प्रकाश सिग्देल
चितवन, ८ फागुन – काठमाडाैंबाट सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल आइतवार पुन: सिमरा पुगेका छन् । काठमाडौंबाट पूर्वराजा र पूर्वरानी फागुन ३ गते सिमरा गएका थिए । त्यसको अर्कोदिन उनीहरु चितवनमा पुगेका थिए । सिमराबाट पूर्व राजा ज्ञानेन्द पत्नी कोमलको जन्मदिन मनाउन चितवन गएका हुन् । आफैले गाडी चलाएर पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित चितवन पुगेका थिए ।
आइतवार उनी चितवनमा आयोजना भएको एक धार्मिक कार्यक्रममा सहभागी भए । फागुन ३ गतेबाट नारायणी नदिको किनारमा सुरु भएको विराट गोरक्षा महायज्ञमा सहभागी भएका थिए उनी । उनले त्यहाँ महायज्ञ परिसरमा रहेको दुई वटा गाईलाई पुजा गरे । यो कार्यक्रममा सहभागी भएपछि उनले संचारकर्मीसँग छोटो कुरा पनि गरे । कुराकानीमा भने, ‘धर्म वोल्ने कुरा होइन । मनमा राख्ने हो ।’
पूर्वराजा ज्ञानेन्द्रले बज्राचार्य, लामा र हिन्दु धर्मालम्वीले गरिरहेका छुट्टा छुट्टै हवन कुण्डमा हवन गरेका थिए । सो क्रममा उनले सम्वन्धित गुरुहरुसँग धार्मिक महत्वका विषयमा कुराकानी गरेको थिए । कोमललाई महायज्ञको उद्धेश्यवारे मुल आयोजक समितिका संयोजक पदमराज पाण्डेले जानकारी गराएका थिए ।
महायज्ञमा पूर्व राजा र रानीलाई भव्य स्वागत गरिएको थियो । समर्थकहरुले पुर्वराजा ज्ञानेन्द्रलाई फूलमाला र पञ्चेबाजासहित भव्य स्वागत गरेका थिए । उनका समर्थकले ‘राजा आउ देश वचाउ’ भन्ने नारा पनि लगाएका थिए ।
महायज्ञमा पूर्व राजाले एक लाख रुपैंया प्रदान गरेको आयोजकले जनाएको छ । गौ सेवाकोष स्थापनार्थ हिन्दु ओमकार भोलिन्टियर्सद्धारा आयोजिते महायज्ञ शिवरात्रिका दिन अर्थात फागुन १३ गते सम्म चल्नेछ ।
बा ४ च ३८०७ नम्वरको गाडी आफैंले चलाएर पुर्व राजा ज्ञानेन्द्र चितवन आएका थिए । शुक्रबार मध्यान्ह १२ बजेतिर चितवन पुगेका उनले भरतपुर गार्डेन रिसोर्टमा विहानीको खाना लिएका थिए । त्यसपछि पश्चिम चितवनको वाराही रिसोर्ट गएका थिए । त्यही रिसोर्टमा कोमलको जन्मोत्सव मनाइएको पूर्वराजा निजी सचिव सागर तिमिल्सेनाले बताए । जहाँ सयौको संख्यामा सर्वसाधारण पनि सहभागी थिए ।