बागलुङ, १० फागुन – स्वामी कमलनयनाचार्यले आयोजना गरेको महायज्ञको उद्घाटन गर्न मुख्य सचिव सोमलाल सुवेदी बाग्लुङ आईपुगेका छन्। सुवेदी सँगै बाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय समेत बानपा—८ पञ्चकोटमा पुगे। मुख्य सचिव सुवेदीले यहाँको पञ्चकोटमा निर्माणाधीन भौतिक संरचना पूरा गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।सोमबार देखि बानपा—८ पञ्चकोटमा शुरु भएको तेस्रो विराट श्री महायज्ञको मंगलबार उद्घाटन गर्न यहाँ आएका थिए। ‘यहाँका सरकारी कार्यालयको तर्फतबाट त सहयोग भैरहेको रहेछ,’ सुवेदीले भने,‘जिल्लाको योजनामा प्राथमिकता पारेर पठाउनुस् केन्द्रबाट आवश्यक सहयोग गर्न मैले पहल गर्नेछु।’ उनले पञ्चकोट धामको रुपमा विकास हुनु राष्ट्रकै लागि गौरवको विषय भएको बताए ।
‘यो प्राकृतिक रुपमा पनि सुन्दर ठाउँमा धार्मिक तथा पर्यटकीय धाम निर्माण गर्न यहाँहरु लागिरहनुभएको छ,’ सुवेदीले भने,‘यहाँ निर्माण हुने एक सय ८ फिट अग्लो कलशले सारा विश्वको ध्यान नेपालमा खिच्नेछ। यो राष्ट्रकै लागि गौरवको विषय हो।’
सुवेदीले जिल्लामा सञ्चालन हुने योजना तथा कार्यक्रममा पञ्चकोटलाई प्राथमिकतामा राख्न निर्देशन समेत दिए । तीन वर्षको छोटो अवधीमै उल्लेख्य काम भएको बताउँदै मुख्य सचिव सुवेदीले पञ्चकोटले बाग्लुङलाई धार्मिक पर्यटनका केन्द्र बनाउने विश्वास व्यक्त गरे।
वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले पञ्चकोट ठूलो योजना भएकाले सबैको साझा प्रयासबाट मात्र सम्पन्न गर्न सकिने बताए । कार्यक्रममा पञ्चकोटका संकल्पकर्ता स्वामी कमलनयनाचार्यले धार्मिक र पर्यटन क्षेत्रको हिसाबले महत्वूर्ण हुने पुण्य भूमिका लागि आवश्यक बजेट विनीयोजन गरेर सहयोग गर्न नेपाल सरकारका मुख्य सचिव सुवेदीलाई आग्रह गरे।
‘यो भूमि पावन मुक्तिक्षेत्र भूमि हो, गंगा भन्दा पनि पवित्र कालिगण्डकी भूमि हो,’ स्वामी कमलनयनाचार्यले भने,‘यो पुण्य भूमिलाई धार्मिक तिर्थस्थलको रुपमा विकास गरी धार्मिक पर्यटनको केन्द्र बनाउन सरकारको तर्फबाट पनि सहयोग होस् ।’ महायज्ञ मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले पञ्चकोटलाई नेपाल सरकारको क्रमागत योजनामा समावेश गरी वार्षिक ५० करोड विनियोजन गर्न माग गरे।
महायज्ञ उद्घाटन गर्न मुख्य सचिव सुवेदी बागलुङमा
Previous Articleअभियानमा कसैले भाँझो हाले प्रतिकार-एमाले अध्यक्ष ओली
Next Article वैशाख ३१ को निर्वाचनमा ३६ हजार जनप्रतिनिधि चुनिने