काठमाडौँ, २७ पुस – प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीबारे निर्णय लिन बुधबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहान ९ बजे बस्ने बैठकमा ज्ञवालीले दिएको २४ घण्टे दोस्रो स्पष्टीकरणबारे छलफल र निर्णय हुने प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषदको नियमित बैठक हरेक साता बिहीबार बस्ने गरेको छ । स्रोतका अनुसार प्राधिकरणको सीईओजस्तो महत्त्वपूर्ण पदमा लामो समय अन्योल राख्न नहुने भएकाले बुधबारै मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
ज्ञवालीले भूकम्पमा भत्केका भौतिक संरचना पुनर्निर्माण र पीडितलाई घर पुनर्निर्माण अनुदान वितरण कार्य प्रभावकारी रूपमा अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको निष्कर्षका साथ मन्त्रिपरिषद् उनीप्रति सन्तुष्ट छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनलाई लिखित स्पष्टीकरण मागेको थियो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले ज्ञवालीको स्पष्टीकरणको जवाफ चित्तबुझो नभएको निष्कर्ष निकाल्दै पुन: दोस्रोपटक २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
ज्ञवालीले दोस्रो स्पष्टीकरणको जवाफसमेत आइतबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाइसकेका छन् । मन्त्रिपरिषद्मा ज्ञवालीको दोस्रो स्पष्टीकरणको जवाफमाथि छलफल हुने र प्राधिकरणमा उनको भविष्यबारे निर्णय हुने जानकारी स्रोतले दिएको छ । प्रमुख सत्तारूढ दल कांग्रेसले प्राधिकरणको सीईओमा आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने दाबी गर्दै आएको छ । कांग्रेसले सीईओमा योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलको नाम अघि सारेको छ । पोखरेल केही समय प्राधिकरणको सीईओसमेत थिए ।
प्राधिकरणका सीईओबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक
Previous Articleउपभोक्ता समिति नै निर्माण योजना ठेकेदारलाई बेच्छन्
Next Article एक वर्षपछि नेपाललाई चाहिन्छ ५ ओटा रेल