काठमाडौँ, २५ माघ – स्थानीय निर्वाचन मिति घोषणा भएको स्थितिमा संविधान संशोधन प्रस्ताव छलफलपछि मतदानबाट टुंग्याउन अवरुद्ध संसद् खुलाउने निष्कर्षमा पुगेको एमालेले पार्टीको रणनीति बदलेको छ । प्रस्तावको विपक्षमा मतदान गर्ने गरी सदन खुलाउने निष्कर्षमा पुगेको एमालेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले जसरी पनि संशोधन पारित गरेपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने मोर्चासँग सहमति गरेपछि रणनीति बदलेको छ ।
‘शेरबहादुरजीले विपक्षीबाट चोरेर भए पनि संशोधन पारित गर्न साम, दाम, दण्ड, भेदको नीतिअनुसार दुईतिहाइ पु¥याउने कुरा गर्नुभयो, यो अत्यन्त घिनलाग्दो खेलको प्रस्ट संकेत हो,’ उपाध्यक्ष वामदेव गौतमले भने, ‘अब संशोधन प्रस्ताव फेल हुने सुनिश्चित देखिए मात्रै मतदानका लागि सदन खोल्ने निर्णयमाथि पुनर्विचार गर्छौँ, अन्यथा अवरोध गरेर भए पनि राष्ट्रिय हितविरुद्धको प्रस्ताव पारित हुन दिन्नौँ।’
यसअघि एमालेले निर्वाचन मिति घोषणा भए संशोधन प्रस्तावको सट्टा राष्ट्रिय सभाको निर्वाचकमण्डल फेर्ने गरी पूरक संशोधन ल्याइए मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने मूल्यमा पारित गर्न तयार रहेको संकेत गरेको थियो ।
दोधारमा कांग्रेस
कांग्रेसले संविधान संशोधन गरेर चुनावमा जाने कि संशोधनमा सहमति नजुटे पनि चुनावमा जाने भन्नेमा प्रस्ट धारणा बनाएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेतासँग आइतबार आफ्नै निवासमा कुराकानी गर्दा संशोधनमा दुईतिहाइका लागि प्रयास गर्ने आश्वासन दिएका थिए ।
तर, सभापति देउवा नै भित्री रूपमा संशोधन पास भएपछि मात्र चुनावमा जाने पक्षमा नभएको कांग्रेस नेताहरू नै बताउँछन् । देउवा आफैँ संशोधनको लागि पहल गर्ने, तर पास नभए पनि मोर्चालाई आगामी जेठसम्म स्थानीय चुनावमा जानका लागि प्रेरित गर्दै आएका छन् । महामन्त्री डा. शशांक कोइराला विरोधका बीच संविधान संशोधन गर्न नहुने पक्षमा छन् ।
यस्तो दोधारमा रहेको कांग्रेसले संशोधनमा देखिएको सकसलाई फुकाउने गरी न कुनै विकल्प ल्याएको छ, न त वार्ता र संवादलाई नै जोड दिएको छ । नयाँ पत्रिका