वीरगन्ज, २४ पुस – जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सामुदायिक विद्यालयहरूमा करिब १४ लाख मूल्यबराबरको म्याद गुज्रिएका औषधि पठाएको छ |
स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत जनस्वास्थ्य कार्यालयले दुई सय ४८ वटा सामुदायिक विद्यालयमा १४ लाख रुपैयाँ मूल्यको प्राथमिक उपचार बक्स पठाएको थियो । म्याद गुज्रिएका पारासिटामोल, हेन्डिप्लास्ट, मलम, जीवनजल र हातमा लगाउने ग्लोब राखेर प्राथमिक उपचार बक्स विद्यालयमा पठाइएको थियो ।
जनस्वास्थ्यले खरिद गरेर विद्यालयमा पठाएका प्राथमिक उपचार बक्समा रहेका औषधिमध्ये पारासिटामोल ट्याब्लेटको सन् २०१६ अगस्ट र पेरिनोर्म मलमको म्याद नोभेम्बर २०१६ मै सकिएको छ । ब्यान्डेज, ग्लोब र साबुनको म्याद पनि ६ महिनाअघि सकिएको छ ।
जनस्वास्थ्यले साउन २३ मा शिक्षा कार्यालय पर्सामा सामुदायिक विद्यालयमा वितरण गर्न औषधिसहितको प्राथमिक उपचार बक्स पठाएको थियो । तर शिक्षा कार्यालयले असोज पहिलो सातामा ६ वटा स्रोत केन्द्रमातहतका सामुदायिक विद्यालयमा प्राथमिक उपचार बक्स वितरण गरेको थियो ।
ठोरी, भिस्वा, पोखरिया, जितपुर नौका टोला, बर्बा छटौली एवं वि श्रामपुर स्रोत केन्द्रमातहतका विद्यालयमा असोज पहिलो साता र श्रीपुर स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा भने चार दिनअघि प्राथमिक उपचार बक्स पठाइएको जानकारी पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख राजकिशोर पण्डितले तत्कालीन स्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले म्याद गुज्रिएका औषधि वितरण गरेको आरोप लगाएका छन् । अन्नपूर्ण पोस्ट