काठमाडौँ, ९ फागुन – सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति घोषणा गरेको हो । निर्वाचन आयोगले वैशाख ३१ मा चुनाव घोषणा गर्न सुझाव दिएको थियो ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार भेट गरेर सो मिति सिफारिश गरेका हुन्। ‘आयोगको सिफारिशलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनु भएको छ। मन्त्रिपरिषदले छिटै सो मितिमा चुनाब घोषणा गर्ने अपेक्षा छ’, प्रमुख आयुक्त यादबले भने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार साँझ प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यसहित आयोगका पदाधिकारीसँगको छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको र त्यसमा सरकारका तर्फबाट के कस्तो सहयोग उपलब्ध गराउनुपर्छ भनी आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए।
प्रधानमन्त्री दाहाल निकट स्रोतहरुले सोमबार निर्वाचन मिति घोषणा गर्ने जानकारी दिएका थिए। सोमबार बिहान १० बोलाइएको मन्त्रिपरिषद बैठकबाट निर्वाचन मिति घोषणा हुने अपेक्षा थियो। सो बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो। दोस्रो पटक आजै बसेको मन्त्रिपरिषदले १४ राजदूतको सिफारिश गरेको थियो।