बागलुङ, २६ माघ – त्रिविका अन्य क्याम्पसमा स्ववियु चुनावका गतिविधि शुन्यप्राय अवस्थामा भएपनि धवलागिरीको एकमात्र आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसमा भने चुनावी सरगर्मी तातेको छ ।
क्याम्पस प्रशासनले सोमबार क्याम्पसका वरिष्ठ सहप्राध्यापक डा. दिनबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । उक्त समितिका अन्य सदस्यहरुमा क्याम्पसका विद्यार्थी कल्याण प्रमुख हरिप्रसाद पाण्डे, उपप्राध्यापक डा. ईश्वरीप्रसाद कँडेल, शिक्षकहरु गणेशप्रसाद शर्मा र प्रकाश शर्मा रहेका छन् । क्याम्पसको नेपाली विभाग रहेको स्थानमा कार्यालय स्थापना गरि समितिले मंगलबार नै आफ्नो काम थालिसकेको जानकारी निर्वाचन अधिकृत डा. दिनबहादुर थापाले दिएका छन् । उनले भने, ‘क्याम्पसमा क्रियाशील संघ/संगठन/समुहका तर्फबाट नाम दर्ता गराउन र आफ्नो संघ/संगठन/समुहका तर्फबाट तीन जना आधिकारिक प्रतिनिधी र तीन जनामध्ये पनि अर्को व्यवस्था नहुँदासम्म एक जना विशेष प्रतिनिधिको हस्ताक्षर सहितको निवेदन फागुन १ गते बिहान ११ बजेभित्र निर्वाचन समितिको कार्यालयमा उपलब्ध गराउन सूचना गरिएको छ ।’
निर्वाचन अधिकृत थापाका अनुसार, निर्वाचनसम्बन्धी कार्यतालिका तथा आचार संहिताको पत्र पनि सोही समयभित्र बुझ्न निर्वाचन समितिले सूचना जारी गरेको छ ।
तोकिएको समयभित्र निर्वाचन समितिको कार्यालयमा नाम दर्ता नगर्ने र आफ्नो प्रतिनिधि उपलब्ध नगराउने संघ/संगठन/समुहले सामूहिक रुपमा निर्वाचनमा भाग लिन नपाउने व्यहोरा पनि निर्वाचन समितिले सूचनामार्फत जानकारी गराएको छ । तर स्वतन्त्र उम्मेदवारलाई भने यो नियम लागू नहुने पनि समितिले जनाएको छ ।
केन्द्रमा तथा अन्य क्याम्पसका चुनाव हुने कि नहुने भन्ने अन्योल रहेपनि विद्यार्थी संघ संगठनहरु भने पन्ध्र दिनको जाडो बिदापश्चान माघ १ मा क्याम्पस खुलेलगत्तै चुनावी परिणाम आफ्नो हातमा पार्न निकै क्रियाशील देखिएका छन् ।
Previous Articleअनेरास्ववियूको कमिटि गठन
Next Article बिग्रिएका फोनबाटै बन्छन् ओलम्पिकका पदक