त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट ३३ किलो सुन तस्करीको घटना व्यापक बन्यो । जुन घटनाले व्यवस्थापिका संसदमा स्थान पाएको थियो । विमानस्थलबाट एकपछि अर्काे गर्दै सुन तस्करीका घटना सार्वजनिक भएपछि प्रहरीमाथि निकै दवाव पनि परेको थियो । सुन तस्करमा प्रहरीले जहिले पनि प्रयोग भएका भरियाहरुलई मात्रै पक्रने गरेको थियो । तस्करको नाइकेसम्म प्रहरी पुग्न नसक्दा कडा आलोचना समेत हुँदै आएको छ । तीव्र आलोचनाका बीच अनुसन्धान जारी राखेको अन्ततः शंकाको आधारमा एसएसपी ख्याम खत्रीलाई पक्राउ गरेको छ । विदेशबाट ठूलो परिमाणमा आउने सुन प्रहरीका केही अधिकृत र कर्मचारीकै मिलेमतोमा नेपाल भित्रिरहेको छ भन्ने सूचना पाएको सिबिआइले एसएसपीलाई नै पक्राउ गरेपछि प्रहरीभित्र हुने बद्नामीको फेहरिस्त सार्वजनिक भएको छ ।
अनुसन्धान व्यूरोबाटै एसपी मिरा चौधरीको नेतृत्वमा छुट्टै टोली निर्माण गरेर सुन तस्करको निगरानी गरिएको थियो । अनुसन्धानकै क्रममा अहिले पक्राउ परेका एसएसपी श्याम खत्रीनै त्यसको शंकाको घेरामा परेपछि सम्पूर्ण प्रमाणहरु जुटाएर प्रहरीको हेडक्वाटरबाटै पक्राउ गरिएको छ । उनीमाथि अहिले जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन थानामा राख्ने आदेश दिएको छ । त्यति ठूलो परिणाममा सुन नेपाल भित्राउन सहज छैन । यसमा अन्य प्रहरीकै अधिकृत लेभलका व्यक्ति र कर्मचारी पनि संलग्न हुन सक्छ । सिबिआईले अनुसन्धानको दायरालाई फराकिलो बनाई मख्य गिरोहसम्म पुग्नु पर्छ । देशमा हुने जघन्य अपराधलाई नियन्त्रण गर्दै नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रहरी अधिकृत नै अपराधमा संलग्न हुनुले प्रहरीको बर्दीमा दाग लगाउने काम भएको छ । नागरिकलाई स्वतन्त्र र निर्भिक रुपमा बाँच्न पाउने अधिकारलाई स्थापित गर्ने प्रहरी अधिकृत नै अवैध काममा लागेपछि जनताले कसरी प्रहरी संगठन विश्वास गर्नै ? यावत प्रश्न नागरिकले गरिरहेका छन् ।
सुन तस्करी काण्डमा एसएसपी पक्राउ परेपनि मुख्य नाइके भने अझैसम्म पक्राउ पर्न सकेका छैनन् । खास मालिक जोगाउने र आफूमात्र दोषी बन्ने भरियाको रणनीति तस्करहरूकै योजनाअनुरूप अपनाएको पाइन्छ। अनुसन्धानको प्रभावकारी माध्यम नभई खास तस्कर पत्ता लगाउन कठिन हुन्छ । सुन तस्करमा प्रहरी अधिकृत मात्रै होइन भन्सारका कर्मचारीको पनि उत्तिकै संलग्नता हुन सक्छ । यदि भन्सारका कर्मचारी संलग्न नभए ३३ किलो सुन भेटिनु चानचुने कुरा होइन । उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्छ । सुन पक्राउ प्रकरणले विमानस्थलको सुरक्षामाथि पनि गम्भीर प्रश्न उठाएको छ । यो काण्डले तस्करीको धन्दामा राज्यको नियमनकारी निकायको भूमिका कति कमजोर रहेछ भन्ने उदाङ्गो पारेको छ । राज्यको नियमनकारी निकाय कमजोर हुँदा देशको समेत बेइज्जत हुने गरेको छ । के यस्ता विषयमा सरकार गंभीर हुनुपर्दैन । सुन तस्करीमा ठूलो गिरोह सक्रिय रहेको छ । यस्तो गिरोहलाई निष्तेज पानएको लागि गम्भीर अनुसन्धान आवश्यक छ ।