सरस्वती प्रतीक्षा
पोखराले मलाई किशोरकालीन दिनहरुमै केही सिकायो भने पोखरीलाई होइन, समुद्रलाई हेर्नुपर्छ भनेर सिकायो। यहाँको सेती नदीजस्तै हुन सिकायो। कहिले देखिने गरेर गड्गडाउँदै बग्नुपर्छ, कहिले शान्तसँग गहिरिएर बग्नुपर्छ, तर सुमद्रसम्म पुग्नलाई बगिरहनुपर्छ भन्ने सत्य सिकायो। म पनि यति बेला एकोहोरो बगिरहेकी छु। पर कतैको कुनै समुद्र ताकेर बगिरहेकी छु।
पटक–पटक अन्तर्वार्ता दिँदा अन्य प्रश्नहरु फरक रहे पनि एउटा प्रश्न चाहिँ सधैं साझा भेट्छुु। सबैले सोध्ने त्यो साझा प्रश्न हो- मोफसलमा बसेर साहित्यको क्षेत्रमा स्थापित हुन कत्तिको गाह्रो हुन्छ?
पक्कै पनि पोखरामा बसेर लेख्ने लेखक हुनाले यस प्रकारको प्रश्न तेर्सिनु स्वाभाविक पनि हो। प्रश्न एउटै भएजस्तै मैले दिने जवाफ पनि सधैं एउटै हुन्छ। प्रशासनिक हिसाबले राजधानी र मोफसलको अस्तित्व जीवित होला, तर सिर्जनात्मक हिसाबले काठमाडौं र पोखराको बीचमा अब कुनै दूरी बाँकी छैन। पोखरा अब ‘विचरा मोफसल’ रहेन। सिर्जना र सिर्जनात्मक क्रियाशीलताको सवालमा पोखराको आफ्नै केन्द्रीय सत्ता छ।
त्यसो त थोरैको निम्ति मात्र पोखरा आफैंमा एक यात्रा र गन्तव्यस्थान हो। धेरैको निम्ति यो एक ट्रान्जिट सहर हो। धेरैजसो त पढाइकै सिलसिलामा आउँछन् पोखरा। केही समय यो सहरमा बस्छन्। कथा कविता, गीत, गजल मार्फत आफ्ना रहरका रङहरु पोत्छन्। एउटा निश्चित समयपछि अर्को उडानको रङले आकर्षित हुन्छन् र त्यसैको पछिपछि लागेर पोखरा छाडेर जान्छन्।
बचेराजस्ता आफ्ना ससाना सपनाहरुको पोको बोकेर पढाइ वा जागिरको सिलसिलामा केही समय यो सहरमा अडिन्छन्। बिस्तारै ती स–साना सपनाहरुमा पखेटा पलाउन थाल्छ। अनि यो सहरलाई ट्रान्जिट सहरलाई झैं ट्रिट गर्दै बाईबाईको हात हल्लाएर जान्छन्।
जाँदै गर्दा कतिले यो ट्रान्जिट सहरका प्रति कृतज्ञता ज्ञापन गरेर जान्छन्। कतिले मलाई यो सहरले यो दिएन, त्यो दिएन भन्दै गालीगलौजको उपहार दिएर जान्छन्। कम्तीमा पोखरालाई हेर्दा ‘ट्रान्जिट चस्मा’ लगाएर हेरिनँ मैले कहिल्यै, अथवा हेर्नु परेन।
२०५५ सालमा पहिलो पटक गुञ्जन पत्रिकामा छापिएको थियो मेरो कविता। ‘प्रश्नहरु नाजवाफ छन्’ शीर्षकको त्यो कविता नै मेरो औपचारिक साहित्यिक यात्राको प्रथम बिन्दु मान्छु। ठ्याक्कै त्यो समयदेखि यो समयसम्मको साहित्यिक यात्रालाई आफैंले केलाउँदा हर अर्थ र कोणमा पोखरामय पाउँछु आफैंलाई। पोखराले मलाई बढी माया गर्छ वा म पोखरालाई बढी माया गर्छु? त्यो त थाहा छैन । बस् थाहा छ एउटा कुरा– मेरो साहित्यिक पदार्पणको अर्थमा पोखरा एक पाठेघर हो, जहाँबाट म जन्मिएँ।
जन्मनै गाह्रो। जन्मेपछि हुर्कनै गाह्रो। हुर्के पनि सही वा गलत कुन तरिकाले हुक्र्यो? त्यो खुट्याउन झनै गाह्रो। मेरो आफ्नै कतिपय अनुभवले भन्छ, साहित्यको क्षेत्रमा आउनै गाह्रो छ। आएपछि टिक्न गाह्रो छ। टिकिरहन त झनै गाह्रो छ।
पोखरेली युवा सांस्कृतिक परिवार, जसलाई पोखराको मिनी एकेडेमी पनि भन्ने गरिन्छ, मेरो साहित्यिक यात्राको कथा यही संस्थासँग जोडिएको छ। मेरो उमेरभन्दा जेठो संस्थाले गर्ने उति बेलाका कार्यक्रमहरु, मेरो सिकाइका प्रमुख स्रोत थिए। समता काव्य सन्ध्या, जसलाई कविताको अघोषित पाठशाला पनि भन्ने गरिन्छ, यही काव्य पाठशालामा अग्रज साहित्यकारहरुले वाचन गर्ने कविताहरु सुनेर कविताप्रतिको आफ्नो लगाव र धारणालाई खार्ने मौका पाएकी हुँ।
त्यसो त यो संस्थाको जगमा मेरा अत्यन्त प्रिय र निकटम अग्रजहरु दुर्गा बराल, सरुभक्त, तीर्थ श्रेष्ठहरु नभएका होइनन्, तर एक छोरी वा साथीका रुपमा उहाँहरुले संस्थागत रुपमा कुनै कुराका लागि कहिल्यै छुट वा सहुलियत दिनु भएन। मलाईजस्तै अरु थुप्रैलाई माया गर्नुभो, तर निगाहवश कहिल्यै कसैलाई उचालेर पदमा राख्नु भएन।
आफ्ना आँखाहरुमा कहिले दूरबिन त कहिले सूक्ष्मदर्शकयन्त्र फिट गररे हर सिर्जना र साहित्यिक क्रियाकलापहरुमा कडा जाँचकीले निर्वाह गर्ने भूमिका निर्वाह गर्नुभो, तर खरो नउत्रनेलाई कुनै मौका नै दिनुभएन। म आफैं पनि एक वर्ष साहित्य संयोजक र तीन कार्यकाल उपाध्यक्षमा रहेर काम गरेपछि अध्यक्षका रुपमा निर्वाचित भएकी थिएँ। कामको परख गर्ने ती आँखाहरुसामु थोरै मात्र मेरा पाइला लरखराएको भए संस्था गठनको पैंतीस वर्षपछि पहिलो महिला अध्यक्ष हुने मौका मलाई दिने थिइएन पक्कै।रमाइलो कुरा त के भने, म जन्मेको सालमा साहित्यकार उषा शेरचन संस्थाको उपाध्यक्ष बन्नुभएको रहेछ। म जन्मेर हुर्केर, बढेर त्यसको तीन दशकपछि संस्थाको दोस्रो उपाध्यक्ष हुन पुगेछु र त्यसलगत्तै बल्ल अध्यक्ष। पोखराजस्तो उर्वर सहरमा समेत बीचको समयमा तीन–तीन दशकसम्म त्यत्रो भ्याकुम किन भो? यो प्रश्नको जवाफ मैले आजसम्म भेट्न सकेको छैन।
कहिलेकाहीँ एकान्तमा सोचिबस्छु— कतै यहाँ साहित्यिक साम्राज्ञी नजन्मेको कसैले नहिँडेको बाटोमा हिँड्ने आत्मबलकै कमीले त होइन? अरुले बनाएको बाटोमा हिँड्न पो सजिलो हुन्छ, बाटो नै नभएको ठाउँमा खोस्रँदै बाटो बनाएर हिँड्न कहाँ सजिलो हुन्छ?… यति बेला म आफैंलाई पनि त्यही खोस्रँदै बाटो बनाउँदै हिँडिरेको यात्री ठान्छु। हिँडेर म आफैंले आफ्नो निम्ति तय गरेको गन्तव्यस्थान कहिले भेट्छु? अहिले नै भन्न सक्दिनँ। तर भीरपहरा खोस्रँदै गर्दा कहिले पहाडमाथिबाट आफैं गुडुल्किँदै आइपुग्ने ढुंगाहरु, कहिले आफ्नै वा पराइले टाउकोमाथि हान्ने ढुंगाहरु छेल्दै हिँड्नुको अप्ठ्यारो अनि मज्जा। यही अप्ठ्यारो बाटोलाई मूलबाटो बनाएर हिँडेको पनि आज दुई दशक पुग्न थालिसकेछ।
साहित्यका सुरूआतकालीन दिनहरुमै संरक्षण कविता आन्दोलानमा लाग्नु साहित्यिक जीवनको अर्को महत्वपूर्ण पाटो सम्झन्छु। कतिपय भ्रमहरु चिर्न वर्षौं लाग्न सक्थ्यो, तर यही आन्दोलनमा लागेका कारण कतिपय पूर्वनिर्धारित मान्यता र भ्रमहरुसँग समयमै ठोक्किन पुगेँ र पुगेँ झल्यास्स ब्युँझन। आज पनि जब कसैले नबुझिने कुरा गर्छ वा कुरामा अनावश्यक बनावटी फूलबुट्टा भर्छ, तब मान्छेहरु उसलाई ‘कस्तो साहित्य छाँटेको’ भन्ने गर्छन्। मानौं, साहित्य भनेकै नबुझिने कुराहरुको एउटा पुलिन्दा हो।
सुरूमा यस्तैयस्तै भ्रमको सिकार थिएँ म पनि। अरुभन्दा फरक लेख्ने ध्याउन्नमा अरुले नबुझ्ने वा बुझ्न कठिन ठूला–ठूला शब्दहरुको प्रयोग गर्नु, बिम्ब र प्रतीकका नाममा पश्चिमतिरका मक्किसकेका, आउटडेटेड तर गह्रुंगा–गह्रुंगा डकारहरु डकार्नु, जटिलताहरुको गाँठो, गाँठो र गाँठो थोपर्नु कविताहरुमा।
संरक्षण कविता आन्दोलनको क्रममा गाउँघरतिर हिँड्न थालेपछि कविता वास्तविकताको कति नजिक भएर बग्नुपर्छ, त्यसको अन्दाज हुन थाल्यो। जसरी गाउँघरतिरका साधारण–साधारण कुराहरुमा असाधारण सौन्दर्य छिपेको हुन्छ, कविता पनि ठीक त्यसरी नै त्यही बाटोमा हिँड्नुपर्छ भन्ने चेत तिनै दिनहरुमा पलाएको हो। कवितामा अर्गानिक कच्चापदार्थ प्रयोग गर्न हाम्रै अर्गानिक गाउँघरहरुले सिकाए। जटिल कुरालाई जटिलतापूर्वक त जसले पनि भन्न सक्छ। जटिलभन्दा जटिल कुरालाई सरलतापूर्वक भन्न र आममान्छेसँग अझै नजिकिन गाउँघरमा परिव्याप्त परिदृश्यले सिकाए। अहिले जो जहाँ भए पनि कविहरु रोशन शेरचन, भूपिन, सरिता तिवारी हामी सबैको एउटा महत्वपूर्ण काव्यिक स्कुल संरक्षण कविता आन्दोलन थियो कुनै बेला। अहिले आएर वैचारिक वा सैद्वान्तिक बाटो फरक होला प्रत्येक कविको, त्यो बेग्लै कुरा!
साहित्य लेखनमा लाग्दा बरू धेर–थोर त्यसको ब्याज खाने दिन आइपुग्छ। ढिलो–चाँडो एउटा मात्र किताब राम्ररी बिक्यो भने एउटा सामान्य जागिरेले वर्षौंवर्षमा कमाउने पैसा एउटा लेखकले एकै वर्षभित्र कमाउन सक्छ। कमाएका पनि छन्। तर निःस्वार्थ रुपमा साहित्यिक गतिविधिहरुमा लाग्नु भनेको कहिल्यै जस नपाउने र ब्याज खान पनि नपाउने कर्ममा लाग्नु हो। कतिले साहित्यिक गतिविधिहरुलाई नै माध्यम बनाएर थुप्रै धनाढ्यका पैसामा रजाइँ गरिरहेछन्, त्यो अनुसन्धानको अर्को पाटो होला!
पोखरालाई केही कुराले पोखरा बनाएको हो भने त्यो यहाँका वाङ्मयिक क्रियाकलापहरुले पनि हो। आज पनि पोखरामा हुने साहित्यिक कार्यक्रमहरु आफैंमा एउटा इतिहास र नजिर बोकेका कार्यक्रमहरु बन्न पुग्छन्। त्यो कुन साहित्यकार वा साहित्यिक पाठक होला, जसले पोखरेली युवा सांस्कतिक परिवारद्वारा आयोजना गरिने टिकटमा मुक्तक कार्यक्रमको चार्म थाहा नपाएको होस्! र्यान्डम रिडर्स सोसाइटी अफ नेपालले प्रत्येक महिना आयोजना गर्ने परिचर्चा कार्यक्रम र त्यसमा हुने बौद्विक र तातो बहसको तरंग राजधानीसम्म नपुगेको कुनचाहिँ महिना होला र! गजल सन्ध्या, मुक्तक मञ्च, प्रगतिशील लेखक संघ, अली मिया लोकवाङ्मय प्रतिष्ठानजस्ता दर्जनौं संस्थाहरुले केही न केही कार्यक्रम गरेर यहाँको वाङ्मयलाई उर्वर बनाइरहेकै छन्।
गत वर्ष पोखरामा पहिलो पटक आयोजना गरिएको लिटरेचर फेस्टिभलको अभूतपूर्व सफलता र यस वर्ष पनि त्यसको निरन्तरता यहाँको भूमिको अर्को महत्वपूर्ण पाटो हो।
अझ पछिल्लो चरणमा केही जोसिला युवाहरुको समूह ‘युथ क्रिएसन थिएटर’ को सक्रियतामा पोखरामा बन्दै गरेको नाटकघरको कारण पनि यहाँ थप रौनकता थपिनेमा सबै विश्वस्त छन्।
परिवारमा सिक्नुपर्ने पारिवारिक संस्कार भएजस्तै पोखरासँग केही छ भने वाङ्मयिक संस्कार छ, जसमा मलाई सधैं गर्व हुने गर्छ। राजनीतिक आस्थाको नाममा फगत पार्टीगत आस्था र पूर्वाग्रहको रोगले ग्रस्त केही मनोरोगीहरु नभएका होइनन् यो सहरमा पनि, जसले आफ्नो पार्टीको सदस्यता लिएको छ, छैन भन्ने आधारमा ‘फलानो स्रष्टा राम्रो, फलानो नराम्रो’ भन्ने बिल्ला भिराउँछन् सधैं। आफ्नो क्षमतालाई तिखारेर लार्भाबाट पुतली बनाउने बारेमा सोच्दैनन् कहिल्यै, अनि वर्षौंदेखि उडिरहेका केही थान पुतलीहरु देखेर ‘पोखरामा साहित्यिक सिन्डिकेट’ छ भन्दै कोकोहोलो मच्चाउनेहरु पनि नभएका होइनन्।
त्यसो त कुवा वा पोखरीमा हुने पानी पनि पानी नै हो, तर कुवा वा पोखरीको संसार नै पानीको संसार हो भन्नु भूल हो। छाँगाछहरा, नदीनाला र समुद्रको पानीलाई आफ्नो लक्ष्य बनाउनेले कहिल्यै कुवा वा पोखरीको पानीलाई अन्तिम सत्य मानेर जमेर बस्दैन।
पोखराले मलाई किशोरकालीन दिनहरुमै केही सिकायो भने पोखरीलाई होइन, समुद्रलाई हेर्नुपर्छ भनेर सिकायो। यहाँको सेती नदीजस्तै हुन सिकायो। कहिले देखिने गरेर गड्गडाउँदै बग्नुपर्छ, कहिले शान्तसँग गहिरिएर बग्नुपर्छ, तर सुमद्रसम्म पुग्नलाई बगिरहनुपर्छ भन्ने सत्य सिकायो। म पनि यति बेला एकोहोरो बगिरहेकी छु। पर कतैको कुनै समुद्र ताकेर बगिरहेकी छु।
(फाइन प्रिन्टले नेपाल साहित्य महोत्सव २०१७ को सन्दर्भमा प्रकाशन गरेको हर्पन विशेषबाट)
पोखराः एक पाठेघर (धेरैको निम्ति यो एक ट्रान्जिट सहर)
Previous Articleगायक प्रकाश ओझा पक्राउ, १० बर्ष कैद
Next Article दलीय भागवण्डामा निर्वाचन आयोगका तीन सदस्य सिफारिस