नेपालगन्ज, १६ फागुन – आयोजक मध्यपश्चिम टिमलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लब नेपालगन्जमा जारी चौथो प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा सेमिफाईनल पुगेको छ ।
स्कूले किशोरीहरुको स्थानीय टिममाथि पुलिस हाबी रह्यो । तर, अघिल्ला खेलभन्दा सुधार ल्याएर सम्मानजनक हार ब्यहोर्दै मध्यपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले २५–११, २५–८ र २५–१८ को सोझो सेटमा खेल जितेको छ । ‘हारे पनि खेलमा सुधार आएको छ । त्यसैमा खुशी छौ’ मध्यपश्चिमकी कप्तान शर्मिला नेपालीले भनिन् ।
पुलिस टिमकी कप्तान कोपिला उप्रेती मध्यपश्चिमका खेलाडीले सोचेभन्दा राम्रो खेलेकोभन्दै प्रशंसा गरिन् । उनले भनिन्– स्थानीय टिमका केही खेलाडीमा मैले राम्रो संभावना देखे । मध्यपश्चिम र नेपाल पुलिस दुबै टिम समूह चरणमा डिफेण्डिङ च्याम्पियन रेल्वे कोलकताबाट पराजित भएका हुन् ।
राष्ट्रिय टिमका ६ खेलाडी सम्मिलित एपीएफका अघि आर्मीको कान्छो भलिबल टिम निकै कमजोर देखियो । एपीएफले आर्मीलाई तीन वटै सेटमा दोहोरो अंक छुन दिएन । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको एपीएफले २५–५ मै आर्मीलाई रोक्यो । दोस्रो र तेस्रो सेटमा पनि हाबी भएको एपीएफले आर्मीमाथि २५–८ र २५–९ को सेटमा जित निकाल्यो । ‘यो स्वभाविक नतिजा हो’ एपीएफका प्रशिक्षक लोकबहादुर बुढाले भने,– तर, दोहोरो अंक छुन नसक्नु कमजोर प्रदर्शन हो ।
लिग चरणका दुवै खेल जितेको एपीएफ समूह ‘ख’ को बिजेता बन्दा एक खेल जितेको आर्मीले उपबिजेताको रुपमा सेमिफाईनलमा प्रवेश पाएको छ । साबिक बिजेता भारतको रेल्वे टिम कोलकता समूह ‘क’बाट अपराजित रहदै बिजेताको रुपमा सेमिफाईनलमा प्रवेश गर्यो भने एक खेल जितेको पुलिसले उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान बनायो । भारतीय दोस्रो टिम बर्षात एशोसियसन र आयोजक मध्यपश्चिमले दुवै खेलमा पराजय ब्यहोरेपछि लिग चरणबाट बाहिरिएका छन् ।
फागुनको १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले बताए । प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा सोमवार नेपाल पुलिस क्लब र आयोजक मध्यपश्चिम तथा अर्को खेलमा समूह विजेताका लागि एपिएफ र आर्मीले प्रतिस्पर्धा गर्नेछन ।
मंगलवार पहिलो सेमिफाईनल खेल समूह ‘ए’को बिजेता रेल्वे कोलकता र समूह ‘बी’को उपबिजेता आर्मीबीच हुनेछ । दोस्रो सेमिफाईनल खेल समूह ‘बी’ को बिजेता एपीएफ र समूह ‘ए’ को उपबिजता पुलिस बीच हुनेछ ।