राजेशचन्द्र रा.भ.
गर्भपतनलाई सरकारले कानुनी मान्यता दिएपछि अहिले यो नेपाली पुरानो उखान यतिबेला याद आयो मलाई ‘नपाउनेले केरा पायो, बोक्रासँगै खायो’ भनेझै भएको छ । खै के हुन लागेको हो देशमा अचम्म भएको छ । के हो गर्भपतन सेवा भनेको अहिले गाउँ देखि शहर सम्म सबै ठाउँमा यो सुबिधा भए पछि बैध अबैध गर्भवती भए यसलाई सजिलोसँग फाल्ने हतियार भएको छ । कतिपय अबस्थामा यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । सरकारले नेपालका महिला अधिकारबादी लगायत देशी बिदेशी गैरसरकारी संघसंस्थाको दबाब र प्रभावमा परेर गर्भपतन गराउन पाउने कानुनी मान्यता दिएको कुरा दुनियाँलाई थाहा छ । अहिले सबैभन्दा बढी यसको फाइदा भर्खरै प्रेम गरेर गर्भवती भएका युवातीहरूले लिइ रहेका छन् । मेडिकल पसलमा गएर गर्भ नरहने औषधि किनेर खाने कुरा त सामान्य भन्दा सामान्य भै सक्यो । अहिले हामी २१ औ शताब्दी प्रबेश गरेको भनी गौरब गरिएका छौ । छोरा छोरी बराबरी भन्ने नारा नसुन्ने नेपाली सायद भेट्न मुश्किल पर्छ ।
प्रत्येक सभा, सम्मेलनमा हामीले बालबालिकाको कुरा गर्दछौं । बालअधिकार बाच्न पाउने अधिकारको कुरा खुब मजासँग गरेको सुन्छौ । महिला अधिकारकर्मीले मच्चि–मच्चि मच्चनै थर्काउने गरि भाषण गर्ने कुरा त सामान्य भै सक्यो तर अहिले समाजमा छोराछोरी बराबरी भनेर जति सुकै चिच्याए पनि छोरा पाउनको लागि अहिले पनि अनेक किसिमको उपचार मात्र नभएर उपाए समेत खोजिरहेको देखिन्छ । अहिले साच्चै भन्नुपर्दा गर्भमा छोरी भए अप्रेसन गरेर फाल्ने क्रम दिन दुई गुणा, रात चौगुणा बढेर गएको तथ्य सबै नेपालीलाई थाहा छ । अहिले छोरा पाउने आशामा दिनहुँ जसो गाउँ देखि शहरसम्म गर्भपतन गराइ सयौ छोरीहरूको गर्भ भित्रै हत्या गरिएको बिषयमा भने कसैले पनि ध्यानदिएको देखिदैन ।
अघिपछि अन्त चैतमा जन्त भनेझै अहिले कसैलाई छोरी भएको नाममा गर्भपतन पाउँदा खुब खुशी लागेको देखिन्छ । सरकारले कानुनी मान्यता दिए पछि अस्पतालमै गएर बैध रूपमा बाहिर क्लिनिकमा समेत गर्भपतन बिस्तारै बिकृती तर्फ त गैरहेको छैन । बिचार गर्नुपर्ने बेला भै सकेन र ? हो अमेरिका तिर सरकारले नागरिकको सुरक्षाको लागि हतियार राख्न दिएको छ तर त्यहाँ त्यही हतियारको गलत प्रयोग गरेको घटना बेलाबेलामा सुन्न पाइन्छ तर नेपालमा किन के को लागि गर्भपतन गराउन पाउने हो भन्ने कुरालाई पन्छाएर खाली आफ्नो स्वार्थ अनुसार यसको प्रयोग गरेको पाइन्छ ।
अहिले हाम्रो कारणले गर्दा दिनहुँ अबैध गर्भपतन गराउने क्रम बढेको मात्रै होइन यो सस्थागत समेत बन्दै गैरहेको छ । यो दुखलाग्दो बिषय हो । तर छोरा पाउने नाममा गर्भ भित्र भएको छोरी गर्भपतन गराउनु भनेको छोरीको बाच्न पाउने अधिकार हनन् मात्र होइन हत्या नै भैरहेको कुरा सत्य हो । तर यस बारे बोल्ने कसले महिला दिदीबहिनीले पाएको अधिकारको यहाँ बिरोध गर्न खोजेको हैन । यहाँ अहिले उठाउन खोजेको बिषय के मात्र हो भने समाज झन भन्दा झन स्वार्थी हुँदै गैरहेको देखिन्छ । हामीले बाहिर समाजमा कार्यक्रम सभासम्मेलनमा बोल्ने बेलामा जतिसुकै छोराछोरी बराबरी भनेर भाषण गरे पनि अहिलेसम्म छोरा नभए सम्म हुँदैन भन्ने मूल्य र मान्यता झन बढेर गएको देखिन्छ । दिनभरी कार्यक्रममा छोराछोरी बराबरी भनेर घरमा आयो पछि फेरि सासू ससुरा देखि परिवारबाट छोरा नभएको भनी नेपाली हिन्दु धर्मको मान्यता अनुसार श्री गणेश पुराण लगाउने देखि मूल्य र मान्यताको कुराले हामीलाई दोहराउछ ।
फेरि हामी घरभित्र आएर छोराछोरी बराबरी भनेर भन्न सक्ने अबस्था छैन । हामी अझै पनि आफ्नो घर परिवारलाई नै परिवर्तन गर्न सकेका छैनौ अनि बाहिर समाज परिवर्तन गर्न हिडिरहेका छौ । यो हाम्रो कहि पनि नपुग्ने गन्तव्य हो जस्तो लाग्छ न त हामीलाई परिवार बिश्वास गरेको छ न त समाजले नै किनभने हामीले सभा सम्मेलनमा गर्ने भाषणलाई एउटा मनोरञ्जनको रूपमा लिइएको देखिन्छ । साच्चै हामी छोराछोरा भनेर किन हिडिरहेका छौ त ? छोरा नभए कुल नचल्ने देखि अनेक खाले मूल्य र मान्यतालाई देखाएर छोरा पाउन श्रीमतीलाई मानसिक दबाब, सामाजिक दबाब सृजना गर्दछौं । त्यसको नाममा हामीले आफ्नो गर्भमा छोरा छ कि छोरी छ भनेर स्वास्थ संस्थामा पुगेर भिडियो एक्सरे गराउने अनि छोरा भए जन्माउने छोरी भए गर्भपतन गराउने कामलाई निरन्तरता दिदै आएका छौ । साच्चै भन्ने हो भने हाम्रो समाजमा महिला दिदीबहिनीले सहि गलत यो हो भनेर भन्न नसकेको कारणले पनि दिनहुँ गर्भ भित्र भएको छोरीले बाहिरी सँसार देख्न नपाइकन मर्न परिरहेको छ ।
हामीले भाषण एउटा गर्दछौं तर व्यवहार अर्को गर्ने कारणले पनि समाज सुधार हुन नसकेको हो भन्ने कुरामा कुनै शंका छैन । धार्मिक ग्रन्थ महाभारतमा भगवान श्री कृण्णले भन्नू भएको एउटा कुरा सम्झना भयो पाण्डब पत्नी द्रोपतिको कौरब दुस्सानले चिरहरण गर्ने समयमा भीष्म पितामह द्रोर्णचार्य कृपाचार्य लगायतका महात्मा भएको ठाउँमा कसैले पनि त्यो समयमा द्रोपति चिरहरणको बिरोध गरेनन् । तर उनका श्रीमानहरूले त्यो घटनाको बदला लिने घोषणा गरे यसै सन्दर्भमा पाप र धर्मको समेत ब्याख्या गर्दै यो संसार मरेर गएका प्रेतआत्माले भन्दा पनि चाहिने ठाउँमा एक शब्द नबोल्ने महात्माहरूले बिगारिरहेको भनाइबाट पनि हामीले धेरै कुरा सिक्न सकिन्छ । भगवान श्री कृष्णले अन्याय गर्नु मात्र पाप हैन अन्याय सहनु पनि अर्को पाप हो भनेर जुन कुरा भन्नुभएको छ त्यो अहिले पनि मनन् योग्य छ ।
अहिले पाएको गर्भपतन गराउने सुबिधाको अहिलेसम्म जानेर वा नजानेर यसको चरम दुरुपयोग हँुदै आएको छ । अब यसलाई सबै मिलेर तत्काल रोक्न नसके पनि न्युनिकरण गर्न अबश्य सकिने छ । गर्भ भित्र छोरी भएको कारणले त्यसलाई अप्रेसन गरेर हत्या गर्ने कामलाई भने अब रोक्नु जरुरी छ । अब हाम्रो बहस सभासम्मेन देखि संसदसम्म गर्भ भित्र भएको छोरीको बाच्ने अधिकार सुरक्षित गरौ भन्ने हुनुपर्छ भन्ने लाग्छ । अहिलेको बैध, अबैध गर्भपतन गराउने नाममा केही स्वास्थको पैसा कमाउने धन्दा पनि बनेको छ । अरूको मजबुरीको फाइदा उठाउन सजिलो पनि भएको छ । अहिलेको बाताबरणले हो अब भने हामीले सभासम्मेलनमा खाली नाटक मञ्चन भन्दा पनि साच्चै बास्तबिकता तर्फ जाने कोशिस गर्न जरुरी छ । बालअधिकार महिला अधिकार हात्तीको देखाउने दात जस्तो हुनुहँुदैन अहिले अधिकारको कुरामात्र गरेर पुग्दैन कर्तव्यको पनि पूरा गर्न जरुरी छ । गर्भपतनलाई अधिकारको हतियार नबनाई छोरा पाउने नाममा छोरीलाई गर्भमै तुहाउने कामलाई भने निरूत्साहित गर्न जरुरी छ ।