बागलुङ, २६ पौष – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले बागलुङका कार्यालय प्रमुखहरुलाई सहज र सरल रुपमा सूचना प्रवाह गर्न आग्रह गरेका छन् । ‘सूचनाको हक कार्यन्वयन’ बिषयमा सोमबार बागलुङमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा बोल्दै बास्कोटाले भने, ‘सूचनामा शक्ति हुने भएकाले सूचनाको हकको अधिकतम प्रयोय गर्नुपर्छ ।’ ‘सूचना लिने र दिने दुवै प्रवृत्तिमा व्यापक सुधारको खाँचो छ,’ प्रमुख निर्वाचन आयुक्त बास्कोटाले भने । प्रमुख आयक्त बास्कोटाले सूचना लुकाउनेलाई कारवाहि गर्ने चेतावनी समेत दिए । कसैले प्रक्रियागत रुपमा माग्दा सू्चना लुकाए तत्काल नागरिकले आयोगमा उजुरी दिन सक्ने बास्कोटाले बताए । सार्वजनिक निकायको सूचना जति धेरै सञ्चार माद्यम र नागरिकहरुलाई दियो, त्यति नै धेरै पारदर्शिता र सुशासन कायम हुने उनको भनाई थियो । कुनैपनि राजनीतिक दल, सरकार वा निकायमा सूचना लुकाउनुपर्छ भन्ने नीति नियम र कानुन नभएकाले पारदर्शी बनाउने काम सम्वन्धित अधिकारीको हातमा हुने बास्कोटाले बताए । कार्यक्रममा बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदी, नेपाल रेडक्रस सोसाइटी बागलुङका पूर्व सभापति बिश्वनाथ रेग्मी, अखण्ड नेपालका कार्यवाहक जिल्ला अध्यक्ष रुद्र महत, करदाता सेवा कार्यालय बागलुङका प्रमुख सुर्यप्रसाद खकुरेल, राष्ट्रिय उपभोक्ता मञ्चका सदस्य रामबहादुर केसीले प्रश्न तथा सुझाव राखेका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी धुव्र गिरीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच, बागलुङका कार्यालय प्रमुखहरुले सूचनाको हक कार्यन्वयनको प्रतिबद्धतासहित सात बुँदे घोषणापत्र जारी गरेका छन् । राष्ट्रिय सूचना आयोगले बागलुङमा आयोजना गरेको जिल्ला स्तरिय सूचनाको हक कार्यन्वयन सम्वन्धि अन्र्तक्रिया कार्यक्रम पछि घोषणा पत्र जारी गरिएको हो ।