बागलुङ, २१ पौष – साँच्चै मेहेनत गरेमा नहुने केही छैन भन्ने उदाहरण देखाउन सफल भएका छन् बागलुङ अमलाचौर गाबिसका कृषक भिमनाथ पौडेल । अमलाचौर गाबिस–१ का पौडेलले आफ्नै बारीमा मेहेनत गरि ६ केजी को एउटै काउली फलाउन सफल भएका हुन् । उन्नत जातको काउली तरकारी खेती गरेका पौडेल आफुले गरेको मेहेनतमा सफल भएको भन्दै खुशी भएका छन् । जाडो याममा समेत काउली राम्रो उत्पादन भएपछि पौडेलले अब काउली खेतीलाई ब्यबस्थित बनाउने योजना बनाएको बताए । कृषि विकास कार्यालय बागलुङबाट तरकारी खेती सम्बन्धि तालिम लिएपछि कृषक भिमनाथले बारीमा मुला, काउली, साग, टमाटर लगायतका तरकारी खेती गर्न थालेपछि घरमा चाहिने तरकारी किन्नु नपरेको बताए । उत्पादन भएको तरकारी बिक्रीबाट आम्दानी समेत गर्न सफल भएको पौडेलले बताए । पौडेलले अब ब्यबसायीक रूपमा तरकारी खेती गरेर बजारमा बिक्री वितरण गर्ने भावी सोच बनाएको बताए ।