कतारको राजकीय सत्ता सम्हाले यता अमिर तमिमले नेपाल सरकारका उच्च अधिकारीसँग पहिलोपटक संवाद गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न कतार सधैं अग्रसर रहेको बताए । ‘नेपालीप्रति कतारका अमिर निकै हर्षित रहेको पाएँ,’ परराष्ट्रमन्त्री महतले टेलिफोनमा भने, ‘नेपालको आर्थिक विकासमा सहयोग गर्न कतार सरकार तयार छ ।’
अमिर तमिम नेपालको पर्यटन, जलविद्युत् र दूरसञ्चारको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको महतले बताए । ‘कतारका अमिर नेपालमा लगानी गर्नका लागि एउटा अध्ययन टोली पठाउन सहमत हुनुभयो,’ महतले भने, ‘चैतमा हुने लगानी सम्मेलनमा सहभागी हुन टोली आउनेछ ।’ महतले अमिरसमक्ष कतार र नेपालको सम्बन्ध कामदार लिने र दिनेमा मात्रै सीमित नराखी नेपालमा कतारको लगानी आओस् भन्ने चाहेको बताएका थिए ।
अमिरलाई भेटनुअघि महतले कतारका समकक्षी शेख मोहममद बिन अब्दुल रहमान विन जसिम अल(थानीसँग भेट गरेका थिए । अब्दुल रहमानले नेपालमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताए । नेपाल र कतारबीच विविध क्षेत्रमा गरिएका सम्झौतालाई समयसापेक्ष बनाउन र नयाँ सम्बन्धका आधार खोज्न दुई देशका प्रतिनिधिहरू सम्मिलित संयन्त्रलाई सक्रिय बनाउने सहमति भएको महतले जानकारी दिए ।
नेपालले कतारसँग श्रम सम्झौता, हवाई क्षेत्र, लगानी सुरक्षालगायत ११ वटा विषयमा सम्झौताको तयारी गरेको छ । ‘यी विषयलाई प्राविधिक बैठक बसेर छिट्टै टुंग्याइनेछ,’ मन्त्री महतले भने, ‘कूटनीतिक रूपमा आवतजावत गर्न भिसा नचाहिने र कूटनीतिक कर्मचारीलाई अरबिक भाषाको तालिम दिने विषयमा सहमति भयो ।’
महतले नेपाली कामदारको सवालमा विकास, प्रशासन, श्रम तथा सामाजिक मामिलामन्त्री इशाबिन साद अल(जफैल अल(नुएमीसँग झन्डै एक घण्टा छलफल गरेका थिए । ‘कामदारसँग जोडिएका सबै विषयमा बुँदागत छलफल भयो,’ उनले भने । महतका अनुसार कामदारलाई २४ घण्टा बिमा हुनुपर्ने, नियमअनुसार कम्पनीबाट पाउने सुविधा कामदारले पाउनुपर्ने, नेपालीलाई उच्च तहको कोटा उपलब्ध गराउनुपर्ने, अदालतसम्म पुग्नुपर्ने बाध्यकारी व्यवस्था हटाउनुपर्ने विषय नेपालले उठाएको छ ।
कतारले दक्ष कामदार उत्पादनका लागि नेपालमा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना गरी आवश्यकताअनुसार तालिम उपलब्ध गराउन तयार रहेको बताएको छ । कतार र नेपालबीच १० वर्षअघि भएका श्रम सम्झौतालाई परिमार्जन गरी संशोधन गर्न तत्काल दुई देशबीचका अधिकारीहरूको बैठक बसेर टुंग्याउन कतार सहमत भएको छ ।
कतारका श्रममन्त्री इशाबिनले महतसँग नेपाली कामदारको गुनासो आउन नदिने र काम गर्न अप्ठ्यारो परेका प्रावधान हटाउने बताएका थिए । ‘कामदारका समस्याबारे श्रम, परराष्ट्र र दूतावासका प्रतिनिधि बसेर नियमित छलफल गर्ने व्यवस्था मिलाउँछौं,’ मन्त्री इशाबिनले भने, ‘श्रम मन्त्रालयको मातहतमा एउटा समिति बनाउँछौं । यसबाटै कामदारका समस्या समाधान गर्नेछौं ।’
वासस्थान नभएर अलपत्र परेका कामदारलाई सेल्टरमा राख्नुपर्ने नेपालको प्रस्तावलाई कतारी पक्षले स्वीकार गरेको छ । मन्त्री महतले नेपाली कामदारले यथोचित प्रतिफल पाउने गरी सुविधा पाउनुपर्नेमा आफूले जोड दिएको बताए । वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य रहेको कतारमा चार लाख नेपाली कार्यरत छन् । कान्तिपुर
Previous Articleमहिलाबाट महिला बलात्कार भएको सर्वोच्चको ठहर
Next Article कथा – सम्बन्ध बिच्छेद