वीरगञ्ज, २५ माघ – पाकिस्तान, मलेसिया र दुवईमा बसेर पाकिस्तानी खुफिया एजेन्सी आईएसआईको निर्देशनमा आपराधिक गतिविधी गर्दै आएका पाँचजना नेपालीलाई बारा प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेपछि नयाँ तथ्य सार्वजनिक भएको छ।
दुवईमा बसेर आईएसआईको एजेन्टको रुपमा कार्यरत बारा कलैया नगरपालितका ८ का सम्सुल होदा दोस्रो संविधान सभाको निर्वाचनमा साढे दुई करोड ऋण लागेपछि आईएसआईमा संलग्न भएको खुलासा भएको छ।
होदा दुवईमा बसेर अन्तराष्ट्रिय आपराधिक गिरोहका लागि नेपाल र भारतमा आपराधिक गतिविधी गर्दै आएका थिए । केही समयअघि होदाकै निर्देशनमा दुई भारतीय युवकको हत्यामा संलग्न चार जनाको नाम मंगलबार बारा प्रहरीले सार्वजनिक गरेपछि यस्तो रहस्य सार्वजनिक भएको हो। होदा सँगै मंगलबार बाराको महागढीमाई नगरपालिका तेगछीयाका २७ बर्षीय गिरी बाबा भन्ने बृजकिशोर गिरी, कलैया नगरपालिका ४ का २४ बर्षीय आशीष सिंह, कलैया नगरपालिका १० का ३५ बर्षीय मोजाहीर अन्सारी र कलैया नगरपालिका ४ का २३ बर्षीय उमेश कसमार सार्वजनिक भएका छन्।
होदा दोश्रो संविधान सभाको निर्वाचनमा बाराको क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट प्रत्यक्ष तर्पm चुनाव लडेका थिए । उनी चुनावमा ६३ मत मात्र प्राप्त गरी पराजित भएका थिए ।
चुनावमा साढे दुई करोड रुपैयाँ ऋण लागेपछि उनी दुई वर्ष पहिले दुवई गएका थिए । दुवईमा पुगेपछि उनको अन्तराष्ट्रिय आपराधिक गिरोहसंग सम्पर्क भएको र दुई वर्षदेखि उनले त्यही गिरोहका लागि नेपाल र भारतमा आपराधिक गतिविधी गर्दै आएको अनुसन्धानका क्रममा खुलेको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।
सुरुमा भारतीय जाली नोटको कारोबारमा लागेका होदाले केही समय यता दुवईमा बसेर आईएसआईको निर्देशनमा भारतको विभिन्न स्थानमा रेल्वे स्टेशन र रेल्वे ट्रयाकमा बम विस्फोट गराउने गतिविधी गर्दै आएको प्रहरीले बताएको छ।
‘होदाले काम गर्दै आएको अन्र्तराष्ट्रिय आपराधिक गिरोहमा नेपालका अरु चार-पाँच जना पनि संलग्न रहको सूचना प्राप्त भइसकेको छ’, बाराका प्रहरी उपरीक्षक उप्रेतीले भने ,‘उनीहरुको पहिचान भइसकेको छ, पक्राउ गर्न मात्र बाँकी छ ।’
होदाले पाकिस्तान, मलेसिया , दुवई र भारतमा पटक–पटक पुगेर अन्र्तराष्टिय आपराधिक गिरोहको बैठकमा सहभागी भएको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक उप्रेतीले बताए ।
Previous Articleसुन तस्करसँग मिलेरै बनेका अर्बपति
Next Article अबको निर्वाचनमा विद्युतीय मतदानको तयारी