राजेशचन्द्र रा.भ.
बागलुङ नगरपालिका बिरूद्द यतिबेला नगर बासि आन्दोलनमा उत्रिएका छन् । दिनहुँजसो नयाँ–नयाँ खालको आन्दोलन गरेर सबै नगरबासिलाई बागलुङ नगरपालिकाले गरेको गलत क्रियाकलाप बारे जानकारी गराउने काम समेत आन्दोलन गर्ने सँघर्ष समितिले गरिरहेको छ । देशमा २०७२ साल बैशाख १२ र २९ गते गएको बिनाशकारी महाभूकम्प पछि सरकारले घर तथा भबन बनाउने नयाँ कार्य विधि बनाएपछि अहिले त्यो नियमको आआफ्नो किसिमले ब्याख्या गर्दा अहिले बागलुङ नगररबासिले नराम्रो दुःख पाइरहेका छन् । कार्यालय प्रमुख देखि नगरपालिका कार्यालयकै प्राबिधिकको फरक–फरक काम कुराले गर्दा बागलुङ नगरबासि आन्दोलनमै उत्रिएका छन् । हुनत सरकारले भूकम्प पछि बनाएको नियमले जनतालाई सुरक्षित घर बनाउ, आफ्नो ज्यान बचाउ भन्ने नै हो तर कतिपय बनेका नियम कानुन ब्यबहारिक नभएको भनेर धेरै ठाउँमा आलोचना भएपछि केही हेरफेर समेत नगरेको हैन । सरकारले तर बागलुङ जिल्लाको सवालमा नक्सा पास गर्ने कुराले धेरै झन्झट नगरबासिले ब्यहोर्नु परेको कुरा सारा दुनियाँलाई थाहा छ ।
सबैभन्दा महंगोमा दाममा जनताले खाइ नखाई गरि करोडौं मुल्य तिरेर किनेको घडेरी दुईवटा कोठा बनाएर बस्न अनुमती माग्दा आलटाल गरेपछि अहिले बागलुङ नगरपालिका बिरूद्ध यतिबेला तालाबन्दी देखि हस्ताक्षर अभियान नै चलिरहेको छ । नेपालको कानुन दैबले जानुन भनेझै अहिले केही ब्यक्तिले आफ्नो खुशी नगरपालिकाबाट नक्सा पास नगरि घर बनाउने काम समेत तिब्रगतिमा भैरहेको छ त्यसलाई रोक्ने हैसियत समेत नगरपालिका सँग छैन जसले जे गरेपनि हुने तर सर्बसाधारण जनताले भने नियम अनुसार अनुमति माग्दा धेरै दुःख पाउनु परेको छ ।
अहिले बागलुङ नगरपालिकाका पुर्ब उपमेयर पध्मचन्द्र राजभण्डारी, ईन्जिनियर बिकास पौडेल, जिल्ला बिकास समिति बागलुङका पुर्ब सभापति सुरेन्द्र खड्का समेत अहिले आन्दोलनमा उत्रिएका छन् । नगरपालिका बिरूद्ध हस्ताक्षर अभियान संचालन गरि नगरबासिको माग गुनासो प्रमुख जिल्ला अधिकारीलाई बुझाउने काम समेत सम्पन्न भएको छ तर जनताको माग बारे अहिलेसम्म कुनै सम्बोधन भएको छैन । अहिले पनि नगरपालिका र नगरबासि बिच मनमुटाव जारी छ स्थानीय निकायमा जनप्रतिनिधि नभएको पनि धेरै बर्ष भैसक्यो अहिले कर्मचारीले नगरपालिका चलाउन थालेपछि अहिले अस्तब्यस्त बन्न पुगेको छ । नक्सापास देखि घर बनाउने सडक मापदण्ड कै बिषय अहिले सम्म अन्यौलमा रहेको कारणले पनि बागलुङ नगरबासिले पाउनु दुःख पाएका छन् ।
नगरपालिका भित्र रहेका ईन्जिनियर कर्मचारी कसैले पनि घर तथा भबनको नक्सा लेखन नपाउने नियम भए पनि त्यो लागू भएको छैन । नगरपालिका भित्र कै ईन्जिनियर त्रिलोचन गिरी र दिपेन्द्र भण्डारीले घर तथा भबनको नक्सा बनाए सहज रूपमा पास हुने अन्यत्रबाट नक्सा बनाएर ल्याए पास गर्न झन्झट गर्ने गरेको गुनासो बागलुङ नगर भित्र ब्याप्त भएपनि यो समस्याको हलभने भएको छैन । बागलुङ नगरपालिका कार्यालयका कार्यकारी प्रमुखले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन नसक्दा नगरपालिकाको कार्यालय अस्तब्यस्त बन्न पुगेको छ । सबैभन्दा बढी प्रमुख भएको कार्यालय कुन हो भनेर बागलुङमा प्रश्न सोधे जसले पनि सहजरूपमा उत्तर दिन सक्छन् त्यो हो बागलुङ नगरपालिका कार्यालय जुन अफिसमा ४ दर्जन भन्दा बढी प्रमुख छन् । बागलुङ नगरपालिका भित्र कर्मचारीको गुट, उपगुट छ । नयाँ कार्यकारी प्रमुख सरूवा भएर आए पछि कसले आफ्नो अनुकूल चलाउने भन्ने खेल शुरू हुन्छ । अहिलेसम्म यहीँ रोगले ग्रस्त छ बागलुङ नगरपालिका । प्रमुख भएर आउने ब्यक्तिले कहिले पनि आफु प्रमुख हो भन्ने धारणा बनाउन सकेको देखेका छैनन् । नगरबासिले त्यसैलाई आफ्नो दुनो सोझाउने खेल चलिरहेको छ । बागलुङ नगर भित्र जतासुकै ब्यथिति छ कहि पनि आशा लाग्ने ठाउँ देखिदैन ।
जसले जे गरेपनि हुने कसलाई नियम कानुनले छुँदैन अख्तियारमा पटक–पटक मुद्धा परे पनि त्यसको पनि कुनै अर्थ छैन । भ्रष्टाचार भन्ने कुरा त सामान्य भै सक्यो अहिले यो बारेमा चर्चा नै हँुदैन भने पनि हुन्छ । बागलुङ नगरपालिका अहिले खुब चर्चामा छ । कहिले नगर परिषद मै बबाल हुन्छ, कहिले तालाबन्दी हुने कुरा त सामान्य जस्तो बनिसकेको छ । बागलुङ नगरबासि चरणबद्ध आन्दोलनको तयारीमा लागेका छन् तर अहिलेसम्म त्यसलाई सम्बोधन गर्ने बारे कुनै पहल नै भएको छैन । जनताले करोडौं मुल्य पर्ने १७ रोपनी जग्गा बसपार्क निर्माणका लागि नगरपालिकालाई निःशुल्क दिदा समेत काम शुरूवात गरेको छैन । बसपार्कको लागि जग्गा दिने दाताहरू अहिले निराश भएका छन् । मालपाएर पनि चाल नपाउने नगरपालिकाले जनताको भावनामाथि खेलबाड गरेको मात्रै छैन जिल्लाको बिकास समेत अबरोध गरेको देखिन्छ । अहिले भूकम्पपछि घर तथा भबनको नक्सा पास गर्दाखेरी माटो परिक्षण गर्नुपर्ने बाध्यता पारेर एउटै ब्यक्तिसँग कम्तीमा ५० हजार रूपैयाँ अशुल गरेर जनताको ढाड सेक्ने काम हुँदा पनि प्रहरी प्रशासन चुपचाप देखिन्छ । साच्चिकै माटो परिक्षण गर्नुपर्ने हो कि होइन नियम के हो कसैलाई थाहा छैन । नेपालको कुन ठाउँमा कसले कसरी माटो परिक्षण गर्दछ भन्ने कुनै जानकारी पनि छैन सबै कुरा हचुवाको भरमा चलेको छ । नगरपालिकाको कर्मचारीलाई माटो परिक्षण कमाउने धन्दा बनेको छ ।
किन के को लागि माटोको परिक्षण गर्नुपर्ने अनि ठिक बेठीक भन्ने निकाय कुन हो सबै अन्यौल नै छ । सरकारले ठुलो भबन निर्माण गर्नु परेको खण्डमा ५ तला भन्दा माथि घर बनाउने सवालमा मात्रै माटो परिक्षण गरे पुग्नेमा अहिले सबैलाई सामान्य घर निर्माण गर्दा समेत अनिवार्य माटो परिक्षण गर्न लगाएर मोटो रकम असुली गर्ने खेल चलिरहेको छ । अहिले बागलुङ नगरपालिका भित्र घर बनाइरहेका सर्बसाधारणले माटो परिक्षणको नाममा ठगिएको गुनासो गरिरहेका छन् ।
अहिले आन्दोलन चलिरहेको छ यसले के निकास निकाल्छ त्यो भने हेर्न बाकि नै छ । साच्चै हामीले बागलुङ नगरपालिकालाई राम्रो सुन्दर बनाउने होभने सबैले आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी छ । स्थानीय निकायलाई बलियो बनाउनको लागि नगरबासिले तिरेको करलाई सहि सदुपयोग गर्न सक्नुपर्छ भन्ने माग नगरबासिको छ । अहिले नगरबासि र नगरपालिका बिच जुन बिषयमा बिबाद सृजना भएको छ त्यसलाई हल गरेर जानू नै सबैभन्दा बढी बुद्धिमानी हुनेछ । नगरपालिकाले पनि जनतालाई सेवा सुबिधा दिने कामलाई प्रभाबकारी बनाउन जरुरी छ सधैं भरी जनतालाई दुःख दिने कामको भने अन्त्य गर्न जरुरी छ । सरकारले मध्य पहाडी लोकमार्ग सडक खण्डको दायाँ बायाँ २५÷२५ मिटर छोडेर मात्रै घर बनाउन पाउने भन्ने नियम कानुन बनाए पनि अहिले १५÷१५ मिटर मै नक्सा पास गरिदिने गरेको कुरा पनि बाहिर आएको छ । अहिले त्यसरी घर बनाउन दिने पछि सडक बिभागले भत्काउने काम नगर्ला भन्न सकिदैन सबै कुरा जानिबुझि गर्न गराउनु राम्रो हुन्छ । अब हुने आन्दोलनले सहि निष्कर्श निकाल्न जरुरी छ । यसबारे बागलुङ नगरपालिका कार्यालय र नगरबासी दुबै गम्भीर हुन जरुरी छ ।