काठमाडाैं, १४ माघ – प्रधानमन्त्री पुष्पकमल दाहालले गत शनिबारको प्रमुख तीन दल बैठकमा एक साताभित्र निर्वाचन मिति घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसलाई प्रमुख प्रतिपक्षी एमालेले पनि समर्थन जनाउँदै त्यो बीचमा निर्वाचन कानुनहरू पारित गर्न सहयोग गर्ने वचन दिएको थियो । तर साता बित्न लाग्दा पनि चुनाव मिति घोषणा नभएपछि प्रमुख प्रतिपक्षी एमाले प्रधानमन्त्रीप्रति झन् सशंकित बनेको छ ।
मधेसी मोर्चा सहमत भई चुनाव हुने सर्तमा प्रधानमन्त्री दाहाललाई सहयोग गर्ने धारणा एमाले नेताहरूले राखेका थिए । तर समय त्यत्तिकै बित्न लाग्दा विपक्षी दल थप सशंकित बन्न थालेको छ ।
‘निर्वाचनसँग सम्बन्धित कानुनहरू पारित गर्ने, निर्वाचन घोषणा गर्ने प्रतिबद्धता उहाँले हामीसँगको बैठकमा गर्नुभएको थियो,’ बालुवाटार बैठकमा संलग्न रहेका एमाले उपाध्यक्ष भीम रावलले भने, ‘तर एक सातामै उहाँको जिब्रो लटपटिन थालेको छ, चुनाव घोषणा नगर्ने जस्तो अभिव्यक्ति आउन थालेको छ ।’
प्रधानमन्त्री दाहालले बालुवाटार बैठकमा निर्वाचन कानुनहरू छिटो पारित गराउने, चुनाव मिति घोषणा गर्ने र हाल विचाराधीन संविधान संशोधन प्रस्तावको सट्टा राष्ट्रियसभा गठनका लागि आवश्यक निर्वाचक मण्डलसम्बन्धी प्रावधान फेर्दै पूरक संशोधन अघि बढाउने धारणा राखेका थिए । गाँउपालिका र नगरपालिकाका प्रमुखहरूको मतबाट राष्ट्रिय सभा छानिने प्रावधान हटाउँदा मधेसी मोर्चाका नेताहरू मान्न सक्ने आकलन गर्दै प्रधानमन्त्री दाहालले पूरक संशोधनको कुरा उठाएका थिए ।
पूरक संशोधन प्रस्ताव पेस गर्नेबारे एमालेले बालुवाटार बैठकमै विरोध गरेको थियो । तर चुनाव हुने अवस्थामा अन्य कामका लागि सहयोग गर्ने प्रतिबद्धता एमाले नेताहरूले गरेका थिए । कान्तिपुर
Previous Articleनिर्वाचनमा जानुको विकल्प छैन-अोली
Next Article सरकारले गर्यो बजेट विनियोजन, चीनले सिग्नल दिएन