दुइदिन अघि पोखरामा बर्डफ्लु भेटिएको समाचार सार्वजनिक भएको छ । हरेक बर्ष यस्ता रोगको संक्रमणबारे निकै समाचार आइरहन्छन् । यस्ता रोगकै कारण धेरै धनजनको क्षति पनि भएको छ । पंक्षिजन्य रोग भएकोले एकैपटक टाढा सम्म फैलन सक्ने संभावना रहन्छ । त्यसैले समयमै यस्ता समस्याबारेमा सचेत रहन जरुरी छ ।
धेरै बर्षदेखि नेपालमा यस्ता रोगले सताइरहेको छ । पटक पटक हराउने र संक्रमण भेटिइरहने क्रम दोहोरिनुले नागरिक र व्यवसायीहरुको सचेतना बढी आवस्यक भएको महसुस गरिएको छ । कतिपय स्थानमा यस्ता रोग भेटिंएपनि समयमै पंक्षिहरु नष्ट गर्न ढीलाई गरिनु पहिलो कारण हो भने परिक्षणनै नगरिनु अर्को कारण हो । परिक्षण भएकै स्थानमा पनि रोगको लक्षण देखिएको भए कस्तो विधि अपनाउने र रोगको संक्रमण हुनै नदिन के गर्नुपर्छ भन्ने सामान्य मापदण्ड बनाएर लागू गर्न सरकारी निकाय असफल जस्तै छन् । नत राज्यले यस्ता बिषयलाई गम्भिर चासोको बिषय बनाउँछ, नत व्यवसायीहरु सचेत बन्छन् । बरु कतिपय अवस्थामा थाहै नपाई सबै कुखुरा विक्रि गरिसक्ने चलन पनि छ । मानव स्वास्थ्यमा गम्भिर असर पर्ने यस्ता काम भैरहेपनि कारवाही गरिएको जानकारी बाहिर आउने गरेको छैन । तसर्थ कतिपयले बर्डफ्लु बारे जानकारीनै नदिने र परिक्षणनै नगर्ने चलन पनि छ । बिशेषगरी गाउँगाउँ सम्म पालिएका ब्रोइलर कुखुरामा यस्तो संक्रमण देखिन्छ । घरसारका कुखुरा, हाँस लगायतमापनि यो रोग लाग्छ । कमजोर हुने भएकोले ब्रोइलर यसको धेरै शिकार हुन्छन् । धेरै स्थानमा रोगलागेर मर्न लागेको देखेपछि विक्रिगराईदिने चलन पनि छ । शुद्ध र स्वस्थ्य मासु विक्रि गर्ने एकातर्फ छन् भने मानवस्वास्थ्यलाई खेलवाड गरेर जानाजान व्यपार गर्नेपनि छन् । त्यसकालागि प्रशासनिक निकायले समयमै सचेत रहेर अध्ययन अनुसन्धानलाई पनि चुस्त बनाउनुपर्ने जरुरी छ । किनकी भोली हुन सक्ने क्षति भन्दा अहिले गरिएको सामान्य सचेतनाले ठूलो फाइदा पुग्छ ।
बिशेषगरी बिदेशबाट आयात हुने पंक्षिहरुको क्वारेन्टाइनमा उचित परिक्षण नहुने नेपालको प्रमुख समस्या हो । स्वदेशी सामाग्री निर्यात नगर्ने, सबै बस्तु आयात गर्ने बानी परेका नेपालीले जस्तो सुकै बस्तु ल्याएपनि सहज स्विकार्ने बानी छ । केही बर्ष अघि पश्चिमी जिल्लाहरुमा भएका झाडापखालाको घटनामा पनि कुहिएको चामल खाएको पुष्टी भएको थियो । खाद्य प्रयोगशालामा परिक्षण नभएका, क्वारेन्टाइन नभएका बस्तु तथा सामाग्रीको खुलेआम प्रयोग बढी रहेको समयमा कोहीपनि जिम्मेवार नहुनेहो भने देशको अवस्था कता जाला सोचनीय भएको छ । यस्ता गम्भिर समस्या निम्तन सक्ने बिषयमा एकपटक राज्यका निकायले सोच्नैपर्ने बेला भएको छ । चाहे त्यो जिल्ला भित्रने सामाग्रीमा पनि किन नहोस् प्रशासनले चासो राख्नुपर्छ । अहिले सम्म जिल्लामा खाद्य तथा अन्य बस्तुहरुको आयात कस्तो छ भनेर चेकजाँच भएको रेकर्ड छैन । ठूला व्यपारीको फर्म तथा गोदाममा कति गुणस्तरको बस्तु भण्डारन गरिएको छ भन्ने पनि अहिले सम्म प्रशासनलाई थाहा छैन । त्यसैले मानव स्वास्थ्यलाई समयमै ख्याल गरौं । फूर्सदमा पछुताउने काम नहोस् ।
Previous Article‘संशोधन विधेयक चाडै टुंगो लाग्छ’
Next Article सुन साईली गीतले दिन खोजेको सन्देश