म्याग्दी, २ फागुन/जिल्लाको सदरमुकाम बेनीमा सोमबार बिरामीलाई फलफुल वितरण गरी १ सय ४० औं लखन स्मृति दिवस मनाइएको छ । ‘सम्पूर्ण मगरहरु एक होऔं, भाषा कला र संस्कृतिको संरक्षण गरौं’ भन्ने मूल नारासहित नेपाल मगर संघ जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको हो । नेपालको प्रथम शहिद लखन थापाको सम्झनामा म्याग्दी जिल्ला अस्पतालको इन्डोर र इमरजेन्सीमा उपचाररत १५ जना बिरामीहरुलाई फलफुल वितरण गरी दिवस मनाइएको नेपाल मगर संघ म्याग्दीले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका बिरामीको स्वास्थ्य लाभको कामनासहित मौसम अनुकुल हुनेगरी स्याउ, केरालगायतका विभिन्न किसिमका फलफुलहरु वितरण गरिएको छ । नेपाल मगर संघ म्याग्दीका सल्लाहकार एवं आदिवासी जनजाति जिल्ला समन्वय समितिका अध्यक्ष मुक्ति रोकाको प्रमुख आतिथ्यमा फलफुल वितरण गरिएको थियो । प्रमुख अतिथि रोका, अस्पतालका मेडिकल अधिकृत डाक्टरद्वय अनिल पोखरेल, शशीकृष्ण लामिछाने, मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजाली, संघका पदाधिकारी, सदस्यलगायतले बिरामीलाई फलफुल वितरण गरेका थिए । मगर संघ म्याग्दीका अध्यक्ष थजालीको अध्यक्षता र सचिव लोकेश पुनमगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा मगर विद्यार्थी, महिला संघलगायतको सहभागीता रहेको थियो । यसैबीच लखन स्मृति दिवसकै अवसरमा सोमबार साँझ शहिदस्तम्भ चोकस्थित लखन स्मृति चौतारीमा दिप प्रज्ज्वलन कार्यक्रम समेत आयोजना गरिएको छ ।
Previous Articleचुनावमा जुट्न राष्ट्रपतिको आग्रह
Next Article भीमसेन क्याम्पसमा धान्याञ्चल महायज्ञ