बागलुङ, १६ फागुन – बालबालिकाको सिकाई उपलब्धीलाई उच्च बनाउने लक्षका साथ संचालनमा ल्याइएको ‘प्रारमिभक सिकाई र पढाई विकास कार्यक्रम’का सहजकर्ताका लागि ५ दिने तालिम शुरु भएको छ ।
बागलुङमा आयोजित तालिममा बागलुङ र म्याग्दीका गरी २६ जना सहजकर्ताको सहभागिता रहेको छ । प्लान ईन्टरनेशनलको सहयोग, जिल्ला शिक्षाको समन्वयमा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले तालिमको आयोजना गरेको हो । बालबालिकाको पढाई र लेखाईमा सुधार ल्याउनका लागि अभिभावकको समेत पठन शिपमा विकास हुनुपर्ने तथा जागरुक पनि हुनुपर्ने अध्ययनको निष्कर्षपछि अभिभावक शिक्षाका लागि सहजकर्ता खटाइएको फाउन्डेसनका कार्यक्रम संयोजक नविन पन्तले बताए ।
यो अभियान पहिलो चरणमा बागलुङका ३५ र म्याग्दीका २५ विद्यालयमा संचालनमा छ । एक विद्यालयको कार्यक्षेत्रमा ३ वटा टोल बनाएर अभिभावक शिक्षा संचालन गर्ने योजना बनाइएको छ । यस अघिको अध्ययनले बालबालिकामा पढाई र सिकाईको स्तर खस्केको पाएपछि यो कार्यक्रम संचालन गरिएको हो ।
फाउन्डेसनले दुइ जिल्लामा कार्यक्रम संचालन गरिरहेको छ । तालिममा आएका सहजकर्ताले फर्केपछि अभिभावक शिक्षा दिने छन् । तीन महिना सम्म चल्ने अभिभावक शिक्षापछि बालबालिकाको पढाइ र सिकाई स्तरमा पनि परिवर्तन आउने बताइएको छ । तालिम उद्घाटनको क्रममा जिल्ला शिक्षाका शाखा अधिकृत खेमप्रसाद आचार्यले गुणस्तरीय सिकाईको विकास गर्न नसके देशको शैक्षिक अवस्था कमजोर बन्ने र प्रतिष्पर्धि बजारमा समेत हाम्रा बालबालिका बिकाउ नहुने बताए । उनले सिकाई उपलब्धीलाई बढाउन सकेमा दक्ष नागरिक उत्पादन हुने पनि बताए ।
नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका सदस्य ताराबहादुर विकको अध्यक्षता, लालबहादुर पुर्जाको संचालन र दिननाथ आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा प्लान इन्टरनेशनलकी क्षेत्रीय प्रवन्धक नितु आचार्यले पनि गुणस्तरीय सिकाईका लागि शिक्षक, अभिभावक र सरोकारवाला समेत गम्भिर बन्नुपर्ने धारणा राखिन् । तालिममा सेतो गुराँस बालविकास केन्द्र मनबानपुरकी संगीता कार्की र बागलुङकी बिना कार्कीले सहजीकरण गर्ने कार्यक्रम छ ।
Previous Article२०७३ फागुन १६ गते सोमबारको राशिफल
Next Article ‘संशोधन विधेयक चाडै टुंगो लाग्छ’