काठमाडौं, १६ फागुन – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी भएर चुनावमा जाने आफ्नो पार्टीको चाहना नरहेको प्रष्ट पारेका छन् । प्रतिपक्षमै बसेर चुनाव जित्ने तयारीमा रहेको उनले बताए । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार मेची-महाकाली अभियानमा सहभागी हुने करीव १ हजार स्वयंसेवकका लागि आयोजित विशेष प्रशिक्षण भेलालाई सम्बोधन गर्दै ओलीले सरकारमा जाने रुचि एमालेलाई नरहेको दावी गरे ।
ओलीले भने, ‘हामी सरकारमा होइन, प्रतिपक्षमै बसेर चुनाव लड्न चाहान्छौं र जित्छौं । सरकारमा भएकाहरुले पुलिस प्रशासन लगाएर चुनाव जितौंला भन्ने सोचेका होलान् तर, यिनीहरु बेइमान हुन् भन्ने पुलिस प्रशासनका सबैलाई थाहा छ । आदेश आउँदा हस् साब भन्छन् तर, बेइमानले भनेको मान्दैनन् ।’
फागुन २१ देखि शुरु गर्न लागेको मेची महाकाली तराई मधेस अभियानले हिमाल, पहाड र तराईबीच भवनात्मक एकता गराउने दाबी एमाले नेताहरुले गरेका छन् । साथै अभियानमा लाखौं मधेसी जनता परिचालन हुने दाबी गरे । एमालेलाई मधेस विरोधी भनेर प्रचार गर्नेहरुलाई मधेसकै बस्तीमा पुगेर जवाफ दिइने एमाले नेताहरुले बताए ।
अध्यक्ष ओलीले मधेस अभियानमा लाखौं जनता सहभागी हुने भन्दै यो अभियानको फोटो खिच्न ड्रोन र सेटलाइटले मात्र सम्भव हुने दोहोर्याएका छन् । ओलीले भने, ‘एमालेको यो अभियान मधेस, पहाड र हिमालको जनसागर हुनेछ । यसको फोटो खिच्न कुनै अग्लो घरको छतबाट क्यामेरा सोझ्याउँदैमा सकिँदैन । सेटलाइन र ड्रोनले मात्र सम्भव हुनेछ । हामी देखाउनेछौं मधेसी जनता र मधेसमा एमाले कति लोकप्रिय छ भन्ने ।’
कार्यक्रममा एमाले सचिव भट्टराईले पृथ्वीनारायण शाहले गर्न बाँकी रहेको मुलुकको भावनात्मक एकीकरण एमालेले गर्ने दाबी गरे । उनले भने, ‘पृथ्वीनारायण शाहले भौगोलिक एकीकरणमात्र गरे भन्नेहरुलाई एमालेले यो अभियानबाट देखाउनेछ, मुलुकको भावनात्मक एकीकरण एमालेले गर्नेछ ।’
एमालेको यो अभियानमा एक हजार पूर्णकालीन स्वयंसेवक खटिनेछन् । उनीहरुलाई केन्द्रीय कार्यालयमा अभियानका क्रममा पालना गर्नुपर्ने नियमहरुको बारेमा विशेष प्रशिक्षण दिइएको एमाले नेता बसन्त मानन्धरले बताए ।
Previous Articleसंविधान संशोधन विधेयक माथि १५ संशोधन दर्ता
Next Article माओवादी, कांग्रेस र मधेसी मोर्चाको बैठक मंगलबार