चितवन, २५ पुस – प्रधानमन्त्री पुष्पकलम दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति सबै राजनीतिज्ञहरु खुशी भएको बताएका छन् ।
११ औं चितवन महोत्सवको नारायणी किनारमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सर्वोच्चको फैसलाभन्दा केही घण्टा अघि मात्र महाअभियोगको प्रस्तावलाई सर्वसम्मत रुपले सिफारिस समितिमा पठाएको हुनाले आफूहरुको इज्जत बचेको बताए ।
‘कांग्रेसले महाअभियोगबारे निर्णय त गरेको छैन । तर प्रक्रियालाई अगाडि बढाउन उसले पनि समर्थन गरेर सर्वसम्मत रुपले महाअभियोग अगाडि बढाई सिफारिस समितिमा पठाएका थियौं,’ दाहालले भने ,‘ हामीले समितिमा पठाएको केही घण्टा पछि नै सर्वोच्चबाट कार्की पदमुक्त भएको निर्णय आयो । यो सबै राजनीतिज्ञहरुको निम्ति खुशीको कुरा भयो ।’
आइतबार यदी सदन नखुल्ने र सर्वोच्चले हटाइएको निर्णय गरेको भए राजनीतिज्ञहरुका निम्ति थोरै नमिठो हुने उनको तर्क थियो । ‘राजनीतिज्ञहरु पछि परे । उनीहरु अगाडि बढ्न सकेनन भन्ने हुन्थ्यो,’ उनले भने, ‘हामीले हिजै महाअभियोगको प्रस्तावलाई सर्वसम्मत रुपले सिफारिस समितिमा पठाएको हुनाले हाम्रो इज्जत चाँही बच्यो । सर्वोच्चलाई फैसलाका लागि धन्यवाद दिन चाहन्छौं ।’
उनले अब सदन भित्र अरु टेन्सन नभएको र निर्वाचन विधेयक पारित गर्ने, संशोधन प्रस्तावलाई एउटा टुंगोमा पुर्याउने र निर्वाचनतिर जाने बाटो खुलेको दाबी समेत गरे ।
‘हिजोबाट सदन खुलाइएको छ । म आफैं सदनमा उपस्थित भएर धेरै मेहेनत गरी सदन खुलाएको हो,’ उनले भने, ‘थोरै/थोरै विरोधकाबीच चिजहरुलाई अघि बढाइएको छ ।’ उनले आजका पत्रपत्रिकामा आफ्नो र एमाले अध्यक्ष केपी वलीबीच मन्त्रण भएर सदन खुलेको कुरा उल्लेख गरेको भएपनि त्यस्तो नभएको उनले दाबी गरे ।
‘मन्त्रण त त्यस्तो केही होईन, उही एग्रि टु डिस एग्री त पक्कै हो,’ उनले भने, ‘यसरी भएपनि अगाडि जाउँ यो अवरोधको स्थितिमा देशलाई नराखौं भन्ने कुरामा एउटा समझदारी भएकै हो । त्यसकारण सदन खुलेको हो ।’ उनले अब निर्वाचन विधेयकहरु छिटोभन्दा छिटो पारित गरी संसदिय प्रक्रिया पुरा गरेर पारित गर्ने प्रक्रियामा अघि बढ्ने बताए ।
धन्न हाम्रो इज्जत बच्यो – प्रधानमन्त्री
Previous Articleसञ्जय साहविरूद्ध ३१ करोड बिगो माग गर्दै मुद्दा दायर
Next Article सन्देशमूलक गीतसहित सविना