बागलुङ, १५ फागुन – आठ वर्ष पछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
त्रिभुवन विश्वविद्यालयले सार्बजनिक गरेको संशोधित कार्यतालिका अनुसार शनिबार सार्बजनिक विदा भए पनि अञ्चलकै एक मात्र आंज्ञिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी यनियन (स्ववियु)को निर्वाचनमा प्रत्यक्ष तर्फ पाँच संगठन र समानुपातिक तर्फ ४ संगठनका गरि ३९ विद्यर्थीले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिवार भएको उमेदवारी दर्तामा संयुक्त अखिल प्यानल, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु पाँचौ, संघीय समाजवादी पार्टी फोरम र अनेरास्ववियु क्रान्तिकारी (विप्लव) समुहका गरि ३९ उमेदवारले उमेद्वारी दर्ता गराएका हुन् । अनेरास्ववियु, अनेरास्ववियु छैठौँ र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त अखिल प्यानलले स्ववियु सभापति पदको रुपमा शेखर खड्का (झलक)को उमेदवारी दर्ता गराएको छभने नेपाल विद्यार्थी संघ नेतृत्वको लोकतान्त्रिक प्यानलका तर्फबाट स्ववियु सभापतिमा मनबहादुर थापा (मनिष)ले उम्मेदवारी दर्ता गराएका छन् ।
अखिल प्यानलको तर्फबाट सचिवमा जीवन शर्मा, कोषाध्यक्षमा बिमाकुमारी जोल्मी मगरले उमेदवारी दर्ता गराएका छन् । प्रत्यक्ष निर्वाचन तर्फ सदस्यहरुमा लालबहादुर भण्डारी, लालमति रोका, थुमा पुर्जा, साधना राना, सुरेश रेग्मीले उमेदवारी दर्ता गराएका छन् । समानुपातिक तर्फ खिरा थापा, खिमानन्द कँडेल, रविना विक, हिमाली रोका, रोशनी भुजेल, सुरज विक, रोशन कुँवर, आशा घर्ति, मनबहादुर राना र लक्ष्मण पौडेलको उमेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत डा. दिनबहादुर थापाले जानकारी गराए । उम्मेदवार दर्ताका क्रममा क्याम्पस परिसरमा उम्मेदवार घोषणा सभा समेत गरिएको थियो । सभामा बोल्दै पुर्व स्ववियु सभापति हिराबहादुर केसीले क्याम्पसको शैक्षिक गुणस्तर सुधारको लागि अखिल प्यानललाई विजयी गराउन विद्यार्थीलाई आग्रह गरका थिए ।
स्ववियु पुर्व सदस्य तथा नेकपा एमालेका जिल्ला सचिव लालबहादुर थापाले उम्मेदवारहरुको परिचय गराएको कार्यक्रममा अनेरास्ववियु छैठौँका केन्दिय महासचिव भिमलाल पोख्रेल, अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष पदम खत्रीले बोलेका थिए । कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार शेखर खड्का (झलक)ले विद्यार्थीहरुको अधिकारको लागि निरन्तर लाग्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन अखिल छैठौँका दिलिप बुढामगरले गरेका थिए ।
नेपाल विद्यार्थी संघ (संयुक्त लोकतान्त्रिक प्यानल)ले सचिवमा विष्णुराज पौडेल, कोषाध्यषमा सुस्मिता बोहराको उमेदवारी दर्ता गराएको छ । प्रत्यक्ष निर्वाचन तर्फ सदस्यहरुमा मिना सापकोटा, सञ्जु चापागाई, मनोज सापाकोटा, विवेक जिसी र हरिबहादुर भण्डारीले उमेदवारी दर्ता गराएका छन् । समानुपातिक तर्फ बालकृष्ण शर्मा, सुजन सापकोटा, कुशल पुन, आशिष बोसेल, लुमाघर्ति पुन, नारायण गौतम, दिपक सुवेदी, विष्णुप्रसाद सुवेदी, सावित्री पुन, मुना रोकाले उमेदवारी दर्ता गराएका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका महामन्त्री हरिहर शर्माले स्ववियु निर्वाचनमा नेवि संघको विगतको विजयी यात्रालाई निरन्तरता दिने उद्घोष गरेका थिए । कार्यक्रममा पुर्व स्ववियु सभापति वसन्तकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघका चन्द्रबहादुर क्षेत्री र नयाँ शक्ति नेपालका कृष्ण सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । स्ववियू सभापतिका उम्मेदवार मनबहादुर थापा ‘मनिष’ले विद्यार्थीको हक र अधिकारको लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
नेपाल विद्यार्थी संघका सचिव श्रीकृष्ण पौडेलले उम्मेदवारको परिचय गराएको कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खड्क थापा मगरले गरेका थिए । अखिल पाँचौले प्रत्यक्ष र समानुपातिक तर्फ एक÷एक सदस्यको लागि उमेदवारी दर्ता गराएको छभने अखिल क्रान्तिकारी (विप्लव) समुहले प्रत्यक्ष तर्फ मात्र एक सदस्यको उमेद्वारी दर्ता गराएको छ । स्ववियु निर्वाचन तालिका अनुसार आईतबार मध्यान्ह १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने आइतबार नै दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने डा. थापाले जानकारी दिए ।
स्ववियुको नयाँ नेतृत्वका चयनका लागि धौलागिरी बहुमुखी क्याम्पसमा अध्ययनरत ९ सय ७८ विद्यार्थीले मतदान गर्ने भएका छन् । जिल्लाको हटिया स्थित गल्कोट बहुमुखी क्याम्पसमा पनि नेविसंघ र अखिल संयुक्तबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । नेवि संघबाट गुमानसिंह भण्डारी र अखिल संयुक्तबाट सरीता केसी चुनावी मैदानमा छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल सँस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ ।
हरेक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यसपटक आठ वर्ष पछि हुँदैछ । यसपटक स्ववियु निर्वाचनकै इतिहासमा पहिलो पटक २८ वर्षे उमेर हद र मिश्रित चुनाव प्रणाली अपनाइँदैछ । निर्वाचनको सुरक्षाका लागि क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Previous Articleभीमसेन क्याम्पसमा धान्याञ्चल सुरु
Next Article २०७३ फागुन १६ गते सोमबारको राशिफल