देशमा प्रजातन्त्र प्राप्तीको लडाईमा लागेको कारण तत्कालिन राणा शासकले मृत्यु दण्ड दिएका चार शहिदको स्मरणमा मनाईदै आइएको शहिद दिवश औपचारिकतामा सिमित बन्दै गएको छ । राणा बिरोधी अभियानमा लागेका कारण १९९७ सालमा हत्या गरिएका चार शहिदको योगदानलाइ बिर्सेर अहिले देशमा गनि नसक्नु शहिद समेत घोषणा गरिएको छ । जनआन्दोलनको क्रममा मारिएका लाइ गरिएको घोषणा ठिकै मान्नुपर्ने अवस्था छ । तर पछिल्लो समय जस्तो सुकै घटना र अवस्थामा मारिएकोलाइ पनि शहिद बनाउने चलन शुरु भयो । यसले वास्तविक रुपमा देशको मुक्तिका लागि लडेका योद्धाको अममान भएको छ । एउटा दल वा समूहले गरेको दवावकै कारण शहिद घोषणा भैरहेका छन् । राज्यले १० लाख रुपैयाँ पैसा दिने र शहिद घोषणा गरिदिने चलनले बास्तविक शहिद र उनीहरुको परिवारको अपमान भएको प्रष्ट हुन्छ ।
शहिद दिवश मनाउनु पर्छ भनेर सरकारले निरन्तर माघ १६ लाई बिदा दिने गरेको छ । तर यो दिवश औपचारिकतामा सिमित भएको महसुस हुन थालेको छ । खुला मंचमा गएर नेताहरुले माला लगाएर भाषण गर्ने, शहिदको नाममा भाषण गर्ने मात्र चलन बढेको छ । तर शहिद बनेकाहरुको योगदान र उनीहरुको मार्गलाइ कसैले पनि समात्न सकेका छैनन् । शहिद दिवशको नाउँमा तस्बिरमा फूलमाला चढाउँछन्, अनि फर्केपछि लगातार कुर्सीको खेलमा लाग्छन् । उनीहरुको व्यक्तिवादी, गुटबादी र जाती समूहबादी प्रवृत्तिले देशको विकास, राजनीतिक निकास, संविधान कार्यान्वयन जस्ता बिषय ओझेलमा परिरहेका छन् । संविधान कार्यान्वयनका लागि गर्नुपर्ने काम र त्यसको महत्वपूर्ण सूचक निर्वाचन हो । निर्वाचनलाइ अझै अन्यौल बनाएर गैरहेका दलहरुले शहिदको अपमान जानी जानी गरिरहेका छन् भन्न अतियुक्ती नहोला । किनकी शहिद बनेकाहरुले देशमा परिवर्तन आओस, दुइ छाक खानका लागि रोजगारीको अवसर पाइयोस् र देश स्वतन्त्र भएर रहन सकोस् भन्ने चाहना राखेका थिए । तर दिनदिनै विदेशी हस्तक्षेप भैरहेको देशको सामान्य समस्या समाधानमापनि चासो नराख्ने दलहरुले अहिले पनि शहिदको नाउँमा राजनीतिक गरिरहेको भने पटक्कै सुहाएको छैन ।
शहिदको नाउँमा स्थापना गरिएका र निर्माण थालिएका कैयौं संरचना अहिले पनि जीर्ण छन् । करोडौंका रकम खर्च हुन नसकेर फिर्ता भैरहेको छ, शहिदका शालिकहरु फोहोरको डुंगुरको रुपमा परिणत भएका छन् । सम्मान गर्न नसकेपनि अपमान समेत नगरे हुन्थ्यो भन्ने गरी ती पार्कहरुलाइ वेवास्ता गरिएको छ । आन्दोलनको क्रममा मरेर शहिद भएकाहरुका परिवारमा अहिले पनि उत्तिकै डरत्रास र भयको अवस्था जारी छ । राज्यको लागि मरेकाहरुका परिवारले दुइछाक सजिलै सँग खान पाएका छैनन् । उनीहरुको सामाजिक सम्मान पनि भएको छैन । जनआन्दोलनमा घाइते भएकाहरुले अहिले सम्म पनि उपचार खर्च नपाएका कैयौं उदाहरण छन् । कतिपय शहिद परिवारले आफ्नो आफन्तलाइ किन मारिएको हो भन्ने थाहा पाउन सकेका छैनन् । कतिपय अझै वेपत्ता छन्, उनीहरुको वास्तविक अवस्था पनि सार्वजनिक गरिएको छैन । उनीहरु मृतक हुन्, शहिद हुन् वा कहाँ छन् ? जानकारी समेत दिन नसक्ने गरी राज्य सधै निरिह बनिरहेको छ ।
यी सबै गुनासाहरुका बीच पनि अझै शहिदप्रति सच्चा श्रद्धाञ्जली हुने कुनै कार्यक्रम ल्याउन नसक्नुले राज्यपक्ष प्रति दिनदिनै घटेको विश्वास कहिले पलाउने हो ? आम जनता त्यसको उत्तर खोजी रहेका छन् ।