थीत परमानन्द संस्कृत गुरुकुल विद्यापीठ हरिहर सन्न्यास आश्रमले आभार प्रकट गरेको छ । आश्रमले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आभार व्यक्त गरेको हो ।
आश्रमको फेसबुकमा जारी भएको सन्देश जस्ताको तस्तै
यस महान कार्यमा योगदान पुर्याउनुहुने माननीय मन्त्रीज्यू, सम्बन्धित सचिवज्यू, हुलाक सेवा विभागका सम्पूर्ण पदाधिकारी र कर्मचारीहरूप्रति श्रीहरिहर सन्न्यास आश्रम तथा परमानन्द संस्कृत गुरुकुल विद्यापीठ परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं।

