अछाम, २७ पुस – “महिनावारी रोक्न मैले पिल्स खाने गरेकी छु, त्यसैले महिनावारी हुँदैन”, बारलाको जनप्रिय प्राथमिक विद्यालयकी महिला शिक्षक राजकलाकुमारी बटालाले यसैगरी झुटो नबोल्ने हो भने विद्यालयभित्र प्रवेश गर्नै पाउदिनन् |
विद्यालय व्यवस्थापनका पदाधिकारी तथा अभिभावकले बेलाबखत ‘म्याडम, तपाईँको महिनावारी कहिले हुन्छ ? तपाईँको महिनावारी किन हुँदैन ?’ लगायतका अनावश्यक प्रश्न ठड्याइरहन्छन् । आफू छ दिनसम्म कक्षा कोठामा प्रवेश नगर्ने हो भने विद्यार्थीको पठनपाठन बिग्रन्छ भन्ने थाहा पाएर झुटो बोल्ने गरेको उनी बताउँछिन् ।
“समाजलाई परिवर्तन गर्न निकै कठिन रहेछ”, जिल्ला शिक्षा कार्यालय अछामले आयोजना गरेको छात्रा शिक्षा सञ्जालको बैठकमा उनले भावुक मुद्रामा भनिन्, “मैले झुटो बोलिनँ भने विद्यालय परिसरभित्रै प्रवेश गर्न पाउँदिनँ । मेरा लागि होइन, अझैसम्म छाउपडीजस्तो अन्धविश्वास बोकेर हिँडेका तिनै अभिभावकका बालबच्चाको पढाइ नबिग्रियोस् भनेर झुटो बोल्ने गरेकी हुँ । ”
अछामका दुई नगरपालिका क्षेत्रमै छाउपडी प्रथा कायम छ भने ग्रामीण क्षेत्रमा यसको उन्मूलन तत्कालका लागि निकै कठिन छ । पछिल्लो एक महिनाको अवधिमा दुई छात्राले यसै प्रथाका कारण ज्यान गुमाए तर पनि अभिभावक ‘भगवान् रिसाउँछन्’ भन्ने अन्धविश्वासमा यस प्रथाबाट मुक्त हुन सकेका छैनन् ।
महिनावारी भएको छैटौँ दिनमा चोखिने र भान्सा तथा मन्दिरमा प्रवेशका लागि नौ दिन नै प्रतीक्षा गर्नुपर्ने चलन कायम छ । बैठकमा उपस्थित महिला शिक्षकले महिनावारी भएको नवाँै दिनमा घाम अस्ताउने बखत स्नान गरेपछिमात्र महिलाले पूर्णरूपमा शुद्धि प्राप्त गर्ने मान्यता रहेको बताए । “वयस्कले सहलान् तर स्कुले छात्राले यस्तो जाडोमा साँझ ४ बजेपछि चिसै पानीले स्नान गरेर चोखिनुपर्दाको पीडा कस्तो होला, सोच्नुस् त !” मङ्गला नेपाल राष्ट्रिय मावि ओलीगाउँका मावि शिक्षक धनकला ठकुल्लाले भनिन् ।
हुन त केही टोल र गाउँमा सामूहिक छाउगोठ बनाउने चलन चलाइएको पनि छ । एउटा छाप्रोलाई गाउँभरिका महिलाले महिनावारीका बखत प्रयोग गर्ने गरेका छन् ।
‘म्याडम, तपाईँको महिनावारी किन हुँदैन ?’
Previous Articleभारु साट्न छलफल गर्न टोली आज भारत जाने
Next Article पृथ्वीजयन्ती – कहिले काटियो बिदा ?