काठमाडौं, १० फागुन – दुबईस्थित शेख मोहम्मद विन जायेद रोडमा रहेको आकाश छुने विशाल भवन । यो विश्व क्रिकेटको भविष्य तय गर्ने स्थान त हुनु नपर्ने हो । तर सित्तैमा जग्गा अनि ५० वर्षसम्म कर छुटजस्ता कारणले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मुख्यालय सन् २००९ देखि यहीं छ । मरुभूमिको यो सहरमा ठूल्ठूला मानव निर्मित भवनबीच आईसीसीको तीनतल्ले घर साधारण व्यवसायको कार्यालयजस्तो पनि देखिन्छ । ‘लबी’ मा रहेको टीभीमा सधैं क्रिकेट खेल प्रसारण भइरहेको हुन्छ ।
गत महिना यहाँ आईसीसीको बोर्ड मिटिङ चल्दा स्क्रिनमा सन् २०१६ मा पाकिस्तान र वेस्ट इन्डिजबीचको खेल दोहोर्याएर देखाइरहेको थियो । मिटिङमा भने गम्भीर मुद्दामा बहस चलिरहेको थियो । मुद्दा थियो, अन्तर्राष्ट्रिय क्रिकेटलाई वास्तविक अर्थ दिने । अनि क्रिकेट आफैलाई कसरी जोगाउने ? पछिल्लो समय क्रिकेटमा धेरै परिवर्तन भइरहेका छन् । क्रिकेट तीन ढाँचामा खेलिने गरेको छ । टेस्ट, वान डे र ट्वान्टी–ट्वान्टी । तर त्यसलाई चलाउने संस्था भने एउटै ।
घरेलु ट्वान्टी–ट्वान्टी प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट ओझेलमा पर्न थालेको छ । अचेल प्रतिस्पर्धा क्लब र देशबीच मात्र हुन छाडेको छ । एउटै राष्ट्रिय टिम फरक ढाँचाको खेलमा ओर्लनेक्रम पनि सुरु भएको छ । जस्तो, यसै महिना अस्ट्रेलियाले घरमा श्रीलंकासँग ट्वान्टी–ट्वान्टी क्रिकेट खेल्नेछ । त्यसको एक दिनपछि ठ्याक्कै फरक अस्ट्रेलियाली टिमले भारतसँग टेस्ट पनि खेल्दै छ । कहीं कतै के धेरै नमिलेजस्तो भइरहेछ । अहिले क्रिकेटलाई भारतमाथिको अत्यधिक निर्भरता छाड्नु छ । यो खेल कमनवेल्थ देशको मात्र होइन भनेर देखाउनु छ । यसका लागि क्रिकेटको धन चारैतिर छर्नुपर्छ । अनि पारम्परिक टेस्ट खेल्ने देशबाट बाहिर निस्कनुपर्नेछ । त्यसो त आईसीसी बैठक खालि औपचारिक मात्र हुने गर्छ । आईसीसीले भन्ने गर्छ, ‘अबको बैठक निकै महत्त्वपूर्ण हुनेछ ।’ तर यस्ता बैठक पनि प्रेस विज्ञप्तिमै सकिन्छ र भनिन्छ, प्रगति भइरहेको छ । महत्त्वपूर्ण निर्णय भने फेरि पछि सारिन्छ ।
सन् २०१७ को पहिलो बैठक भने साँच्चै फरक रह्यो । परिवर्तन के हुनेछ । त्यसबारे मतदान हुन बाँकी छ । तर दुबईमा बसेको तीनदिने बैठकले खास–खास निर्णय गरेको छ । जस्तै, टेस्ट र वान डेमा नयाँ लिग ढाँचा ल्याउने अनि मतदानको अधिकार र धनको विभाजन समान रूपमा गर्ने । यी सबैले क्रिकेटको भविष्य निर्धारण गर्नेछ । उत्तर दिने प्रयास गर्नेछ । के आईसीसी यो खेलको भविष्यमा मिल्ने गरेर स्वरूप दिन तयार छ ? आईसीसी त्यस्तो संगठनमा पर्छ, जसले कसरी काम गर्छ भनेर भन्न सकिन्न ।
भन्न त मुख्यालय दुबईमा छ भनिन्छ । तर शक्तिशाली खेलाडी बाहिर रहन्छ । बोर्डमा रहेका टेस्ट खेल्ने टिमका प्रतिनिधिका रूपमा । आईसीसी वास्तवमै यिनै केही देशको मात्र संगठन रहेको छ । यसको काम मात्र वान डे विश्वकप र वल्र्ड ट्वान्टी–ट्वान्टी जस्ता प्रतियोगिता गर्ने जस्तो पनि देखिन्छ । पछिल्ला केही बैठकले अस्ट्रेलिया, इङल्यान्ड र भारतलाई दिएको धेरै शक्ति फिर्ता गर्नेमा केन्द्रित छ । जबकि आईसीसीसँग १ सय २ सदस्य छन् ।
आईसीसीले यी सदस्यको पक्षमा निर्णय दिने हो भने भारत एक्लैले पूरा वर्षको क्यालेन्डर त्यसलाई चुनौती दिएर बनाउन सक्छ । डर यही पनि हो । ट्रान्सपरेन्सी इन्टरनेसनलजस्ता संस्था आईसीसी गलत ढंगले चलिरहेको मान्छ । दुबईको पछिल्लो बैठकअघि आईसीसीका अध्यक्ष शशांक मनोहरले पनि मानेका थिए, ‘आईसीसीका निर्णय खेलको उत्कृष्ट भविष्यतर्फ प्राय: अग्रसर हुने गर्दैन ।’ तीन देशलाई दिइएको बढी अधिकार फिर्ता लिनेमा अस्ट्रेलिया र इङल्यान्ड त सहमत जस्तै देखिएका छन् ।
यस्तोमा अब युद्ध आईसीसी र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) बीच हुने देखिन थालेको छ । सन् २०१४ को मोडल अनुसार भारतले आईसीसीको २०१५–२३ बीचको आम्दानीबाट ४५ करोड डलर पाउने छ । यो आईसीसीले अरुलाई दिने रकमको एक तिहाई हो । नयाँ मोडलअनुसार भारतले यस समयबीच २६ करोड मात्र पाउने छ । यो पनि अरुको तुलनामा दोब्बर हो । आईसीसीको निर्णय प्रभावित पार्दै बीसीसीआईका प्रतिनिधिले धम्की दिएका थिए, ‘आईसीसीले गर्ने प्रतियोगितामा भाग नलिने अनि इन्डियन प्रिमियर लिगलाई अझ लामो समयका लागि चलाउने ।
सन् १९९३ देखि आईसीसी टेस्ट खेल्ने १० देशमा सीमितजस्तै भएको थियो । सबै शक्ति यिनै देशमा मात्र थियो, अरु ९५ सदस्य छाडेर । एकपल्ट अमेरिकी पुराना राष्ट्रपति रोनाल्ड रेगनले भनेका थिए, ‘कहिलेकाहीं हाम्रो दायाँ हातले थाहा पाउने गर्दैन, बायाँ हातले के गरिरहेको छ भनेर ?’ आईसीसीको प्रसंगमा यस्तै भइरहेको छ, दुबईलाई यसको कार्यकारी बोर्डले के गरिरहेको छ भनेर ।
आईसीसीका पुराना अध्यक्ष इशान मणीले भनेका छन्, ‘आईसीसीको अहिलेको स्वरूपले विश्व क्रिकेट कसरी चलिरहेको छ, त्यो अनुसार नेतृत्व गर्न सकिरहेको छैन । अहिले विश्व क्रिकेटले के चाहन्छ र शक्तिशाली बोर्डले के गर्न खोजिरहेको छ । यसैबीच द्वन्द्व चलिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी संघका प्रमुख टोनी आइरिसले पनि मानेका छन्, ‘क्रिकेटले अहिले आफैसँग द्वन्द्व चलाइरहेको छ ।’ सन् २०१९ को विश्वकप १० टिममा सीमित राख्ने निर्णय यसैको उदाहरण हो ।
–द गार्डियन
Previous Articleगृहमन्त्रीलाई उपहारको बुलेटप्रुफ गाडी आयो
Next Article विनियोजित रकम खर्च गर्न नसकेपछि बजेट संशोधन